Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच गाविसमा विद्यालय नजाने बालबालिका छैनन्

Published on 2:05:00 PM //

धुर्कोट (गुल्मी), ५ फागुन । सबै बालबालिका विद्यालय जाने भएपछि गुल्मीको शान्तिपुर स्रोत केन्द्रलाई विद्यालयबाहिर बालबालिका नभएकोे केन्द्र घोेषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लामा पहिलोपटक त्यहाँका पाँच गाविसलाई विद्यालयबाहिर बालबालिका नभएको घोषणा गरेको हो ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्यालले पश्चिम नेपालमा नै स्रोत केन्द्रस्तरमा सम्पूर्ण बालबालिका विद्यालय जान्छन् भनेर घोषणा गरिएको यो पहिलोपटक भएको बताउनुभयो । स्रोत केन्द्रले ठूलो गृहकार्य गरेर सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएकाले यो उपलब्धि भएको उहाँले बताउनुभयो ।

“स्रोत व्यक्ति तथा विद्यालयहरूले विद्यालयबाहिर रहेका सम्पूर्ण बालबालिकाको पहिचान गरी विद्यालय भर्ना गराएका छन्”–उहाँले भन्नुभयो–“विद्यालयबाहिर बालबालिका नभएको घोषणा गरिएको यो पश्चिम नेपालमै पहिलो स्रोत केन्द्र हो ।”

स्रोत केन्द्रका ८६ जना विपन्न परिवारका बालबालिकालाई जिल्ला शिक्षा कार्यालय गुल्मीले पैसा उपलब्ध गराएपछि उनीहरू विद्यालय भर्ना भएका छन् । कार्यालयले विपन्न परिवारका बालबालिकालाई सुरुमा विद्यालय भर्ना भई कापीकलम किन्नका लागि छात्रवृत्ति प्रदान गरेपछि उनीहरू विद्यालय भर्ना भएका हुन् ।

शान्तिपुर स्रोत केन्द्रमा पर्ने शान्तिपुर, हेरवा, विश्वुखर्क, हर्राचौर र दिब्रुङ गाविसमा रहेका सबै विपन्न परिवारका बालबालिकालाई विद्यालय भर्ना गराइएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

शान्तिपुर स्रोत केन्द्रका स्रोतव्यक्ति कृष्ण गैरेले विद्यालयबाहिर रहेका सम्पूर्ण बालबालिका शिक्षा कार्यालयले छात्रवृत्ति दिएपछि स्कुल भर्ना भएको बताउनुभयो । उहाँका अनुसार यसअघि विद्यालय भर्ना भएर विद्यालय जान छोडेका सबै विद्यार्थी पनि नियमितरूपमा विद्यालय जाने गरेका छन् ।

सरकारको नीतिअनुसार विपन्न परिवारबाट पहिलोपटक विद्यालय जाने बालबालिकालाई जनही रु ४०० का दरले छात्रवृत्तिसमेत प्रदान गर्दै आएको अर्यालले बताउनुभयो । गत वर्ष शिक्षा कार्यालयले मर्भुङ गाविसलाई पनि विद्यालयबाहिर बालबालिका नभएको घोषणा गरेको थियो, तर  स्रोत केन्द्र नै घोषणा गरिएको यो पहिलो अवसर हो ।

शिक्षा कार्यालयले शान्तिपुर स्रोत केन्द्रलाई जिल्लामा नै नमुना स्रोत केन्द्र बनाउने तयारी गरेको छ । शान्तिपुर क्षेत्रका विद्यालय निरीक्षक झबिलाल विश्वकर्माले शान्तिपुर स्रोत केन्द्रलाई नमुनाका रूपमा विकास गरेर अरू स्रोत केन्द्रहरूलाई पनि यस्तो घोषणा गर्ने तयारी भएको जानकारी दिनुभयो । रासस

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग