Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भत्ताका लागि काज, मान्छे तम्घास

Published on 5:11:00 AM //

भरत पाण्डेय
गुल्मी, १७ माघ । गत माघ १ गते जिल्ला स्वास्थ्य कार्यालयका १० जना कर्मचारी ७ दिने ‘काज’ लिएर रीडिमा भएको स्वास्थ शिबिरमा हिँडे । शिवीरमा जानेहरु स्वास्थ्यकर्मी मात्रै देखि स्वाथ्य थाहा नभएका सम्म थिए ।   शिविर १ र २ गते मात्रै थियो तर कर्मचारीको काज चाहीँ ७ दिन छ । स्वास्थ्यको नियमानुसार हरेक काजको लागि एक दिन आते र एक दिन जाते गरी थप काज पाईन्छ तर २ दिनको शिविरमा जानेहरुले ७ दिनको काज पड्काए ।
आवस्यक नै नपर्ने काजको नाममा मस्ती गर्ने उनीहरु जानैपर्ने काजमा भने जाँदैनन् । ११ र १२ गते सञ्चालित राष्ट्रिय पोलियो अभियानका लागि ४ दिनको काजमा भनेर तुराङ गाविसको स्वास्थ्य चौकीमा खटेका  जिल्ला स्वास्थ्य कार्यालयका सिनीयर अहेव प्रेमलाल भट्टराई पनि खोपको सुपरीबेक्षणको मिति समेत सकिने दिन मंगलबार साँझसम्म तुराङ्ग पुगेका छैनन । उनले फोनबाटै आफ्नो बिशेष काम परेर गाउँ आउन नसकेको जानकारी गराएका थिए । ‘सरले मेरो अर्जेन्ट काम प¥यो भनेर फोन गर्नुभएको थियो, अनुगमनका लागि आउनुभएन’ – स्वास्थ्य चौकी ईन्चार्ज चक्रबहादुर बस्नेतले भने ।

जिल्ला स्वास्थ्य कार्यालयमा यसरी काजका नाममा कर्मचारीहरुले ब्रम्हलुट गर्ने गरेका छन् । अनिवार्य गाउँमा पुगेर गर्नुपर्ने काम नगर्ने र अनावस्यक काजमा बसेर आफ्नो व्यक्तिगत काम गर्ने गरेको तथ्य छताछुल्ल भएको छ ।   सरकारले ठूलो महत्वका साथ सञ्चालन गरेको खोप अभियानहरुमा समेत नगएर लापर्वाही गर्ने गरेको भेटिएको छ ।
दर्लिङ उपस्वास्थ्य चौकीका प्रमुख ओमबहादुर भण्डारीले माघ महिनामा कार्यालयबाट अनुगमनका लागि कर्मचारी आएको भएपनि पुसमा कोही पनि गाउँ नआएको बताए । आँपचौरको काजमा खटिएका हरी प्रसाद पन्थी अहिले काठमाडौंमा छन् । उनलाई स्वास्थ्य कार्यालयलेनै काजमा तलिमका लागि काठमाडौं पठाएको छ । तर उनको सुपरिबेक्षण गर्ने गरि ४ दिनको काज स्विकृत छ ।
राष्ट्रिय पोलियो खोप अभियानका लागि ४ दिनको काजमा भनेर बम्घा गाविसमा खटेका स्वास्थ्यशिक्षा टेक्निसियन गोपाल खनाल खोप कार्यक्रमको सुपरीबेक्षणको मिति समेत सकिने दिन मंगलबार साँझसम्म बम्घा गएका छैनन । उनी १३ गते साँझ सम्म पनि गाउँमा नआएको बम्घा स्वास्थ्यचौकीकी इन्चार्ज दिपा भलामी मगरले जानकारी दिईन् । गाउँका स्वास्थ्यकर्मीहरुले सुपरीवेक्षणका लागि कर्मचारी गाउँ नै नजाने बताएका छन् । स्वास्थ्य कार्यालयमा सुपेरिबेक्षणका लागि आउने रकम आफूहरुले खासै नपाउने गरेको पनि भलामीले बताईन बताईन् । ‘बजेट हुँदा पाईन्छ क्यारे’ – उनले भनिन – ‘प्राय सरहरुले बजेट छैन भन्नुहुन्छ ।’ तर जिल्लाभरमा सुपेरिबेक्षणका लागि विगतको ३ बर्षमा २ करोड भन्दा बढी रकम खर्च भएको छ ।
यसरी काजको शिलशिलामा गाउँ खटिएका कर्मचारी मध्ये धेरैजसो सदरमुकाममै भेटिने गरेका छन् । कर्मचारीहरु तम्घासमै भेटिएसँगै स्वास्थ्यमा आवश्यक्ता भन्दा बढी काजमा बसेर बाँडिचुँडी रकम खाने गरेको समेत फेला परेको छ । पुस ११ देखि १३ गते सम्म सञ्चालित खोप अभियानका लागि अर्खले गाविसमा खटिएका जनसंख्या तथा परिवार नियोज सुपेरिबेक्ष नबराज कंडेलले पुस १२ देखि १३ गते सम्म कार्यालयमै भेटिए । कार्यालयमा स्थापना गर्नुपर्ने जनसंख्या सूचना केन्द्रको बजेटको अनियमिततामा मुछिएका उनले यो बिषय पत्रकारहरुको चासोको बिषय नभएको बताउँछन् । ‘म काज मा जाउँकी कार्यालयमै बसुँ तपाईहरुको चासोको बिषय हैन । मैले कार्यालय प्रमुखलाई रिपोर्ट बुझाउने हो’ उनले भने ‘लोकसेबा पास गरेर सरकारी जागिरमा आएर आफै काम गर्नुहोस, हाम्रो आलोचना नगर्नुस ।’ उनी सदरमुकाम तम्घाससँगै जोडिएको अर्खले गाविसमा १÷२ घण्टा बिताएर कार्यालयमै फर्किएका थिए । यसरी कार्यालयमा हरेक बर्ष विभिन्न शिर्षकमा आउने सुपरिबेक्षणको रकम झ्वाम पारीने खुलेको छ ।
भर्खरै सम्पन्न भएको दोस्रो चरणको पोलियो खोप कार्यक्रम सुपरीबेक्षण गर्नका लागि जिल्लाबाट झण्डै १ दर्जन कर्मचारीहरु विभिन्न गाविसमा खटाईएको थियो । तर कर्मचारीहरुले गाउँ नगएको र गएका कर्मचारीहरु पनि १ दिन भन्दा बढी गाउँमा नबसेको भेटिएको छ । यसरी अनावस्यक काजको नाममा रकम दुरुपयोग गरेकोमा कार्यालयका कर्मीचारी समेत असन्तुष्ट छन् । किनकी ठूला र पहुँचहुनेहरु मात्रै काजको नाममा मस्ती गर्छन् । काजमा गाउँ जाने कर्मचारीहरुले  तम्घासमै बसेर ठग्ने गरेको मात्र हैन तल्लो तहका कर्मचारीहरुलाई काजमा नपठाई ठूलो पदका कर्मचारीहरुले मात्रै सुपरीबेक्षणको भत्ता खाने गरेका छन् । गाउँका स्वास्थ्यचौकीमा पनि सुपरीबेक्षणका लागि सन्तुलित मात्रामा बजेट जानुपर्ने भएपनि त्यो गएको छ ।  ‘जान त पनि रिडी गएको हुँ तर एक हप्ताको काज आवश्यक थिएन’ एक जना कर्मचारीले भने ‘यहाँ ठूलाहरुले सँधै यस्तो गर्छन, सानालाई पत्तै हुन्न, तर कसैको चासो छैन् ।’ प्राप्त जानकारी अनुसार उक्त शिविरका लागि स्वास्थ्य कार्यालयका कर्मचारीहरुका लागि भत्ता मात्रै ५६ हजार खर्च भएको छ । कार्यालयमा सुपरीबेक्षणका लागि आउने रकम सक्नकै लागि यसरी आबश्यक्ता भन्दा बढी काज स्विकृत हुने गरेको छ ।
तर जिल्ला स्वास्थ्य कार्यालयका खोप प्रमुख श्याम पोख्रेलले गाउँ गएका कर्मचारीहरुले नठग्ने बताउँछन् । ‘माथीबाटै यति पैसा दिनु भनेर आउँछ, हामीले त्यहि अनुसार पैसा पनि दिन्छौ’ उनले भने ‘खोप कार्यक्रमका लागि आएको सुपरिबेक्षणमा कुनैपनि तलमाथी हुँदैन् ।’ पोखरेल आफै पनि यसरी नक्कली काजमा माहिर छन् । ‘गएको असोजमा खुट्टो फ्याक्चर भएर आराम गरी बसेका उनको यो अवधिमा नै धेरै दुर्गम गाउँमा काज छ ’, एक कर्मचारी भन्छन् – खुट्टो भाचिँएको मान्छे त्यसमा पनि स्वास्थ्यकर्मी गाउँ गाउँ डुलेहाला ? आफै विचार गर्नुस ।’
जिल्लामै पद नभएका कर्मचारीहरुलाई अधिकतम काजमा पठाईएपछि त्यहाँका कर्मचारीहरुले बिरोध गरेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृतहरु दिपक खनाल र कृष्ण पन्थीको जिल्लामै पद छैन् । तर उनीहरु महिनौँ देखि स्वास्थ्य कार्यालयमै काम गरिरहेका छन् । कार्यालयका सूचना अधिकारी समेत रहेका पन्थी गत बैशाख देखि माघ सम्म ३० दिन मात्रै कार्यालयमा हाजिर भएका छन अरु समय उनी काजमै गाउँ जान्छन् । ‘उहाँहरुको पद नै यहाँ छैन् । विभाग वा मन्त्रालयमा तानिनुपर्ने हो तर यहीँ काम गर्नुभएको छ’ कार्यालयका एक कर्मचारी भन्छन् ‘काजमा गएको भएपनि प्राय तम्घासमै देखिनुहुन्छ । हामीले बोल्ने कुरा भएन ।’ 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग