Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको अर्गानिक कफी बिदेशमा लोकप्रिय

Published on 3:47:00 PM //

तुलसी गौतम
नेपालका डाँडापाखामा उत्पादित कफी अब जापान र कोरियाका कफी पारखीहरूको जिब्रोको स्वाद बन्न थालेको छ। र त्यसमा बाजी मारेको छ, पश्चिमको पहाडी जिल्ला गुल्मीले।
गुल्मीको कफी अहिले नेपाल कफीः अ गिफ्ट फ्रम द हिमालयज्, फेयर ट्रेड कफी तथा पेरु र नेपालको मिसाएर बनाइएको ब्युटिफुल कफीको नाममा विदेशमा बिक्री हुँदैछ। गुल्मीमा गत वर्ष उत्पादित कुल ५० टन कफीमध्ये २८ टन दक्षिणकोरिया र १२ टन जापान पुग्यो। बाँकी स्थानीय बजार र स्टकका लागि छुट्याइएको थियो। उत्पादनको ८० प्रतिशत निर्यात भएको यो आँकडाले कृषिमा उत्साहजनक तस्बिर देखाउँछ। जापानमा २०५५/५६ सालदेखि कफी निर्यात हुनथालेको हो भने २०६२/६३ मा नमुनाका रूपमा १ टनमात्र कफी पठाइएको कोरियामा गएको वर्ष २८ टन निर्यात गरिएको हो।
आफ्नो बारीको कफी टिप्दै गुल्मीका किसान। फोटो: हिमाल
जिल्ला सहकारी संघ गुल्मीका प्रबन्धक युवराज आचार्यका अनुसार, नेपालमा कफी उत्पादनमा अग्रणी मानिने गुल्मीको कफीको बजार फैलाउन जापानमा नेपाली बजारो नामको कम्पनी खुलेको छ भने कोरियामा ब्युटिफुल स्टोरले अर्गानिक कफी बिक्री गर्छ। नेपाली कफीको उत्पादन, प्रशोधन र बजार प्रवर्द्धनमा सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले सन् २००३ देखि सञ्चालन गरेको कफी प्रवर्द्धन आयोजनाका प्रमुख प्रचण्डमान श्रेष्ठ गुल्मी र ललितपुरका सहकारीले सीधै विदेशी बजारसँग सम्बन्धन गरेकाले किसानहरूले राम्रो मूल्य पाएको बताउँछन्।

चिसो प्रविधिमा आधारित प्रशोधन विधिबाट बन्ने पार्चमेन्ट कफीको माग विदेशमा बढी हुने भएकाले त्यहीअनुसार प्रशोधन गरेमा नेपाली कफी निर्यातको क्षेत्र बढ्न सक्छ। कफीको फल टिप्नेदेखि त्यसलाई तातो र चिस्यानमा मिलाएर राख्दै भण्डारण गर्ने पार्चमेन्ट प्रविधिबाट प्रशोधन गर्दा कृषकहरूले सुक्खा प्रविधिभन्दा प्रतिकेजी रु.३० देखि रु.४० थप आम्दानी गर्न सक्ने बताउँछन्, प्रबन्धक आचार्य। भन्छन्, “पार्चमेन्टमा प्रयोग हुने मेसिन रु.२६ हजारदेखि रु.२८ हजारमा किन्न पाइन्छ।”
बजार बढ्दै, प्रमाणीकरणमा झमेला नेपालको चिसो पहाडी भूमिमा प्राकृतिक मलजल पाएर फल्ने अर्गानिक कफीको आफ्नै स्वादले गर्दा यसको विदेशी बजार बढ्दैछ। र, यसले कफी खेतीमा कृषकहरूको आकर्षण पनि बढाउँदैछ। गुल्मेली किसानले शुरु गरेको कफी खेती ललितपुर, स्याङ्जा, पाल्पा, नुवाकोटसम्म विस्तार भएको छ। समुद्री सतहदेखि ६००-१४०० मिटर उचाइका गुल्मीलगायतका केही पहाडी क्षेत्रमा राम्रो उत्पादन हुने अराविका जातको कफी लगाउने गरिएको छ।

स्रोतः जिल्ला सहकारी संघ, गुल्मी
कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०५०/५१ मा देशभर १४७ हेक्टरमा ४४ टन कफी उत्पादन भएको थियो। २०६६/६७ मा कफीखेती १५३१ हेक्टरमा फैलिएको र उत्पादन पनि २६८ टन पुगेको छ। वि.सं. १९९५ मा हीरा गिरी नामका व्यक्तिले बर्माबाट बीउ ल्याएर गुल्मीको आँपचौरमा लगाएको कफीको व्यावसायिक खेती शुरु गर्ने पहिलो कृषक आँपचौरकै पारेश्वर खरेल हुन्। २०४१ सालतिर तत्कालीन राजा वीरेन्द्रको आँपचौर भ्रमणपछि कफी क्षेत्र घोषणा गरिएको गुल्मीमा राष्ट्रिय कफी विकास केन्द्र र रुपन्देहीको मणिग्राममा प्रशोधन केन्द्र स्थापना भए।
नेपाली कफी उत्पादकहरूले निर्यात गर्नुअघि आफ्नो उत्पादन अन्तर्राष्ट्रिय मापदण्डअनुसार अर्गानिक हो-होइन भन्ने प्रमाणीकरण विदेशी संस्थाहरूबाट गराउनुपर्ने बाध्यता छ। गुल्मी र ललितपुरको कफीलाई अष्ट्रेलियाको नासा (नेसनल एसोसिएसन फर सस्टेनेवल एग्रिकल्चर अष्ट्रेलिया)ले तथा स्याङ्जा, नुवाकोट र पाल्पाको कफीलाई वन सर्ट भन्ने अमेरिकी संस्थाले प्रमाणित गर्छन्। जिल्ला सहकारी संघ गुल्मीका प्रबन्धक युवराज आचार्यका अनुसार, नासाका नेपाली प्रतिनिधिले बीच-बीचमा आएर पाखोबारीको निरीक्षण र कृषकहरूसँग अन्तर्वार्तापछि गर्ने सिफारिसका आधारमा संस्थाले प्रमाणपत्र दिन्छ। “प्रमाणीकरणका निम्ति जिल्ला सहकारी संघले रु.७ लाख ५० हजार तिर्नुपर्छ”, उनी भन्छन्, “नासाले अर्को वर्ष शुल्क अझ् बढ्ने सङ्केत दिएको छ।”

नेपालको कृषि उत्पादनलाई अर्गानिक भनेर प्रमाणीकरण गर्ने संस्था नेपाली नै बन्न सके सस्तो र स्तरीय उत्पादन गर्न प्रोत्साहन मिल्ने तथा नेपाली पैसा विदेशिनबाट जोगिनेछ।

हिमाल खबर पत्रिकाबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग