Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केटाबिना नै बिहे

Published on 2:14:00 PM //

घनश्याम खड्का
दक्षिणकालीमा हजारौं बिहे भए होलान् । तर सोमबारजस्तो कहिल्यै भएको थिएन । अमेरिकाबाट आएका दुई समलिंगी युवतीबीचको बिहे चकित परेर हेर्नेहरूको त्यहाँ भीड थियो ।
पञ्चे बाजा बज्यो, जन्तीहरू नाचे र पण्डितले मन्त्र पनि पढे । तर हेर्नेहरू छक्कै परे । कोलोराडोस्थित डेनभरबाट आएकी कोर्टेनी मिचेलले दक्षिणकालीको एउटा पसलभित्र ढाकाको दौरा, सुरुवाल र टोपी लगाइन् । सराह बेल्टनले साडी र ब्लाउज पहिरिइन् । उनलाई नीलहिरा समाजका तेस्रो लिंगी सौन्दर्य प्रसाधकहरूले क्रिम पाउडर लगाइदिए । बिहेको मण्डपमा बस्नुअघि सराहले घुम्टो ओढिन् ।
'लाज लागिरहेको छ कि ?,' एक सञ्चारकर्मीले सोध्दा घुम्टोभित्रै मुस्कुराइन् र भनिन्,  'कत्ति पनि छैन । बरु यति खुसी कहिल्यै भएकी थिइनँ ।'
नेपालमा पहिलो पटक भएको समलिंगी बिहे हेर्न दक्षिणकालीका बासिन्दा मात्र नभई निकै समलिंगीहरू पनि झुम्मिएका थिए । दुलाहा-दुलही बनेका युवतीका अभिभावकजस्तै गरी सभासद सुनिलबाबु पन्त उनीहरू अघिल्तिर बसिरहेका थिए ।
'ल अब दुलाहाले दुलहीलाई औंठी लगाइदिनुहोला,' उनीहरूको बिहे गराइरहेका २५ वर्षे पुरोहित उत्तम लामिछानेले मुसुमुसु हाँस्दै कोर्टेनीतिर हेरे, 'अरू गहना भए त्यो पनि दिनुहोला ।' कोर्टेनीले सुनको चुरा, हार र अरू गहना पनि दिइन् । त्यो लगाउँदा सराह नेपाली दुलहीजस्तै देखिइन् । 
नेपालको कानुनमा समलिंगी बिहेलाई मान्यता छैन । बरु उतै अमेरिकाका केही राज्यमा यसलाई वैधानिकता दिइएको छ । उति परदेखि यहाँ आएर बिहे किन गरे उनीहरूले ?
'मलाई यो देश अति नै मन पर्छ,' कोर्टेनीले नेपालीमै भनिन् । उनी ६ वर्षसम्म नेपालमा पिसकोर भोलेन्टियर भएर बसेकी थिइन् । यहाँको वातावरण र हँसिला मानिसले नेपालमै बिहे गर्ने योजना बुनेको उनले बताइन् ।
उनीहरूका साथ १२ आफन्त पनि बिहेका लागि आएका थिए । त्यसमध्येकै थिए कोर्टेनीका भाइ जेम्स । 'म असाध्यै खुसी छु,' उनले भने, 'उनीहरूको बिहे भयो, यो ठूलो खुसियाली हो ।'
अमेरिकामा समलिंगी बिहे सामान्य भएको उनले बताए । बिहेअघि नै कोर्टेनीले एक ९ महिने बच्चीलाई धर्मपुत्रीका रूपमा ग्रहण गरिसकेको उनले बताए ।
'पाएदेखि एउटा नेपाली बच्चा पनि ग्रहण गर्न मन छ,' उनले भनिन्, 'तर यहाँको कानुन अलिक जटिल रहेछ ।'
उनीहरू दुईको भेट एउटा जन्मदिनको उत्सवमा पाँच वर्षअघि भएको थियो । 'देख्नेबित्तिकै म प्रेममा परिहालें,' आफूभन्दा ७ वर्षले जेठी जीवनसाथीतिर हेर्दै कोर्टेनीले भनिन्, 'डेढ वर्षअघि मैले नै प्रस्ताव राखें, उनले हुन्छ भनिन् र अहिले बिहे गर्न पाएँ ।' परिवार, समाजमा कसैले पनि यो बिहेलाई नराम्रो नभनेको कोर्टेनीले बताइन् । 'तर मेरी आमा कट्टर क्याथोलिक हुनुहुन्छ,' उनले भनिन्, 'उहाँले चाहिँ हाम्रो जोडी रुचाउनु भएको छैन ।'
दुई सातापछि अमेरिका र्फकने योजनामा रहेका उनीहरू नगरकोट र शिवपुरी छेउछाउ गएर मधुमास मनाउने तयारीमा छन् । 'जान त मलाई अलिक हिमाली भेगतिर थियो,' कोर्टेनीले भनिन्, 'तर हिँड्नकै समस्या ।'नीलहिरा समाजले गत वर्ष एक  बेलायती र भारतीय समलिंगी पुरुषको पनि बिहे आयोजना गरेको थियो । तर त्यो एकान्तमा गोप्य तरिकाले भएको थियो । 'यो बिहेचाहिँ हामीले पहिलो पटक सार्वजनिक रूपमा गर्दैछौं,' सभासद पन्तले भने, 'यसले हाम्रो समुदायलाई ठूलो हौसला दिएको छ ।'

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग