Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महँगा लुगा लगाउन सक्दिनँ

Published on 1:37:00 PM //



मलिना जोशी -
'बधाई छ छोरी । आजसम्मको हाम्रो लगानी तिमीले चुक्ता गर्‍यौ,' मिस नेपालको ताज पहिरिएपछि बुवाको शब्द सुनेर मैले मन थाम्न सकिनँ। आँखा रसायो। बुवा अत्यन्तै भावुक हुनुभएको थियो। उहाँको आवाजबाटै मैले चाल पाएँ। आजसम्म उहाँको आवाज मैले यस्तरी थर्थराएको कहिल्यै सुनेकी थिइनँ। 

बुवाको एउटै इच्छा थियो- छोरीले पढेर राम्रो जागिर पाओस्, आफ्नो खुट्टामा उभिन सकोस्। ग्ल्यामर क्षेत्रमा लागेपछि करिअरमा बाधा पुग्छ भन्ने उहाँ ठान्नुहुन्थ्यो। छोरीले मन नडुलाई पढोस् भन्ने उहाँको चाहना थियो। मलाई भने बच्चैदेखि र्‍याम्पमा हिँड्ने र ताज पहिरिने रहर। ग्ल्यामर क्षेत्रमा लाग्दा अरूले मसँग फाइदा उठाउलान् भन्ने उहाँलाई र ठूलो ममीलाई चिन्ता थियो, तर म कहिल्यै डराइनँ। बरु उहाँहरूको डर सधैंका लागि हटाइदिन्छु भन्ने लाग्थ्यो। समस्या भएर के भो त, समाधान पनि त जोडिएरै आउँछ! हामी भने यो कुरा अक्सर बिर्सन्छौं।
ममीले मलाई सुरुदेखि नै हौसला दिनुहुन्थ्यो। ममीका कारण पनि घरमा अरूलाई मनाउन खासै गाह्रो भएन। मेरो चाहना र ममीको समर्थनको अघि मन मिचेर भए पनि बुवाले प्रतियोगितामा भाग लिने अनुमति दिनुभयो। मैले आफूलाई निराश बनाइनँ, बरु उहाँको विश्वास जित्न सकेँ। त्यो नै यो प्रतियोगितामा मैले कमाएको सफलता हो।
यतिको आत्मविश्वास मभित्र कहाँ थियो र! धरानजस्तो सानो सहरमा हुर्केकी केटी, म त मान्छेहरूसँग बोल्न पनि धकाउँथेँ। घरमा मान्छे आए लुक्थेँ। त्यति बोल्दिनथेँ। आमाले त मेरो नामै 'अबोला' राखिदिनुभएको थियो। बिस्तारै मैले आफूलाई बदल्न अनेक प्रयास गरेँ। काठमाडौं आएर कलेज भर्ना भएपछि झनै सहयोग मिल्यो। दिनदिनैको प्रेजेन्टेसनले मेरो आत्मविश्वास मात्र हैन वाकपटुता समेत निखार्‍यो।
मुख्य कुरो मैले सिक्न कहिल्यै धक मानिनँ। कमजोरी त हरेकसँग हुन्छ। त्यसैले मैले आफ्नो कमजोरीकै कारण हिनताबोध गरिनँ। पोहोरमात्र मैले 'मिस एन्जल' प्रतियोगितामा भाग लिएकी थिएँ। त्यसबेला जितेको भए मिस नेपालमा भाग लिने थिइनँ। तर उत्कृष्ट पाँचमा परेर पनि जित्न नसकेपछि मनमनै सोचेँ- मिस नेपाल बन्न पो लेखेको छ कि! मैले मेहेनत गर्न छोडिनँ, न त सपना देख्नै। मलाई लाग्छ सपना देख्न डराउनेले सफलताको अनुहार हेर्न पाउँदैनन्।
डर कसलाई लाग्दैन र! मिस नेपाल नसिद्धिन्जेल एकप्रकारको डर लागिरह्यो। डराएरै एकताका मिस नेपालको सपना त्यागेकी थिएँ। सुगरिका केसीले आफू मिस नेपाल हुँदा दिएको जवाफ सुनेर म निकै अत्तालिएकी थिएँ। सोचेँ- मैले ताज पहिरिने सपना देख्नुको तुक छैन। उनको जस्तो आत्मविश्वास, वाकपटुता मसँग कहाँ थियो र! तर मैले हार मानिनँ। आँटे जे पनि सम्भव छ भन्ने लाग्यो। तर आफूलाई निखार्न मलाई केही समय लाग्यो। मेरो मेहेनत र आत्मविश्वासले नै मलाई यहाँसम्म ल्याएको हो।
मेरो जीवनको सबैभन्दा खुसीको क्षण नै मिस नेपाल छानिँदा हो। सास रोकिएजस्तो भयो। कहिलेकाहीँ खुसी थाम्न पनि निकै कठिन हुने रहेछ। आँखाबाट एक्कासि आँसु खस्न थाल्यो। पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले ताज पहिराउँदा त संसारै जितेजस्तो लाग्यो। लगत्तै बुवा, ममी, ठूलो ममी, दिदी र भाइलाई अँगालेर खुसी साट्न चाहन्थेँ। तर त्यो सम्भव थिएन। म यहाँ, उहाँहरू धरानमा। कार्यक्रम सिद्धिनासाथ चारैतिर प्रेसले घेर्‍यो। फोटोसुट, अन्तर्वार्ता, बधाई दिनेको ताँती। साथै आएकी दिदीसम्म पुग्न पनि मैले निक्कै बेर कुर्नुपर्‍यो। उनी अत्यन्तै खुसी थिइन्। उनको आँखाबाट आँसुका ढिक्का खसिरहेका थिए। काकाको छोरा त खुसीले बोल्न पनि सकिरहनुभएको थिएन।
कार्यक्रम सकिनासाथ म बुवाको स्वर सुन्न चाहन्थेँ, परिवारसँग कुरा गर्न चाहन्थेँ। तर मसँग कुरा गर्न आउनेलाई पन्छाउन खोज्दा अपमान गरेजस्तो हुन्थ्यो। त्यसैले रातको ११ बजे मात्र घरमा फोन गर्ने मौका मिल्यो। त्यसदिन एक घन्टाभन्दा बढी कुरा भयो। फोनमा त्यो अहिलेसम्मकै लामो कुराकानी हो।
मिस नेपाल भएपछि दिनचर्या फेरिएको छ। रेडियो, टिभी, पत्रपत्रिका जताततै अन्तर्वार्ता दिन व्यस्त छु। खाने, सुत्ने फुर्सद छैन। अन्यथा म त्यही केटी हुँ जो बाटोमा उभिएर पानीपुरीको स्वाद लिन लाज मान्दिनँ। म एउटी साधारण परिवारकी केटी हुँ जसले हरेकचोटि नयाँ पहिरन फेर्न सक्दिनँ, महँगा लुगा लगाउन सक्दिनँ। एक समय यस्तो थियो, नयाँ लुगा फेर्नकै लागि म पढाइमा मेहेनत गर्थें। किनकि राम्रो नम्बर आउनासाथ बुवाले नयाँ लुगा किनिदिनुहुन्थ्यो। तर जब बुझ्ने भएँ घरमा कहिल्यै झिज्याइनँ। दिदी जागिरे भएपछि बुवालाई धेरै राहत मिल्यो। मनपरेको लुगा लगाउने रहर पनि अचेल उनैले पुर्‍याइदिन्छिन्। मिस नेपालमा पनि मैले खासै खर्च गरिनँ। जति गरेँ दिदीले नै बेहोरिन्।
मैले ताज जितेकोमा कडा प्रतिक्रियाहरू पनि सुनेकी छु, पढेकी छु। आलोचना त जहीँ पनि हुन्छ। त्यसैले यसमा दुःख मान्नुपर्ने कारण केही देख्दिनँ। अरूले जितेको भए मलाई समर्थन गर्नेहरूले यस्तै प्रतिक्रिया दिन्थे होलान्। र, मलाई खुसी लाग्छ कम्तीमा उनीहरूले मनको कुरो खुलेर भन्ने हिम्मत गरेका छन्। सबैले आफ्नो विचार राख्न पाउनुपर्छ।
(नागरिक न्यूजका लागि तारा चाम्लिङले गरेको कुराकानीमा आधारित)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग