Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सन्तोष पन्तका छोराको अंग परिवर्तन, छोरा थिए छोरी भए

Published on 7:20:00 PM //


अश्विनी कोइराला
'अब मलाई केटलिन पन्त भन्नु होला,' अलिकति लजाएको लवजमा उनले भनिन्, 'प्रतीक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म होइन भनेर अहिले बल्ल प्रमाणित भएको छ ।'

कलाकार सन्तोष पन्तका छोरा प्रतीक अब छोरीमा परिवर्तन भएका छन् । सानैदेखि छोरीको जस्तै व्यवहार गर्ने प्रतीकले २२ दिनअघि थाइल्यान्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका हुन् । आठ घन्टे शल्यक्रियापछि उनी पूर्णरूपमा युवती बनेको उनको मेडिकल प्रोग्रेस रिपोर्टमा उल्लेख छ । थाइल्यान्डको कन्सुरीमा अवस्थित अस्पतालमा २० दिन आराम गरेपछि उनी शुक्रबार घर फर्किए ।

त्यसलगत्तै १८ वर्षे प्रतीकले लिङ्ग मात्र होइन, नामसमेत परिवर्तन गरेका छन् । र, अब उनी भएका (की) छन्- केटलिन ।

नेपालमा हतपती नसुनिएको यस्तो कार्यलाई पन्त परिवारका सदस्यले सामान्य रूपमा लिएका छन् । घरमा 'लक्ष्मी' को आगमन भएको खुसीमा पन्त परिवारमा हर्षोल्लास छाएको छ । आफन्त एवं शुभेच्छुकले मिठाई एवं फलफूल ल्याएर खुसी बाँडिरहेका छन् ।

'जेठी छोरीको दुर्घटनामा निधन भएपछि हामीले सधैं छोरीको कल्पना गर्‍यौं,' आमा प्रतिभाले कान्तिपुरसँग भनिन्, 'उनी गर्भमा छँदै मैले छोरीको कामना गरेकी थिएँ, आज १८ वर्षपछि साँच्चै छोरी पाउँदा अपार हर्ष लागेको छ ।'

केटलिनका दाजु साकारका अनुसार सानैदेखि गुडियासँग खेल्न मन पराउने र स्त्री शुलभ व्यवहार गर्ने भएकैले परिवारका सदस्यहरूले उनलाई छोरीझैं व्यवहार गर्थे ।  'हामी क्रिकेट खेल्न ब्याट लिएर घरबाट हिँड्दा उनी आमासँग सपिङ जान मन पराउँथिन्,' टेलिभिजन कार्यक्रमका निर्माता साकारले भने, 'जब कोही व्यक्ति मानसिक रूपमा युवती छ भने उसलाई शारीरिक रूपमा पनि त्यो हक दिनुपर्छ भनेर हामीले साहसिक निर्णय गरेका हौं ।'

१७ वर्षको हुँदासम्म दाह्रीजुंगा नपलाएको एवं ठूला गाजलु आँखासहित असाध्यै सुन्दर देखिपछि परिवारले उनलाई विज्ञानको सहयोगले महिला बनाउने निर्णय गरेको हो । उनको शल्यक्रिया गर्न करिब २० लाख खर्च भएको पारिवारिक स्रोतले बताएको छ ।

सात कक्षा पढ्दाताका किशोरी व्यवहार देखाउन थालेपछि परिवारले केही समय मानसिक चिकित्सकको निगरानीमा समेत राखेको थियो । शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकले शरीर पुरुष भए पनि स्त्रीजन्य हार्मोन्स बढी भएकाले त्यही रूपमा स्वीकार गर्न परिवारलाई आग्रह गरेको थियो । चिकित्सककै निगरानीमा उनलाई एक वर्ष महिला साथीहरूसँग राखिएको पनि परिवारका सदस्यले बताए । 'त्यतिबेला महिला समूहमा रहँदा एक पार्टीमा केही युवाले डान्स प्रपोज गरेपछि म आफैं छक्क परें,' केटलिनले भनिन्, 'यसले म राम्री पनि रहेछु, कुनै युवकसँग मेरो विवाह हुन सक्छ भनेर कन्फिडेन्स भयो ।'

चिकित्सकले 'थाइल्यान्डमा गएर अप्रेसन गर्न सक्छौ' भनेर हौसला दिएपछि आफू शारीरिक रूपमै महिला बनेको उनले बताइन् । चिकित्सकले उनमा रहेको अपुग महिला हार्मोन विकसित गर्न एक वर्षसम्म औषधि सेवन गराएका थिए । औषधि सेवनले उनको स्तन जवान युवतीको झैं बनेपछि थाइल्यान्डका वरिष्ठ जेन्डर चिकित्सक डा. सुपोर्नले शल्यक्रिया गरी पुरुष यौनाङ्गलाई पनि परिवर्तन गरेर स्त्री यौनाङ्ग बनाएका हुन् ।

'पुराना अंगको कुनै पनि नसा नफ्याँकीकन नयाँ अंग बनाइएको छ,' केटलिनले भनिन्, 'धेरै मानिसलाई ममा महिला अंग छैन कि भन्ने भ्रम भएको छ, तर म पूर्णरूपमा युवती भइसकेकी छु ।' डा. सुपोर्नले दिएको प्रोग्रेस रिपोर्टअनुसार उनी तीन महिनापछि शारीरिक सम्पर्क गर्न सक्ने अवस्थामा पुग्छिन् भने एक वर्षपछि पूर्ण स्वस्थ बन्न सक्छिन् । केटलिनले भविष्यमा असल युवकसँग विवाह गर्ने इच्छा राखेकी छन् । गर्भाधान गर्न चाहेको खण्डमा भने उनले छुट्टै शल्यक्रिया गरी पाठेघर प्रत्यारोपण गर्नुपर्ने छ । उनले हार्मोन्स प्रयोग गरी स्तन बढाएको र टाटुसमेत खोपाएको समाचार आएको थियो । 'मैले स्तनमा टाटु खोपाएकी छैन,' लिङ्ग परिवर्तनपछि पहिलोपल्ट कान्तिपुरसँग कुरा गर्दै उनले भनिन् ।

उनले केही वर्ष पहिले टेलिभिजन कार्यक्रम 'हिजो आजका कुरा' एवं केही विज्ञापनमा बालकलाकारको भूमिकामा समेत खेलेकी थिइन् । एसएलसीमा डिस्टिङसन एवं 'ए' लेभलमा प्रथम श्रेणीमा हालै उत्तीर्ण भएकी उनी औषधि विज्ञानमा विद्यावारिधि गर्ने योजनामा छिन् ।

नागरिकता र पासपोर्टमा पुरुष चिनारी रहेकाले विदेश जाँदा वा नेपालमा कुनै काम गर्दा अप्ठ्यारो पर्ने भएकाले नागरिकतामा पनि लिङ्ग परिवर्तन उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएकी छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग