Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिन्स लगाउने महिलालाई कारबाही

Published on 12:34:00 AM //


भारतको झारखण्ड राज्यमा एक संगठनले जिन्स लगाउने महिला तथा तिनका परिवारमाथि भौतिक आक्रमण गर्ने चेतावनी दिएपछि तनाव उन्पन्न भएको छ ।
झारखण्ड मुक्ति संघको नामबाट राँचीको प्रमुख क्याम्पस तथा सहरका विभिन्न स्थानमा बिहीबार धम्कीपूर्ण पोस्टर
देखापरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पोस्टरमा महिलालाई जिन्स लगाउन प्रतिबन्ध लगाउनुका साथै ओढ्नी ओढेर हिँड्न निर्देशन दिइएको छ । झारखण्ड मुक्ति संघको नामक संगठनको नाम यसअघि राँचीमा कहिल्यै पनि सुनिएको थिएन । टाँसिएका केही पोस्टर प्रहरीले जफतसमेत गरेको छ ।
पोस्टरको माथिल्लो भागमा झारखण्डको जमिन, रोजगारी, संस्कृति तथा अस्मिता रक्षाका लागि झारखण्ड मुक्ति संघ खोलिएको बताइएको छ ।
त्यस्तै, महिलालाई जिन्स लगाउन प्रतिबन्ध लगाउनुका अलावा झारखण्डमा जमिन खरिदबिक्री गर्नेमाथि कडा कारबाही गरिने, सरकारी जागिरमा अन्य प्रान्तका मानिसलाई प्रतिबन्ध लगाइनेलगायत धम्की ती पोस्टरमा समावेश गरिएका छन् । यसैगरी सरकारी जागिरमा झारखण्डबाहेक अन्य स्थानका मानिस भर्ती भएमा उनीहरूमाथि भौतिक आक्रमण गरिने, झारखण्डको जमिनबाट मानिस  विस्थापित गराउने कम्पनीमाथि कडा कारबाही गरिने जनाइएको छ ।
पोस्टरका कारण राँची प्रहरी तथा जिल्ला प्रशासन कार्यालय अचम्ममा परेका छन् । अन्य धम्कीलाई बेवास्ता गरे पनि महिलामाथि जिन्स लगाउन नपाउने धम्कीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको बताइएको छ । पोस्टर सार्वजनिक भएलगत्तै  महिला तथा उनका परिवारमाथि हुन सक्ने सांघातिक हमला रोक्न प्रहरीले सहरका प्रमुख इलाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ ।
हालैका दिनमा भारतका विभिन्न राज्यमा महिलाले लगाउने पोसाकविरुद्ध धेरै धम्की आउन थालेपछि महिलाको सुरक्षालाई लिएर धेरै चासो र चिन्ता हुन थालेको बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग