Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सम्झना लामिछाने मगरले अबुधावीमा तीजलाई तताईन (फोटो फिचर)

Published on 8:44:00 PM //

लालबहादुर ढेंगा, दुबई, युएई
अबुधावी । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई युएईका महिलाहरुले गत ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको इण्डियन सोसियल सेन्टरमा आफ्नो परम्परा र रितीरिवाज अनुसार धुमधांमका साथ मनाएका छन् ।

नेपाली जनसम्पर्क समिति युएईको अबुधावी क्षेत्रीय समितिले आयोजना गरेको तीज कार्यक्रममा नेपालका लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सम्झना लामिछाने मगरको प्रस्तुतिका साथ स्थानीय ख्याति प्राप्त कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले प्रवासको भूमिमा पनि आफ्नो चाड पर्वलाई पूर्खाबाट चलिआएको रितीरिवाजलाई कायम राख्दै रमाइलोसंग मनाउने प्रचलनमा ल्याएको पाईन्छ । गत शुक्रबारका दिन युएईका महिलाहरुले अबुधावीको सहरमा हरितालिका तीजलाई आफ्नो परम्परागत पहिरन रातो साडी र छडके तिलहरीमा सजिएर कम्मर मर्काई–मर्काई नाचेको देख्दा विदेशमा नभईकन आफ्नै स्वदेशमा भएको अनुभूति हुन्थ्यो।
सार्वजनिक शुक्रबारे विदाका दिन भएकाले महिलाहरुको ठूलो जमघट हुनुका साथ हरेक महिलाहरुको चेहरामा उत्साह र रौनक देख्न सकिन्थ्यो । माइत गई दर खान नपाए पनि स्टेजमा ढल्की-ढल्की नाचेर माइतीका तिर्सना मेताए । धेरै महिलाहरुमा नाच्नलाई उत्सुकता भएता पनि स्टेज सानो र नाच्नेहरुको घुइचो भएकाले नाच्नलाई मन मार्न समेत बाध्ये भएका थिए । स्टेजमा नाच्नेहरुको संख्या हेर्दा महिलाहरु कार्यक्रममा सहभागिता हुन नभईकन केवल नाच्न मात्र आएको आभास हुन्थ्यो ।
नेपाली जनसम्पर्क समिति युएईको निमन्त्रणामा तीज मनाउन युएई आएकी सम्झना लामिछाने मगर कलेजी कलरको रातो साडी र हरियो छडके तिलहरीमा सजिएर हातमा माइक थाम्दै स्टेजमा आउदा उनको स्वागतमा दर्शकहरुले सिती र ताली बजाए । उनले गाएको आफ्नै एल्बमको “हाम्रै जरा खन्नेहरुलाई” र “जर्मन यूरोप” लोक दोहोरी गीत सोल्टीहरुलाई मन प¥यो भने “सिउदो चाही खाली ओठमा लाली” तीज गीतले महिलाहरुलाई स्टेजमा नचाए । खचाखच दर्शकहरुले भरिएको हलमा त्यो पनि अत्याधिक महिलाहरुको सहभागिता देख्दा सम्झना लामिछानेलाई पनि जोश र उत्साहमा देख्न सकिन्थ्यो ।
स्थानीय कलाकार रिजन थापाको नृत्यबाट थालनी भएको सांगीतिक कार्यक्रममा दीपक कुनवरको प्रस्तुति पनि निकै सान्दर्भिक लाग्थ्यो । “सिम्पल सिम्पल कान्छीको” गीतमा अनुराग थपलिया र देवी लामाको युगल जोडीको नृत्यले हलको माहौललाई नै रंगाएको थियो । निश्चलले गाएको “जहां तिमी त्यहां म” र “तुलसी आगनमा” गीतमा पुरुषहरुको नाच्ने भिडमा महिलाहरुले पनि साथ दिए । लोक दोहोरी सांझका कार्यक्रम प्रस्तोता तथा गायक प्रकाश सपूतको गीतले पसिनामा लोटपोट गरि नचाएको मात्र होइन आफ्नो मनमो हक अदाले दर्शकहरुलाई आकर्षित समेत गरेको थियो । दुर्गा तामाङ लगायत अन्य कलाकारहरुको प्रस्तुतिहरु पनि आकर्षक रहेको थियो ।
उक्त तीज कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका राजदत धनन्जय झा रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति युएईको अबुधावी क्षेत्रीय समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण गौतमले गरेको थियो । अन्य अतिथिहरुमा नेपाली दूतावासकी श्रमसहचारी हिरा पौडेल, नेपालबाट आएकी पद्यमकन्या क्याम्पसकी अध्यक्ष तथा नेपाली कांग्रेस महासमितिकी सदस्य स्वस्तिका पोखरेल, युएईका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । तीज कार्यक्रमको सांस्कृतिक संयोजकमा चन्द्रबिक्रम सारु रहेको र केन्द्रीय अध्यक्ष चित्र केसीको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रमलाई प्रकाश सपूत र सविता बस्नेतले बीच–बीचमा जोक्स र गजल सुनाउदै संचालन गरेकोमा सुनमा सुगन्ध थपिएको थियो ।









भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग