Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशबाट फर्केर व्यावसायिक कृषिमा लाग्ने बढे, आम्दानी पनि बढ्यो

Published on 4:37:00 AM //


रासस
२८ मंसिर, गुल्मी । इस्मा दोहोलीका विष्णु खत्रीले कुखुरा बेचेर अहिले वाषिर्क रु ५० हजारभन्दा धेरै कमाउनुहुन्छ । चार वर्ष विदेशमा बसेर रित्तो हात घर फर्केका खत्रीले घरमै बसेर गरेको आम्दानीले सन्तुष्ट रहेको बताउनुभयो । “आफ्नो परिवारसँगै हाँसीखुसी जीवन बिताउँदा छुट्टै आनन्द आउँदो रहेछ” खत्रीले भन्नुभयो, “विदेश धाएर दुःख पाउनुभन्दा आफ्नै देशमा केही गरे राम्रो हुने रैछ ।”
तीन वर्ष दुबइमा बसेका धुर्कोट रजस्थलका राजु पछाइँले पनि अहिले विदेश नगई गाउँमा कुखुरापालन गर्नुभएको छ । अर्काको देशमा दुःख गरेर घर र्फकदा निरास लाग्दो अवस्थामा आउनुभन्दा आफ्नै परिवारसँग बस्दा निकै खुसी लागेको पछाईको भनाइ छ । ‘विदेशमा केहीवर्ष बसेपनि घर आउँदा रु चार पाँच लाख मात्रै ल्याउने हो, वर्षाको खहरेजस्तै कता जान्छ कता आफ्नै घरमा बसेर आनन्दसँग परिवार पालेकै छु, छोराछोरी पढाएकै छु’ भन्दै पछाइँले अहिले गाउँमा ब्रोइलर कुखुरा बिक्रीबाट मासिक रु १० हजार कमाउने गरेको बताउनुभयो ।
धुर्कोटका पछाइँ र इश्माका खत्रीजस्तै विदेशबाट फर्केका गुल्मीका धेरै युवाहरु अहिले गाउँमा तरकारीखेती, कुखुरा र बाख्रापालनमा लागेका छन् । विदेशबाट फर्केका युवाहरु तरकारीखेतीमा लागेपछि गुल्मीको जैसीथोक, ठूलोलुम्पेकलगायतका गाउँ तरकारी र पशुपालनमा उदाहरणीयसमेत बनेका छन् । जैसीथोकमा विजय पोखरेल र ठूलोलुम्पेकमा हिमबहादुर कुँवरले सुरु गरेको अभियानबाट अहिले ती गाविस तरकारीखेतीमा जिल्लामै उदाहरणीय बनेका छन् । ‘ठूलोलुम्पेकको बेमौसमी प्राङ्गारिक टमाटरको माग पोखरामा बढ्दो छ’ जिल्ला कृषि विकाश कार्यालयका बागबानी अधिकृत फटकबहादुर थापाले भन्नुभयो ।
दुई वर्ष मलेसिया बसेर कमाई गर्न नसकेपछि फर्केका सिमीचौर बाँसखर्कका पीताम्बर पाण्डेले अहिले कुखुरा र तरकारीबाट मासिक रु ३० हजार कमाउनुहुन्छ । ‘प्रसस्तै कमाइन्छ भनेर मलेसिया पुगेको ऋण लागेपछि घरबाटै पैसा पठाइ दिएर दुई वर्षमै र्फकेर तरकारीखेती गर्न थालेँ- उहाँले भन्नुभयो- कुखुराबाट राम्रै कमाई हुनथालेपछि सदरमुकाम नजिकै भएकाले कोदो मकै लगाउने बारीमा तरकारी लगाउन थालेको अहिले मासिक रु ३० हजार बँचेकै छ ।’ राम्रो कमाई नभएपछि विदेशबाट फर्केर कृषिमा लाग्नेहरु बढेका छन् । जिल्लाबाट ४६ हजार मानिस रोजगारीको सिलसिलामा विदेशमा रहेको तथ्याङ्क रहेको वैदेशिक रोजगारीमा जानेहरुका लागि काम गरिरहेको संस्था मानवअधिकारका लागि जनमञ्चका जिल्ला संयोजक सञ्जीवनी अर्यालले बताउनुभयो ।
एकपटक विदेशबाट फर्केकाहरु फेरि विदेश जानेभन्दा पनि गाउँमै व्यवसायिक खेतीमा लाग्ने गरेको मञ्चको अनुभव छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग