Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहाडमा व्यावसायिक माछापालन

Published on 8:13:00 AM //


घनश्याम गौतम
गुल्मी । तरकारी खेतीमा व्यवसायीकरण बन्दै गएको जिल्लामा स्थानीयकै पहलमा २३ लाख रुपैयाँ लगानी गरेर माछापालन सुरु गरेका छन् ।

बडागाउँका १४ जनाको समूहले माछापालन सुरु गरेका हुन् । उनीहरूले कृषि कार्यालयको प्राविधिक सहयोगमा लसाहा फाँटमा दुई प्रजातिका १५ हजार माछाका भुरा छाडेका छन् । साना किसान कृषि सहकारी संस्थाको संयोजन एवं स्थानीयको लगानीमा ३० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा थालेका छन् ।

'पहिलो चरणमा उत्पादन गरिएको माछा बिक्रीबाट ७२ हजार ५ सय रुपैयाँ आम्दानी भयो,' सहकारीको माछापालन समूहका संयोजकसमेत रहेका शंकर रायमाझीले भने, 'त्यसबाट उत्साहित भएर दोस्रो चरणमा रहु र नैनी जातका १५ हजार माछाका भुरा छाडेका छौं ।' जिल्लामा सामूहिक रूपमा धेरै लगानी गरेर माछापालन व्यवसाय सुरु गरिएको यो पहिलो भएको कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले बताए ।

कृषिले प्राविधिक सहयोग मात्र उपलब्ध गराएमा आफूहरू अझै लगानी गर्न उत्सुक रहेको सदस्य ओमबहादुर रायमाझीले बताए । 'यस क्षेत्रमा व्यावसायिक माछा उत्पादन सम्भव छ,' उनले भने, 'बिक्रीका लागि बजारको समस्या नहुने भएकाले भविष्य राम्रो छ ।' यसअघि उत्पादन भएका झन्डै ३ क्विन्टल माछा स्थानीय गाउँघरमै बिक्री भएर अझै नपुग भएको रायमाझीले बताए ।

स्थानीयले माछापालनका लागि ४ ठूला पोखरी बनाइएको छ । अहिले सुरु अवस्था भएकाले तीन पोखरीमा मात्र माछा उत्पादन भइरहेको रायमाझीले बताए । कृषि प्रमुख अधिकारीले पनि लसाहा फाँट व्यावसायिक माछा उत्पादनका लागि प्राविधिक दृष्टिकोणले समेत राम्रो देखिएको जानकारी दिए ।

जिल्लाका बडीघाट, हुग्दी, निस्ती, छल्दी, पनाहा, खज्र्याङलगायत खोला किनारका दर्जनौं गाउँमा व्यावसायिक माछापालनका लागि उत्कृष्ट छन् । तर युवा शक्ति व्यावसायिक अवसरमा नलागी विदेश पलायन हुने क्रमले अधिकांश उर्बर जमिन बाँझोमा परिणत हुँदै गएको छ । त्यसको रोकथाम र सम्भाव्यता अध्ययनका लागि कार्यक्रम तयार गरिने कृषि कार्यालयले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग