Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटाका भाँडा छाडेर तरकारी खेती

Published on 8:19:00 AM //


घनश्याम गौतम
गुल्मी । पुर्खादेखि नै माटाका भाँडा बनाएर बिक्री गर्ने र माछा मारेर जीविकोपार्जन गर्ने कुमाल समुदायले पछिल्ला वर्षमा आत्मनिर्भरताका लागि पेसा परिवर्तन गर्न थालेका छन् । बडागाउँ १ को दोभान र २ को दिगामचौरका सबै कुमाल समुदायका घर अगाडि तरकारी बगैंचा छ ।

दोभान गाउँको सुन्दरता ।  
दिनभर माटाका भाँडा बनाउने र खोलामा माछा मारेर कमाएको आम्दानीले बजारको दाल, तरकारी किनेर खाने कुमाल समुदायमा अहिले दर्जनभन्दा बढी प्रकारका तरकारी उत्पादन हुन थालेको छ । 'पहिले-पहिले त दिनभरि भाँडा बनाउने र बेलुका सिन्की -गुन्द्रुक) वा माछाको झोलसँग भात खाने गथ्यौर्ैं', दिगामचौरका बुद्धिबहादुर कुमालले भने, 'अहिले त थरीथरीका तरकारी खान थालियो ।' सडक छेउमै घर भएका बुद्धिबहादुरले सयौं बटुवालाई आफैले बनाएको माटोको घैंटोको पानी खुवाएको भए पनि अहिले त्यसको साटो आफैले मेसिनले चिसो बनाएको पानी खोजेर खान थालेको बताए ।

अमरपुर, बडागाउँ, हस्तिचौर, बलिथुम, बम्घा लगायत एक दर्जन गाविसमा कुमाल समुदायको बाहुल्यता छ । पछिल्लो प्रविधि र युवा पुस्ताको चासोसँगै त्यस्ता सामाग्रीहरूको उत्पादन र प्रयोग हुन छाडेपछि आजभोलि बडागाउँको दोभानमा माटाका भाँडा देख्नै पाइँदैन । आफूहरूको परम्परागत पेसाबाट उत्पादित सामग्रीहरूको सट्टा तिनै कुमालहरूले पनि प्लास्टिक र स्टिलका भाँडा प्रयोग गर्न थालेको स्थानीय शान्ति गुरुङ्गले बताइन् ।

परम्परागत पेसा छाडेपछि दिगामचौर र दोभानका कुमाल समुदायले अहिले १ सय २४ प्रकारका तरकारीका बीउ उत्पादन गर्न थालेको जनजागरण घरबगैंचा महिला कृषक समूहकी अध्यक्ष सरस्वती कुमालले बताइन् । कुमाल समुदायलाई पेसा परिवर्तनपछिको आत्मनिर्भरताका लागि घरबगैंचा कार्यक्रममार्फत व्यवसायिक तरकारी उत्पादनमा लगाउन लि-बर्ड पोखराले प्राविधिक सहयोग गर्दै आएको कार्यक्रम संयोजक शम्भु बस्नेतले बताए ।

वर्षौंदेखि माटाका भाँडा उत्पादन गर्ने र बजारमा लगेर बिक्री गर्ने उनीहरूको परम्परागत पेसा लोपोन्मुख बन्दै गएको छ । बाबु-बाजेहरूले गर्दै आएको पेसा संकटमा परेपछि जीविकोपार्जनका लागि आफूहरूले पुरानो परम्परा छोडेर नयाँ पेसामा लाग्नुपरेको अमरपुरका प्रेमबहादुर कुमालले बताए । बजारमा आउने प्लास्टिकका सामग्री र पछिल्लो पुस्ताले माटाका भाँडा प्रयोग नगर्दा आफूहरूको परम्परागत पेसा नै संकटमा परेको कुमाल समुदायको गुनासो छ । 'बाबु बाजेले हामीले जान्दादेखि नै माटाका भाँडा बनाउने गरेका थिए', उनले भने, 'के गर्नु अहिले त्यसको प्रयोग हट्दै गयो, हाम्रो परम्परा पनि हराउँदै गयो ।'

२० वर्ष अगाडिसम्म बडागाँउ १ दोभानका २२ घरको नियमित आम्दानी माटाका भाँडा तयार गर्ने र बजारमा लगेर बिक्री गर्ने थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग