Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चौरासी पूजामा जुटेको गाउँ शोकमा, यज्ञमण्डप भत्काइयो

Published on 1:44:00 AM //


घनश्याम गौतम
गुल्मी, वैशाख ११ - ८३ वर्ष पुगेपछि सामाजिक परम्पराअनुसार ८४ पूजा गरिन्छ । सोहीअनुसार दोहोली ३ बाँझस्थित पूर्वमन्त्री गोकर्णराज विष्टको घरमा बुधबार बुबा भीमबहादुर र आमा चिन्तकलाको ८४ पूजाको धुमधाम तयारी थियो ।

चौरासी पूजा, तुलादान र लक्ष्यबत्तीको प्रसाद ग्रहणका लागि गोकर्णले झन्डै ५ सयलाई निम्ता गरेका थिए । घरपरिवारले समेत गरेको निम्ताअनुसार पूजामा १ हजार ५ सयभन्दा बढीको उपस्थिति तयारी थियो । घरमा आफन्तको जमघट बढ्दै थियो । पूजाका लागि घर वरिपरि सजावट र यज्ञमण्डपसमेत बनिसकेको थियो । यसैका लागि आउँदै गरेको परिवार र आफन्तसहितको जिप पाल्पामा मंगलबार दुर्घटनामा परेर ४ जनाको मृत्यु भएपछि बिष्ट दम्पतीको चौरासी पूजामा जुटेको सिंगो गाउँ शोकमग्न भएको छ । गोकर्णराज विष्टका भाइ एवं प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगनकी श्रीमती लता र भान्जी आस्था जिसीको घटनास्थलमै मृत्यु भएको छ । बहिनीज्वाइँ किस्ट बैंकका सञ्चालक एवं बैंकर ज्ञानबहादुर जीसी र उनका दाजु रामबहादुरको उपचार क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको पाल्पाका प्रहरी निरीक्षक राजकुमार खिउजुले बताए ।
मृतकहरुको शोक सभामा भावबिव्हल एक आफन्त । तस्बिर: प्रेम सुनार 
मृत्युको खबर पाएलगत्तै स्थानीयवासीले ४/५ दिन लगाएर बनाएको यज्ञमण्डप भत्काएका र ध्वजापताका हटाएका छन् । वृद्ध बाबुआमा बेहोस भए । लामो समयदेखि दम रोगले पीडित बाबु भीमबहादुरको अवस्था गम्भीर छ । 'अत्यन्तै दुखद् घटना भयो,' छिमेकी श्यामलाल अर्यालले भने, 'अहिले हामी यज्ञमण्डप भत्काउँदै छौं, गाउँ पूरै शोकमा डुबेको छ ।' समाजसेवीका रूपमा गाउँमा परिचित भीमबहादुरको चौरासी पूजाको खुसीले गाउँले दिनरात तयारीमा जुटेका थिए । गाउँलेले मंगलबार दिनभर पनि पूजामा बाल्ने बत्ती भिजाउने, तुलादानका लागि सिक्का थैलोमा भर्दै थिए । अर्का छिमेकी गणेश अधिकारीले पूजाको सबै तयारी पूरा भइसकेको अवस्थामा घटनाको खबर आएको बताए । 'दिनभर खुसीसाथ तयारीमा जुटेका सयौं गाउँले सबै शोकमग्न छन्,' अधिकारीले भने, 'खबर पाएपछि कोही कसैसँग बोल्न सकेका छैनन् ।'

चौरासी पूजाका लागि काठमाडौंबाट विष्ट परिवार, आफन्त, छिमेकीसहित ३ गाडी मंगलबार गुल्मी आउँदै थिए । गोकर्ण ७ गते नै गाउँ आएका थिए । गगन पनि आइतबार गाउँ पुगेका थिए । गगनकी श्रीमती लता, दिदी उमा, भिनाजु ज्ञानबहादुर, भान्जी आस्था, छोरा सिद्धान्त, भान्जा आदर्श एउटै गाडीमा थिए । उनीहरू चढेको गाडी दुर्घटनामा परेको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग