Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घोडा जत्रै खसी !

Published on 5:12:00 AM //


धनकुटा, वैशाख ६ - कृषकले सडकमा डोर्‍याएको पशुलाई झट्ट हेर्दा खच्चड घोडाजस्तै देखिन्थ्यो । सोधखोज र मोलतोल गर्नेको चासो उत्तिकै थियो । बिहीबार सदरमुकामस्थित हुलाक टोलमा धनकुटा ५, माथिल्लो कोप्चेका दिलबहादुर मगरले ५ फिटभन्दा अग्लो 'बाँकटे' खसी डोर्‍याउँदै हिँडेको दृश्य हो यो ।

मोल गर्ने क्रममा बढाबढ नै भयो । २५ हजारसम्म मूल्य दिने ग्राहक आए पनि मगरको चित्त बुझेन । खसीको तौल ६५ किलोग्रामको थियो । तौलअनुसारको मूल्यभन्दा आफ्नो लगानी चित्तबुझ्दो नभएपछि मगरले खसीलाई झापाको बिर्तामोडबाट माग भएकाले उतै लैजाने बताए । 'त्यहाँ भनेजस्तै मूल्य पाइन्छ कि,' उनले भने, 'कम्तीमा ३० हजारसम्म दिए बेच्नेछु ।'चार वर्ष पालेर बिक्री गर्न लागिएको कृषकले बताए । पछिल्लो समय स्थानीय र जमुनापारी जातको मिश्रित गरिएको वर्णाशंकर खसीबाख्रा पाल्न कृषकको चासो बढेको जनाइएको छ ।

सदरमुकाम आसपास तथा अर्खौले जीतपुर, तेलिया, तांखुवालगायतका स्थानमा उक्त जातका खसीबाख्रा पालन गरिने क्रम बढेको छ । वर्णाशंकर खसीको मासु मीठो हुने भएपछि यसको माग बढ्दै गएको अर्खौले जीतपुरका कृषक रामचन्द्र पौडेलले बताए । सामान्यतः कृषकले बाँकटे भन्ने गरे पनि उक्त जातलाई सिजाली तथा जमुनापारी पनि भन्न सकिने पशु सेवा कार्यालयले जनाएको छ । यस जातलाई लामो कान हुने भएपछि लामकाने पनि भन्ने गरिन्छ ।

सामान्य घाँस र मकैको दाना खान रुचाउने यस जातको खसीले छोटो समयमा बढी मूल्य मिल्ने तेलिया ६ का कृषक मेघराज खतिवडाले बताए । तर रोग लाग्दा समयमा उपचार गराउन प्राविधिकको समस्या पर्ने खतिवडाको भनाइ छ । -कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग