Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गन्तब्य: धार्मिक स्थल 'रूरू क्षेत्र'

Published on 3:25:00 AM //

घनश्याम गौतम
गुल्मी, भाद्र २७  । धार्मिक एवं पर्यटकीय दृष्टिले अवलोकनयोग्य र एक पटक पुग्नैपर्ने स्थल हो गुल्मी, पाल्पा र स्याङ्जाको पर्यटकीय संगमस्थल रिडीको रूरू क्षेत्र । बुटवलबाट झन्डै ७० किलोमिटरको कालोपत्रे सडक र सदरमुकाम तम्घासबाट ४२ किलोमिटर कालोपत्रे सडकले छोएको रूरू क्षेत्रलाई नेपालका चार धाममध्येको एक धामसमेत मानिन्छ । मुक्तिनाथ, देवघाट र पशुपति क्षेत्रपछिको रूरू क्षेत्र हो ।

धार्मिक र ऐतिहासिक महत्त्व बोकेको रिडीको रूरू क्षेत्रको गत वर्षको माघमा राष्ट्रपति रामवरण यादवले समेत अवलोकन गरेका थिए । रूरू क्षेत्रलाई यसै वर्षदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी युनेस्कोले प्रकृया अगाडि बढाएको छ । त्यसका लागि युनेस्कोका प्रतिनिधिहरूको टोली रिडीमै आएर धार्मिक सम्पदाहरूको इतिहास, अवलोकन, सूचीकृतका लागि आवश्यक पर्ने पूर्वाधारहरूको विषयमा अध्ययन गरी फर्किसकेको र अव घोषणा प्रकृयामा रहेको पूर्वसभासद् प्रदीप ज्ञवालीले बताए ।

रूरू क्षेत्र धार्मिक र ऐतिहासिक महत्त्वसँगै प्राकृतिक दृष्टिकोणले समेत निकै मनोरम छ । चारैतिरको हरियाली क्षेत्र र दुई खोलाको बीचमा रहेको रिडी बजार, विभिन्न मठ, मन्दिर, वृद्धवृद्धाहरू बस्ने गरेका पुराना र आकर्षक साना-साना गुफा, ऋषिकेश मन्दिर, देशदत्त ऋषिको मूर्ति, मृगले दूध खुवाउँदै गरेकी रूरू कन्या, भृगुतुङ्गेश्वर लगायत ऐतिहासिक सम्पदा रूरू क्षेत्रका थप विशेषता हुन् । रूरू क्षेत्र जिल्लाको मुख्य प्रवेशद्वार हो भने, गुल्मी, बागलुङ र अर्घाखाँची जिल्लाका व्यापारिक बजारहरूको नाका पनि हो ।

रूरू क्षेत्रको विकासका लागि रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले समेत लाखौं रकम खर्च गरेर ऐतिहासिक संरचनाहरूको जीर्णोद्धार, संरक्षण र विकासका लागि काम गरिरहेको छ । समितिका कार्यकारी निर्देशक श्रीराम गौतमका अनुसार रूरू क्षेत्रमा अहिलेसम्म सरकारले ४० लाख रुपैयाँ भन्दा बढी रकम लगानी गरेको छ । सरकारको राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरसमेत रूरू क्षेत्र हुँदै निर्माण गरिरहेकाले यसको महत्त्व अझ बढेको रिडीका हिमाल श्रेष्ठले बताए ।

त्यो बाहेक सरकारले यस वर्ष तीन जिल्ला जोड्ने गरी पक्की पुलको नक्सांकन गरी निर्माणका लागि काम अगाडि बढाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग