Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१८ को ठाउँ मा ९३ जनाको नाम सिफारिस (गुल्मीमा उम्मेदवारी सिफारिस)

Published on 12:47:00 AM //

भरत पाण्डेय,गुल्मी
राजनीति गरेपछि नेता मन्त्री बन्ने रहर सबैको हुन्छ। हो यही रहरले गुल्मीमा अहिले लहर चलेको छ संविधानसभा उम्मेदवारका लागि। जिल्लाका तीन निर्वाचन क्षेत्रमा तीन पार्टीका  प्रत्यक्ष र समानुपातिक गरी १८ जना उम्मेदवार हुनुपर्ने हो तर तीन ठूला दलले गुल्मीमा ९३ व्यक्ति संविधानसभाको उम्मेदवारमा सिफारिस गरेका छन्। केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तामा सभासद् बन्ने रहर बढेपछि यस्तो भएको हो।

संविधानसभाको दोस्रो निर्वाचनको सरगर्मी बढिरहेका बेला राजनीतिक दलहरू प्रत्यक्ष तथा समानुपातिकतर्फ उमेदवार चयनको प्रक्रियामा व्यस्त रहेका छन्। यही व्यस्ततासँगै ती दलका नेताकार्यकर्ताहरू पनि आफू वा आफ्नो नजिकको व्यक्तिलाई उम्मेदवार बनाउने काममा दौडधुप गरिरहेका छन्। जिल्लामा रहेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र नेकपा एकीकृत पार्टी क्रियाशील रहेका छन्। नेकपा–माओवादीले अहिलेसम्म चुनाव बहिष्कार गर्ने भनिरहेको छ।

तीमध्ये तीन ठूला पार्टीले संविधानसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसकेका छन्। ती पार्टीले ९३ जना व्यक्तिलाई संविधानसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर पठाएका छन्। त्यसमध्ये ५ जना केन्द्रीय स्तरका नेता छन्। बाँकी राज्य, क्षेत्र तथा बाँकी जिल्ला स्तरका नेताकार्यकर्ता छन्।

चुनावका लागि सबैभन्दा बढी उम्मेदवारको सिफारिस गर्ने पार्टी नेपाली कांग्रेस रहेको छ। उसले जिल्लामा आवश्यक पर्ने ६ जना उम्मेदवारका लागि प्रत्यक्ष २४ र समानुपातिक २१ गरी ४५ जनाको नाम सिफारिस गरी पठाएको छ। कांग्रेसका उम्मेदवारको सूचीमा एउटै गाउँका तीन जना छन्।
त्यसपछिको पार्टी रहेको छ एकीकृत नेकपा माओवादी। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी एनेकपा माओवादीले समानुपातिक र प्रत्यक्ष नछुट्याई २६ जनालाई उम्मेदवारको सिफारिस गरी माथिल्लो निकायमा पठाएको छ।

जिल्लाका तीन ठूलामध्येको अर्को पार्टी नेकपा एमालेले भने २२ जना मात्रै उम्मेदवार सिफारिस गरेर पठाएको छ। यो ठूला तीन दलमध्येको थोरै भए पनि आवश्यक पर्नेभन्दा १६ जनाले बढी हो।
पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्ने तहका बैठकहरूमा आफू र आफ्ना मान्छेको प्रस्ताव पेस गर्ने होडबाजी नै चलेको छ। कार्यकर्ताले आफ्ना नजिककालाई उम्मेदवार प्रस्ताव गर्ने लहरले दलहरूलाई उम्मेदवार छनोट गरी सिफारिस गर्न हम्मेहम्मे परेको छ। ‘राजनीति गर्नेहरूको सभासद् बन्ने रहर जागेपछि धेर ैजना सिफारिसमा परे’, एक पार्टीका प्रमुख भन्छन्– ‘अन्तिम नामावली त माथिल्लो निकायले नै छिनोफानो गर्छ।’

तीन दलका केन्द्रीय स्तरका नेतादेखि जिल्लाका प्रमुखहरू आफैं उम्मेदवारका लागि सिफारिसमा परेका छन्। नेकपा एमालेले तीनवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय स्तरका नेताहरूलाई उम्मेदवार बनाएको छ। एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य रामनाथ ढकाल र केन्द्रीय सदस्य गोकर्ण विष्ण प्रत्यक्षका लागि सिफारिसमा परेका छन्। ढकाल क्षेत्र नं १ बाट, ज्ञवाली २ बाट र विष्ट क्षेत्र नं. ३ बाट सिफारिस भएका छन्।

त्यसपछि २ जना केन्द्रीय सदस्यहरूलाई एकीकृत नेकपा माओवादीले सिफारिस गरेको छ। केन्द्रीय सदस्य वामदेव क्षत्री र दिनेश पन्थी निर्वाचन क्षेत्र नं ३ बाट सिफारिसमा परेको सो पार्टीका जिल्ला प्रमुख सुदर्शन बरालले बताए।

त्यसै गरी नेपाली कांग्रेसले १ जना केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई क्षेत्र नं २ बाट सिफारिस गरेको छ। भण्डारी गत संविधानसभा निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीसँग झीनो मतअन्तरले पराजित भए पनि फेरि दुई जनाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

तीनवटै पार्टीका जिल्ला प्रमुखहरूलाई पनि सभासद् बन्ने रहर जागेको छ। एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक सुदर्शन बराल आफूले गत संविधानसभा निर्वाचनमा जितेको क्षेत्र नं १ बाट उम्मेदवारका लागि सिफारिसमा परेका छन्। त्यसै गरी नेकपा एमालेले अध्यक्ष टोमलाल पाण्डेलाई क्षेत्र नं ३ बाट प्रत्यक्षका लागि सिफारिस गरेको छ। त्यो क्षेत्र गत संविधानसभामा एमाले नेता गोकर्ण विष्टलाई पराजित गरी एनेकपा माओवादीका चन्द्रबहादुर थापा सागरले जितेको क्षेत्र हो। यता नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्र केसी पनि क्षेत्र नं २ बाट प्रत्यक्षका लागि उम्मेदवारको सिफारिसमा परेका छन्।

यसबाहेक नेपाली कांग्रेसले क्षेत्र नं १ बाट जिल्ला सदस्य वेदबहादुर थापामगर, क्षेत्रीय सभापति पारिस्वर ढकाल र गत संविधानसभाको चुनावमा विगतमा पराजित उम्मेदवार सुवर्ण ज्वारचनसहित ७ जना प्रत्यक्ष उम्मेदवारका लागि सिफारिसमा परेका छन्। सो क्षेत्रबाट समानुपातिकमा ५ जना सिफारिस गरेको छ। क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य भण्डारी, जिल्ला सभापति केसीसहित उपसभापति भुवन श्रेष्ठलगायतका ८ जना उम्मेदवारको सिफारिसमा परेको र समानुपातिमा ९ जनालाई सिफारिस गरिएको कांग्रेसले जनाएको छ। क्षेत्र नं. ३ मा कांग्रेसका पूर्व सांसद रुद्रमणि शर्मा, क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिवेशन प्रतिनिधि त्रैलोक्यप्रताप सेन, प्रेमनाथ अर्याललगायतका ९ जना नेताकार्यकर्ता र समानुपातिकमा ७ जना सभासद्को सिफारिमा परेका छन्।

एकीकृत नेकपा माओवादी गुल्मीको जिल्ला कमिटी बैठकले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्वसभासद एवं जिल्ला संयोजक सुदर्शन बराल, २ बाट क्षेत्रीय संयोजक अशोक थापा मुक्ति र क्षेत्र नम्बर ३ बाट केन्दी्रय सदस्य वामदेव क्षत्रीलाई पहिलो उम्मेदवारका रूपमा सिफारिस गरेको छ। त्यसै गरी प्रत्यक्ष र समानुपातिक जुनसुकैमा पनि हुने भन्दै क्षेत्र नं १ मै राज्य समिति सदस्यहरू युवराज केसी, बाबुराम खरेल, सिर्जना तरामु, क्षेत्र नं २ बाट गणेश विक, मनिराम ज्ञवाली, खुमबहादुर थापा र तीनबाट केन्द्रीय सदस्य दिनेश पन्थी, पूर्वसभासद् चन्द्रबहादुर थापा सागर, बुद्धि जीसी, नीमबहादुर पाण्डेलगायतका २५ जनाको नाम सिफारिस गरेको हो।

नेकपा एमाले गुल्मीले क्षेत्र नं १ बाटा केन्द्रीय सदस्य ढकाललाई मात्रै प्रत्यक्षका लागि सिफारिस गरेको छ भने समानुपातिकमा ५ जना सिफारिस गरेको छ। २ बाट ज्ञवाली, पूर्वसांसद कमलराज श्रेष्ठ र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नर्मदा भण्डारी प्रत्यक्षमा र समानुपातिकमा ५ जनाको नाम सिफारिस गरेको छ। एवं क्षेत्र नं.३ मा केन्दी्रय सदस्य विष्ट र पार्टी जिल्ला कमिटी अध्यक्ष पाण्डेयसहित  अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष ललिता गौतमको नाम प्रत्यक्षका लागि तथा अन्य ५ जना समानुपातिकका लागि सिफारिस गरेको एमाले अध्यक्ष टोमलाल पाण्डेले बताए।

गुल्मी जिल्लाको धुर्कोटवस्तुमा एकै गाविसबाट तीन जना सगोत्रीय दाजुभाइसहित ४ जना उम्मेदवारमा सिफारिस भएका छन्। नेपाली कांग्रेसबाट रुद्रमणि भण्डारी, प्रेमनारायण भण्डारी र महेन्द्र भण्डारी तथा एमालेका टोमलाल पाण्डे धुर्कोटवस्तु निवासी हुन्। भण्डारी परिवार एउटै कुलका दाजुभाइ हुनुहुन्छ। प्रेमनारायण भण्डारी सदरमुकामस्थित रेसुंगा माविको प्रधानाध्यापक हुन्। उनले अघिल्लो स्थानीय निकायको निर्वाचनमा शिक्षकको जागिर छाडेर गाविस अध्यक्ष भएपछि फेरि स्थायी शिक्षकका रूपमा कार्यरत छन्।

नेपाली कांग्रेसले एक जना पत्रकारलाई पनि समानुपातिकमा उम्मेदवार बनाएको छ। गुल्मीको हर्मिचौर घर भई पाल्पामा पत्रकारिता गरिरहनुभएका जगदीश भट्टराई गुल्मी क्षेत्र नं १ बाट समानुपातिकमा उम्मेदवार बनेका हुन्।

एकीकृत नेकपा माओवादीले केही महिनाअघि एमाले छाडेर आफ््नो पार्टीमा प्रवेश गरेका तीनै जना नेताहरूलाई समानुपातिकको सभासद् बनाएको छ। क्षेत्र नं १ मा राज्य समिति सदस्य बाबुराम खरेल, २ मा गणेश विक र ३ मा केन्द्रीय सल्लाहकार टंक पोखरेललाई सो पार्टीले समानुपातिकको उम्मेदवार बनाएको हो।

तीन ठूला दलबाहेक राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र नेकपा एकीकृतले भने अझैसम्म उम्मेदवार सिफारिस गरिसकेका छैनन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग