Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आयोगले आचारसंहिता पालनालाई मुख्य जोड दिएको छ: आयुक्त गुरुङ

Published on 7:14:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ११ कात्तिक । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन आयोगले यसपटक निर्वाचन  आचारसंहिता पालनालाई मुख्य रुपमा जोड दिएको वताउनु भएको छ । त्यसको लागि आयोगले विभिन्न संयन्त्रहरु निर्माणगरि विभिन्न तहवाट आवश्यकता अनुरुप अनुगमन गरिएको भन्दै आयोगले आचारसंहिता पालना गरे नगरेको भन्नेवारेमा जानकारी लिनकालागि सुष्म अनुगमनकर्ताहरु समेत पठाउने तयारी गरेको खुलासा गर्नु भयो । आयोगले परिचयपत्र र मतदाता शिक्षामा जोड दिएको  र त्यसकालागि ९० प्रतिशत तयारी पुराभई सकेको समेत बताउनु भएको छ । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएकोबारे वुझ्न अनुगमनका क्रममा गुल्मी आई पुग्नु भएका गुरुङले आज जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो वताउनु भएको हो ।

आयुक्त गुरुङले निर्वाचन आयोगले केन्द्रबाट गरिनुपर्ने लगभग सबै काम सकिएको भन्दै अब जिल्ला स्तरमा १० प्रतिशत मात्रै काम बाँकी रहेको जानकारी दिनुभयो । ‘समानुपातीक निर्वाचनका लागि लगभग मतपत्र छपाईको सम्पूर्ण काम सकियो, प्रत्यक्षको केहि मात्रै बाँकी छ’ गुरुङले भन्नु भयो, ‘निर्वाचन परिचय पत्र छपाईको काम पनि आजैबाट सुरु भएको छ ।’ उहाँले मतदाताहरुका लागि निर्वाचन परिचयपत्रको पछिल्लो भागको छपाई सकिएको वताउनु भयो । अघिल्लो निर्वाचनमा ६ प्रतिशतभन्दा बढी मत बदर भएका जिल्लाहरुमा फेरी दोस्रो चरणको कार्यक्रम सञ्चालन हुने वताउँदै गुरुङले दोस्रो चरणको कार्यक्रममा स्थानीय स्तरकै भाषा जानेका मतदाता शिक्षा कार्यकर्ताहरुको प्रयोग गरिने समेत जानकारी दिनु भएको छ ।

आयुक्त गुरुङले मंसिर ४ गते कुनैपनि हालतमा निर्वाचन हुने दावी गर्नु भएको छ । ‘चुनाव हुन्छ कि हुँदैन भनेर द्विबिधा नरहोस । हामी अन्तिम तयारीमा छौँ, ‘निर्वाचनलाई स्वतन्त्र र धाँदलीरहित बनाउन आयोग प्रतिबद्ध छ,” गुरुङले भन्नु भयो । उहाँले निर्वाचनलाई सञ्चारमाध्यमहरुले उत्साहजनक सहयोग गरेको भन्दै प्रशंशा समेत व्यक्त गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग