Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरा माओवादीको झण्डा गाड्दै बाबु उखेल्दै

Published on 3:30:00 AM //

प्रेम सुनार
कार्तिक ७, गुल्मी । सदरमुकाम संग जोडिएको गाविस अर्खले १ चेक्मी गाउँका गोपाल मरासीनी र उनका बाबु मित्रलाल मरासीनी विच वोल वारावार भएको धेरै दिन भयो । काठमाण्डौंबाट एकिकृत नेकपा माओवादीको चुनावी प्रचारमा आएका गोपालले घरको धुरीमा लगेर सो पार्टीको झण्डा गाडे । कांग्रेसका वडा कमिटी अध्यक्ष समेत रहेका कट्टर उनका बाबु मित्रलाल रिसले मुर्मुरिँदै उहि पाईलो त्यो झण्डा उखेलेर फालिदिए । फेरी गोपाल विहानै उठेर गाडी हाले । यसरी उनको घरमा झण्डा गाड्ने र उखलेर फाल्ने क्रम जारी छ ।
‘के गर्ने बुढा पाकाहरुलाई सम्झाउनै सकिदैन’ गोपालले भने–‘यो गाउँमा पुरै युवाहरु एमाओवादीमा के गएका थियौं, बुढाहरुले विरोध गरेर बसी खानु दिएका छैनन् ।’ चुनाव आए देखि त्यो परिवारका सदस्य विचमा जस्तो राजनैतिक मत भिन्नता र कटुता प्राय: सवैको घरमा चलेको छ । बिशेषतः बुढा पाकाहरु कांग्रेस बढि मन पराउने, युवाहरु कोहि एमाले त कोहि माओवादीमा लागे पछि परिवारमा मन मुटाव बढ्दो छ । त्यसो त बृद्ध भत्ता कार्यक्रम ल्याएको र निरन्तरता दिएकोले कतिपय परिवारमा बृद्धहरु कम्युनिष्टमा र छोरा छोरी कांग्रेसमा हुँदा प्रचारमा आउने नेताहरुलाई चिया खुवाउन पनि नाक खुम्चाउने अवस्था छ ।
एकिकृत नेकपा माओवादी राज्य समिति सदस्य बेगम बहादुर चन्द भन्छन् क्षेत्र नम्वर ३ को अवस्था पनि उस्तै छ । ‘कतै श्रीमति एमाले, श्रीमान माओवादी, छोरा छोरी कांग्रेस हुँदा बडो रमाईलो पनि भएको छ’–चन्दले भने । क्षेत्र नम्वर ३ कै एमाले नेताकी श्रीमती एमाओवादीको चुनाव प्रचारमा तम्सीएपछि रडाको मच्चीएको छ त्यो घरमा । स्थानिय एक शिक्षक एमालेबाट एमाओवादीमा जान लाग्यो रे, लौन रोक भनेर एक स्थानियलाई भनेछन् ति नेताले । ति स्थानियको पालो प्याच्च भनिहाले छन्– ‘त्यो भन्दा पहिला भाउजुलाई  (श्रीमति) रोक्नुस त ....। ’ अनि ति नेताले जवाफ फर्काएछन, ‘त्यसको कुरा नगर, उसको दिमाग विग्रेको छ भैरहवामा उपचार गर्न लैजाँदै छु । ’
यसरी ठुला नेताकै घरमा वैचारिक एकता छैन भने टोल टोलका अरु मानिसहरुलाई ति नेताहरुले आफ्नो पक्षमा कसरी लिन सक्ने भन्ने प्रश्न पनि उब्जीएको छ । बडागाउँ ७ चन्द्रबहादुर सुनार द्धन्द्ध कालमा माओवादीले घर घेर्दा पनि एमाले छाडेनन् । ‘८० वर्षको उमेर भयो बाबु, मैले एमाले छाड्दिन भनेर बसेको छु’ उनले भने–‘ छोराहरु सबै माओवादी भए, म एकरत्ती डगेको छैन् ।’ उनका जेठा छोरा हुकुम सुनार र कान्छा दिपक सुनार एमाओवादीका गाउँ कमिटी सदस्य छन् । बाबु चन्द्र बहादुर एमालेको तर्फबाट वडा अध्यक्ष समेत भए । अहिले बुढेसकालमा एमालेले कुनै जिम्मेवारी नदिए पनि सो पार्टी प्रति उनको वैँस उमेरकै मोह र जिताएरै छाड्ने जोस छ ।  उता उनकै छिमेकी गोमबहादुर सुनार एमाओवादी जिल्ला स्तरिय नेता हुन् । उनका छोरा गोकर्ण सुनार एमाले छाडेर अहिले रुपन्देही ५ मा विसेन्द्र पासवानको पार्टीबाट उमेदवार बनेका छन् । ‘के गर्ने दलितहरुको मुक्ति न एमालले गराउन सक्यो न माओवादीले नै त्यसैले हाम्रो समुदायको मुक्तिका लागि त्यस पार्टीमा लागेको हुँ ’–गोकर्णले भने ।
यता सदरमुकाम तम्घासमा लक्ष्मण फुल्देल कांग्रेसवाट एमाओवादीमा हालै प्रवेश गरेपछि बाबु छोरामा खासै खुलस्त मन छैन आजकल । कांग्रेसका पुराना कट्टर कार्यकर्ता उनका बाबु छोरा माओवादीमा प्रवेश ग¥यो भन्ने खवरले टाउको समात्ने भए । तम्घास ८ मा तरुण दलका जिल्ला सदस्य विष्णु पन्थीकी श्रीमती पुष्पा पन्थी एमाओवादीमा प्रवेश गरेपछि एक दुई दिन ति दम्पत्तीमा पनि वोल चाल बन्द भयो । विष्णुले भने–‘सुरुमा त असाध्धै रिस उठ्यो तर पछि बुझ्दै जाँदा राजनैतिक दल चुन्न पाउने हरेक ब्याक्तिको स्वतन्त्र हो भन्ने ठानेर अहिले केहि फरक लागेको छैन् ।’
उता वाग्लाका झविन्द्र भण्डारी आफैले कार्यकर्ता बनाएकी छोरी सिता एमाओवादी छाडेर नेकपा–माओवादी बनेपछि उनि घरमा एक्लीनु परेको छ । उनि एमाओवादीका जिल्ला सदस्य हुन भने छोरी –माओवादीको महिला संगठनकी जिल्ला सचिव । छोरी चुनाव बहिष्कारको नारा लगाउँदै उता बाबु चुनाव प्रचारको माईक फुक्दै गरेको दृश्य पनि चुनावी माहौलको रोचक पक्ष बनेको छ । अर्खले १ कै सुभाष मरासीनीका आमा छोरा अहिले दुई बेग्ला बेग्लै पार्टी बनेका छन् । छोरा एमाले छाडेर एमाओवादीमा केहि दिन अघि प्रवेश गरे पनि आमालाई माओवादी बनाउन सकेनन्, एमाले नै रहेकी छन् । साँच्ची नै यति बेला एक देखि अर्को टोलको भन्दा पनि परिवारका एक सदस्य देखि अर्को सदस्य विचको राजनिती निकै रोमाञ्चक बनेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग