Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन सातापछि नेपाल नयाँ युगमा प्रवेश गर्छ- रेग्मी

Published on 8:40:00 PM //

काठमाडौँ, १२ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आजको तीन सातापछि संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नेपाल नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निर्वाचन नै अवरुद्ध राजनीतिक प्रक्रियाको उत्तम विकल्प भएको बताउनुभएको छ ।

    अठसट्ठीऔँ राष्ट्रसङ्घीय दिवसको अवसरमा आज ललितपुरस्थित  राष्ट्रसङ्घीय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले विघटित संविधानसभाले गरेका कामबाट पाठ सिकेर समग्रतामा अबको चुनावले शान्तिप्रक्रियालाई पूर्णता दिने बताउनुभयो ।

    “नयाँ संविधान लेखनका साथै राजनीतिक स्थायित्वको आधार, समावेशी आर्थिक उन्नयन एवम् विकासलाई सुनिश्चित गर्न आगामी निर्वाचन महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयो– सबै वर्ग, जाति, समुदाय, लिङ्ग र भौगोलिक क्षेत्रका जनताको प्रजातान्त्रिक अधिकार स्थापना गर्नेछ ।

    राष्ट्रसङ्घीय दिवसले हामी सबैलाई शान्ति, सुरक्षा, विकास र विश्वका सबै जनताको स्वतन्त्रताका लागि सहकार्य गर्न प्रेरणा प्रदान गरोस् भन्दै अध्यक्ष रेग्मीले यस दिवसका अवसरमा महासचिव बानकी मुनले जारी गर्नु भएको सन्देशप्रति नेपालको ऐक्यबद्धता प्रकट गर्नुभयो ।

    मानव समुदायको विकास, विश्वका विभिन्न भागमा उत्पन्न समस्या समाधानका लागि विश्व संस्थाले गरेका समाधानका बहुपक्षीय प्रयास एवम् समझदारीको खोजीका कारण राष्ट्रसङ्घ नेपालीको मन र मस्तिष्कमा रहेको बताउँदै उहाँले राष्ट्रसङ्घको वडापत्रप्रति नेपालको अविछिन्न विश्वास रहेको उल्लेख गर्नुभयो ।

    लामो सङ्क्रमणबाट निस्केर दिगो शान्ति एवम् राजनीतिक स्थायित्व कायम गर्नु नेपाल र नेपालीको अहिलको चाहना भएको उल्लेख गर्दै उहाँले न्याय र समानतामा आधारित दिगो विकास हासिल गर्न इस्तानबुल कार्ययोजना कार्यान्वयनको तयारीमा सरकार रहेको जानकारी दिनुभयो । सहस्राब्दी विकास लक्ष्यको प्राप्ति र सन् २०२२ मा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकार अघि बढेको पनि उहाँले बताउनुभयो ।

    विश्व समुदायको शान्ति, प्रगति एवम् शान्ति प्राप्तिका निम्ति राज्यहरूबीचको सहकार्य र सहयोगका लागि वडापत्रमा निहित उद्देश्य र सिद्धान्तहरू प्रेरणाका स्रोत हुन् भन्दै अध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षा, स्वतन्त्रता एवम् मानव अधिकारको सुनिश्चितता, दिगो समृद्धि र साझा चासोका समस्या समाधान गर्ने संस्थाको रुपमा राष्ट्रसङ्घ केन्द्रमा रहेको बताउनुभयो ।

    “गरिबी विश्वव्यापी समस्या हो र दिगो विकासका निम्ति गम्भीर व्यवधान हो, यसविरुद्ध लड्न उपलब्ध स्रोतको सबै पक्ष र स्थानबाट उपयोग हुनुपर्छ,”–उहाँले भन्नुभयो– सहस्राब्दी विकास लक्ष्यलगायत अन्तर्राष्ट्रियरुपमा सहमति जनाइएका विकासका लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासको खाँचो छ ।

    वित्तीय तथा आर्थिक  सङ्कट, जलवायु परिवर्तनको कुप्रभाव र दैवी विपत्तिका घटनाले अन्तर्राष्ट्रिय समुदायलाई एकीकृत ढङ्गले काम गर्न झक्झक्याएको वास्तविकता पनि उहाँले औँल्याउनुभयो । विकासका उपलब्धिको दिगोपना, सुनिश्चितता र विकासको गतिलाई अझ तीव्र बनाउन अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो ।

    आम विनाशका हतियारको भण्डारण र घातक अस्त्रहरूको बढ्दो बिगबिगीले विश्वका विभिन्न भागमा तनाब र द्वन्द्व निम्त्याएको र त्यसले मानव सभ्यताको अस्तित्वलाई जोखिममा पारेको चर्चा गर्दै अध्यक्ष रेग्मीले निःशस्त्रीकरण एवम् हातहतियारको उत्पादन÷प्रयोग निमिट्यान्न पार्न पनि एकीकृत प्रयास अपरिहार्य भएको बताउनुभयो ।

    संसारका समस्याग्रस्त विभिन्न मुलुकमा शान्तिसेना परिचालन गरेर राष्ट्रसङ्ले विश्व शान्ति एवम् सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले शान्ति सेनामा नेपालको निरन्तर योगदान रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि नेपालको शान्ति प्रयासमा राष्ट्रसङ्को महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उहाँले यहाँको सामाजिक–आर्थिक विकासका निम्ति प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । समावेशी विकास, राज्यका महत्वपूर्ण अङ्गहरूको सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तनका प्रभाव र प्राकृतिक विपत्तिविरुद्धका सरकारी प्रयासमा राष्ट्रसङ्घ र त्यससँग सम्बद्ध अन्य संस्थाले गरेको योगदानको उहाँले प्रशंसा पनि गर्नुभयो ।

    “सरकारका प्राथमिकता र आवश्यकताअनुसार सम्बद्ध सरकारी निकायसँगको परामर्शमा सहायता परिचालन गर्न अनुरोध छ”–उहाँले भन्नुभयो ।

    राष्ट्रसङ्का आवासीय समन्वयकर्ता जिम्मी म्याकगोल्डरिकले नेपालको विकास प्रयासमा राष्ट्रसङ्ले सधैँ सघाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।

    उहाँले निर्वाचनमा धाक, धम्कीजस्ता गैर प्रजातान्त्रिक चरित्र प्रस्तुत हुननहुनेमा जोड दिनुभयो । राजनीतिक दलहरू नेपालमा शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

    समारोहमा उहाँले २५ देखि ३५ वर्षसम्म राष्ट्रसङ्मा सेवा गरेका कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहमा ‘मेरो सपनाः संविधान’ लघु नाटक पनि प्रस्तुत गरिएको थियो । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग