Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरघरमा तीनै दलका झण्डा सजाउने सहमति

Published on 5:05:00 AM //

जनार्दन घिमिरे/बालकुमार नेपाल
बलेटक्सार । चुनाव प्रचारमा प्रतिस्पर्धासँगै कतैकतै एमाओवादी, कांग्रेस र एमालेका कार्यकर्ताबीच पाखुरा सुर्कासुर्की भए पनि गुल्मीको बलेटक्सारमा गजबको प्रचार शैली देखिएको छ। यहाँ सबै पार्टीका झन्डा सबैका घरघरमा राख्‍ने एउटा भद्र सहमति भएको छ।

त्यहीअनुसार बलेटक्सारका हरेक घरमा तीन दलका झन्डा फहराइएका भेटिन्छन् । यसले सहमति र सहिष्णुताको बेग्लै राजनीतिक संस्कार विकास भएको छ।

बलेटक्सार बजार प्रवेश गर्नेबित्तिकै लाग्थ्यो- भर्खरै देशमा जनआन्दोलन सुरु भएको छ। मानौं, आन्दोलन गर्ने प्रमुख दल त्यसलाई संस्थागत गर्ने एउटा उत्सवमा छन्। त्यसैले एमाओवादी, कांग्रेस र एमालेले आफ्नो पार्टीको झन्डा एकैसाथ सबैका घरमा राखेका छन्। तर जब ती झन्डासँगै पार्टीको चुनाव चिह्‍न अंकित झन्डा देखिन्छ, त्यसपछि भने अनुमान गर्न सकिन्छ अब बजारमा राम्ररी चुनाव लागेछ।

विगत निर्वाचनमा बजारमा एमालेले मात्र एकलौटी झन्डा राख्‍ने गरेको अरू दल र स्वयं एमालेको पनि अनुभव छ। एमाओवादी र कांग्रेसले विगतमा एमालेले बजारमा झन्डा राख्‍न नदिएको गुनासो गरेका छन् भने एमालेले त्यसलाई अस्वीकार गरेको छ।

बलेटक्सारका यमबहादुर केसीका अनुसार पहिले बजारमा एमालेबाहेकका दलका कार्यकर्ता खुल्न सकेका थिएनन्। कोही जिल्ला बाहिर गएका थिए। ‘अहिले पुराना पनि खुलेका छन् र बाहिर गएका पनि आएका छन्’, उनी भन्छन्, ‘एउटा झन्डा राख्‍न दिएर के पो बिग्रन्छ र? भोट आफूले चाहेको उम्मेदवारलाई नै हाल्ने हो। त्यसैले सबै पार्टीका झन्डा राख्‍न दिएका हौं।’

सञ्चारकर्मी एवं बलेटक्सारका बासिन्दा सुभाखर ज्ञवालीका अनुसार बलेटक्सारमा जिल्लाकै सचेत र शिक्षित समुदाय बस्ने गर्छन्। राजनीतिक सहिष्णुताको नमुनाका रूपमा जुनसुकै पार्टीले आग्रह गरे पनि झन्डा राख्‍ने अघोषित सहमति भएको हो।

स्थानीय सामाजिक कार्यकर्ता नारायण ज्ञवाली भन्छन्, ‘अरू पार्टीको झन्डा राख्दैमा आस्था पनि त्यही पार्टीको हुन्छ भन्ने छैन।’ मतदानका लागि उमेर नपुगेका बालबालिकालाई आकर्षित गरेर पनि पार्टीहरूले झन्डा बोकाएर पठाएको उनको अनुभव छ। कतिपयले बलेटक्सारमा क्रिकेट मैदान बनाइदिन्छु भनेर पनि घरमा झन्डा राख्‍न लगाएको उनले बताए।

एमाओवादी जिल्ला सदस्य कमल श्रेष्ठ भने बजारमा एमालेको एकाधिकार तोडेर आफूहरूले झन्डा राखेको बताउँछन्। उनका अनुसार एमाओवादीले झन्डा राखेपछि त्यसैको बलमा कांग्रेसले पनि झन्डा राख्‍ने हिम्मत गरेको हो। एकै घरमा तीनै दलका झन्डा रहनुलाई भने उनी बलेटक्सारवासीको राजनीतिक सहिष्णुता स्वीकार गर्छन्।

तरुण दल बलेटक्सारका अध्यक्ष मोती श्रेष्ठ पनि झन्डा राख्‍ने राजनीतिक सहिष्णुताको नमुना भएको बताउँछन्। आफूहरू बजारमा उपस्थित भएपछि एमाओवादीले बाहिर निस्कने हिम्मत गरेको उनको दाबी छ।

एमाले बलेटक्सारका अध्यक्ष फरशुराम ज्ञवालीले कांग्रेस र एमाओवादीले ‘एमालेको झन्डा राख्‍ने हाम्रो किन नराख्‍ने’ भनेर स्थानीय बासिन्दालाई दबाब दिएको दाबी गरे। एमाले निषेधको राजनीति नगर्ने पार्टी भएकाले सबैका झन्डा राख्‍नुलाई राजनीतिक सहिष्णुताका रूपमा लिएको उनले बताए। एमालेले चाहेको भए बलेटक्सारमा एमाओवादी र कांग्रेसको एउटा पनि झन्डा नरहने उनको दाबी छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग