Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुद्रावेणीमा केरा खेती फस्टाउँदै, किसानहरु दंग

Published on 4:59:00 AM //

खेतभरी केरा खेती गरेका रुद्रावेणीका किसानहरु अहिले खुसीले दङ्ग परेका छन् । धान फलाउने खेतमा केराका विरुवा लगाएर स्याहा–सुसार गरेका किसानहरु दुईबर्ष सम्म खेतवारीले कुनै आम्दानी नभएपनि अहिले खेतभरी लगाएको केरा पसाएपछि खुसीले दङ्ग भएका हुन् । गुल्मी उद्योग वाणिज्य संघले यहाँको रुद्रावेणी र हस्तिचौरमा जिल्लालाई नै केरामय बनाउने उदेश्य सहित किसानहरुलाई आफ्नै लगानीमा केराखेतीमा आकर्षित गरेको छ ।

रुद्रावेणीको २० रोपनी खेतमा ३ हजार केराको विरुवा रोपेर केराखेतीमा लागेका किसानहरुले पहिलो बर्षनै धानको तुलनामा केराको उत्पादन चार गुणा बढी हुने अपेक्षा लिएका छन् । यहाँका किसान हिम कुँवरको नेतृत्वमा १४ जना किसानहरु ब्यवसायीक केरा खेतीमा लागेका छन् । ‘३ हजार विरुवा रोपेकोमा अहिले ५० प्रतिशत भन्दा वढी केरोको वोट पसाएको छ, एउटै केराको हातमा १८ देखि २२ वटा सम्म केरा फलेका छन्’ रुद्रावेणीका अगुवा किसान कुँवरले भने ‘कात्तिकमा सवै केरा पसाउँदा १५ टनको हाराहारीमा केरा उत्पादन हुन्छ, यसवाट हामीलाई धान खेतीमा भन्दा ४ गुणा वढी फाईदा हुन्छ ।’
किसानहरुले जिल्लामा उत्पादन भएको केरा जिल्लामै खपत हुने बताएका छन् । किसानहरुका अनुसार फागुन महिनाबाट फेरी दोस्रो सिजनको केरा पसाउन सुरु हुन्छ । साथै केराघारीमा अहिले उत्पादन भएको केराको विरुवा पनि सुपथ मुल्यमा उपलब्ध गराईने रुद्रावेणीका किसान विजेन्द्र श्रेष्ठले बताए । समूहमा आउने कृषकहरुलाई अझ वढी छुट गर्ने किसानहरुले जनाएका छन् ।

दुई वर्ष अगाडि गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा जापानीज केराको विरुवा उपलब्ध गराएर किसानहरुलाई केरा खेतीमा प्रेरित गरेको थियो । साथै जिल्ला कृषि विकास कार्यालय गुल्मीको प्राविधक सहयोगमाा केरा खेती सुरु भएको हो । आफूहरुको जिल्लालाई केरा खेतीको जिल्लाको रुपमा चिनाउने लक्ष्य अनुसार केराखेती अभियान सुरु गरिएको बाणिज्यसंघका महासचिव कृष्ण पोख्रेलले बताए ।
‘हामी अहिले निकै खुसी भएका छौँ हस्तिचौरको तुलनामा रुद्रावेणीको केराखेती धेरै गुणा राम्रो भएको छ’ उनले भने ‘५ हजार जापानीज केराका वोट मध्ये ३ हजार रुद्रावेणीमा रोपेका हौँ, अहिले थुप्रै विरुवा पनि उत्पादन भएको छ ।’ साथै उनले केरा खेतीको लागी वाणीज्यसंघले सहयोग गरेको भएपनि त्यसवाट आउने फाईदा किसानहरुलेनै लिने बताए । जिल्ला कृषि विकास कार्यालयले पनि रुद्रावेणीको केरा खेती अत्यन्तै राम्रो भएको जनाएको छ ।

रुद्रावेणि संगै हस्तिचौरमा लगाईएको केरा खेती भने खासै फस्टाउन सकेको छैन् । तर अर्को बर्ष देखि हस्तिचौरको केराले पनि जिल्लाको वजार आगट्ने यहाँका अगुवा टिका रेश्मीले बताए । ‘सुरुमा केराका वोटहरु मरे, अहिले विस्तारै पसाउन थालेका छन् कृषि विकास कार्यालयमा पनि केरामा लागेको रोग नियन्त्रणको लागी अनुरोध गरेका छौँ’, रेश्मीले भने । हस्तिचौरको छल्दि टारमा पनि झण्डै ३५ रोपनी जग्गामा १४ जना कृषकहरुले केरा खेती गरेका छन् । -नेपाल समाचार पत्रबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग