Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सधैं किन जित्छन् देउवा?

Published on 5:06:00 AM //

रविन गिरी/बाबुराम श्रेष्ठ
डँडेल्धुरा : ‘अरूलाई जितायौं पटकपटक, माओवादीलाई जिताऔं यसपटक’, २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीको यो नारा चर्चित बन्यो। नाराको आग्रहजस्तै धेरै जनताले अघिल्लोपल्ट माओवादीलाई मत दिए। माओवादी देशकै ठूलो दल बन्यो। तर डँडेल्धुरामा यस्तो भएन। सुदूरपश्चिमको यो पहाडी जिल्लाका जनताले फेरि पनि २०४८ सालको संसदीय निर्वाचनदेखि नै पटकपटक जिताउँदै आएका शेरबहादुर देउवालाई जिताए ।

त्यही भएर हुनुपर्छ, संविधानसभाको दोस्रो निर्वाचनमा पनि एमाओवादीले पुरानै नारालाई दोहोर्‍‍याएको। पर्चाको सबैभन्दा माथि लेखिएको छ, ‘अरूलाई जितायौं पटकपटक, खगराज भट्टलाई जिताऔं यसपटक’। एउटैमात्र निर्वाचन क्षेत्र रहेको डँडेल्धुरामा यसपटक पनि कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री देउवा नै मैदानमा छन्।

आखिर किन डँडेल्धुरामा देउवाले जहिल्यै चुनाव जित्छन्? डँडेल्धुराको असीग्राम गाविसमा जन्मेर देशकै शक्तिशाली नेता बन्न सफल देउवा के कारणले टिकिरहेका छन्? प्रश्न जति स्वाभाविक छ, उत्तर पाउन उति सजिलो छैन।

‘खै, किन हो यहाँका मान्छेहरू हरटाइम देउवालाई नै भोट दिन्छन्, उनले के गर्‍‍या हुन् हाम्लाई त थाहा छैन’, अमरगढी नगरपालिका-५ का २० वर्षीय प्रविन भाट भन्छन्। उनको भनाइमा बोल्न पनि राम्रोसँग नआउने देउवाभन्दा त अरू पार्टीकै उम्मेदवार राम्रा देखिन्छन्। तर आमाबुबाले किन उनैलाई भोट हाल्छन् त्यो उनले बुझ्न सकेका छैनन्।

सुदूरपश्चिमकै अर्का पूर्वप्रधानमन्त्री बैतडीका लोकेन्द्रबहादुर चन्द कुनै समय प्रभावशाली नेता थिए। उनले पनि सुदूरपश्चिममा विकास नगरेका होइनन्। तर २०४८ सालपछि शक्तिमा पुग्न देउवाले चन्दलाई पछि पारे। डँडेल्धुरा भएरै मात्र सुदूरपश्चिमका बाँकी जिल्ला पुग्न सकिने भएकाले अरूले गरेका विकासको श्रेय पनि देउवालाई नै गएको भन्ने पनि छन्।

डँडेल्धुराका कांग्रेस सभापति कर्णबहादुर बोहराको भनाइमा पानी, बिजुली, बाटोघाटो, शिक्षा र स्वास्थ्यमा आएको जमिनआकाशको फरकले यो क्षेत्र देउवा नै चाहिन्छ भनेर बोल्छ, देउवा नभएको भए केही हुन्नथ्यो। पछिल्लो समय ग्रामीण विद्युतीकरण, चमेलिया, पश्चिम सेतीजस्ता ठूला परियोजना देउवाकै कारण आएको प्रचार गर्न कांग्रेस कार्यकर्ता गर्छन्।

त्यसो त जितका लागि उम्मेदवारको पहुँच र शक्ति को तुलनामा उसको व्यक्तित्वको भूमिका कति हुन्छ यसको उदाहरण पनि डँडेल्धुरामा देख्‍न सकिन्छ। कैलाली ६ बाट समेत निर्वाचन लडेका देउवाको प्रचार सामग्रीमा कांग्रेसका वरिष्ठ नेताभन्दा पनि पूर्वप्रधानमन्त्री लेखिएका प्रचार पोस्टरले पदको शक्ति भजाउन खोजेको संकेत गर्छ।

‘देउवा भोलि प्रधानमन्त्री हुन्छन् र यस क्षेत्रका लागि केही गर्छन् भन्ने कुरा बुझाउन सकेकै कारण पनि उहाँको पक्षमा बलियो बनेको जस्तो देखिन्छ’, कैलालीका कानुन व्यवसायी केशव जोशी भन्छन्। उनको विचारमा कैलालीमा पनि एमालेका उम्मेदवार व्यक्तिगत हिसाबमा राम्रा मानिन्छन्। ‘तर जनताले उहाँले जितेर के दिने भन्ने सोच्दा हुन्’, उनी भन्छन्।

डँडेल्धुरामा देउवालाई देउताझैं मान्नेहरू भए पनि गत संविधानसभा निर्वाचनमा उनी खगराज भट्टसँग एक हजार तीन सय ५८ मतान्तरमा मात्रै विजयी भएका थिए। भट्ट देउवाले जनतालाई अँध्यारोमा राखेको आरोप लगाउँछन्। त्यसो त एमाले उम्मेदवार तारा जोशीको छवि पनि राम्रो छ। उनले पनि मत माग्ने क्रममा देउवाले प्रधानमन्त्री बनेर शक्ति र जनताको विश्वासको चरम दुरुपयोग गरेको बताउने गरेका छन्।

देउवाले पैसा खन्याएर चुनाव जित्‍ने गरेको आरोप पनि भट्ट र जोशीको छ।

‘उम्मेदवार असल भएर मात्रै हुन्छ? उहाँहरू जितेर के गर्न सक्नुहुन्छ भन्ने चुनौती छ, देउवाका अघि उहाँहरूको उचाइ नै कहाँ छ र?’, कांग्रेस सभापति बोहोराले भने।

गृहमन्त्री हुँदै पटकपटक प्रधानमन्त्री हुँदा गरेका विकासका काम र अन्तर्राष्ट्रिय स्तरमा बनाएको छवि देउवाको जितको स्रोत नभएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश साउदको विश्लेषण छ। ‘जितको मूलस्रोत विकास होइन, देउवाले पञ्चायती व्यवस्था परिवर्तनमा गरेको संघर्ष हो, जसलाई देख्नेहरू छँदैछन्’, साउदले भने।

एमाओवादी र एमाले नेताका राजनीतिक उचाइ देउवाको जत्ति नहुनु पनि उनको जितको अर्को कारण भएको उनको भनाइ छ। उनले भने, ‘कांग्रेसले देउवाबाहेक अरू उम्मेदवार बनाउने हो स्थिति यसैपटक उल्टन्थ्यो।’ -अन्नपूर्ण पोस्ट दैनिकबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग