Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यस्तो छ यसपालिको चुनाबी प्रतिस्पर्धा (३ वटै क्षेत्रको)

Published on 5:54:00 AM //

प्रेम सुनार
कार्तिक १५, गुल्मी । २०४८ सालको चुनावमा जिल्लाका तिनवटै क्षेत्रमा काँग्रेसले आफ्नो विजयी झण्डा गाडेको थियो । तर क्रमशः एमालेले लाल किल्ला बनायो र गत २०६४ को संविधान सभा चुनावमा पनि दुई कम्युनिष्ट एमाले र माओवादीले तिनवटै क्षेत्रलाई लाल कायम गरेर छाडे । त्यही ईख लिएको कांग्रेस यसपालीको चुनावमा ति लाल किल्लाहरु भत्काउन आफ्नो भए भरको शक्ति लगाएको छ भने एमाले र एमाओवादी पनि हिजो आफुहरुको किल्ला बचाउन त्यसरी नै लागि परेका छन् । क्षेत्र नम्वर १ र ३ मा मा गत संविधान सभा चुनावमा जितेको एमाओवादी यति वेला जिल्लाका ३ वटै क्षेत्र जितिन्छ भन्दै चुनावी मैदानमा छ भने एमाले र कांग्रेस पनि पनि तिन वटै क्षेत्र जित्ने जोसका साथ लागि परेका छन ।
१ मा एमाओवादीबाट अघिल्लो चुनावका विजेता सुदर्शन बराल कांग्रेसका कृष्ण छन्तायल र एमालेकी मैना भण्डारीसंग कडा प्रतिष्पर्धामा छन् । क्षेत्र नम्वर २ मा दुई दुई पटक जितेका एमाले नेता प्रदिपकुमार ज्ञवाली, कांग्रेस नेता चन्द्र भण्डारी र एमाओवादी नेता अशोक थापा विचको जित हारको नतिजा यसपाली रोमञ्चक बन्ने देखिन्छ । उनिहरु मध्ये कसले जित्ने हार्ने भन्ने कुरा आंकलन गर्नै नसकीने चुनावी चहल पहल छ । कांग्रेस यस पाली २ नम्वर क्षेत्र कुनै पनि हालतमा ज्ञवालीको हातबाट खोस्छौं भन्दै लागेको छ भने एमालेले ज्ञवालीको जित घोषणा मात्रै गर्न बाँकी भन्दै चुनावी प्रचारमा हिडेको छ । उता आघिल्लो चुनावमा तेश्रो पार्टी बनेको एमाओवादी आफ्ना उमेदवार अशोक थापालाई गुल्मीको झक्कु सुवेदी बनाएर देखाउँछौं भन्दै टोल टोलमा पुगेको छ ।
दलित महिलाको खुट्टा ढोगेर आशिर्वाद लिँदै चुनावी प्रचारमा लागेका थापा अव आफ्नो प्रतिष्पर्धी ज्ञवाली नभएर भण्डारी भएको दावि गर्छन् । यता एमाले थापा नभई ज्ञवालीको प्रतिष्पर्धी भण्डारी मात्रै भएको र हिजो कै जति मतले हराउने दावि गर्दै आएको छ । कांग्रेसले हिजो एमालेका भोटहरु एमाओवादीमा गएको भन्दै भण्डारीको जित सुनिश्चित भएको दावि गर्दछ ।
एमालले फेरी कांग्रेसको गढ मानिने दरवार देविस्थान गाविस पुरै भत्काएको भन्दै यसपाली पनि भण्डारीलाई हराएरै छाड्ने जिकीर गरेको छ । ३ नम्वर क्षेत्रमा पनि त्रिपक्षिय टक्कर चलेको छ । अघिल्लो चुनावमा एमाओवादीले जितेको र एमाले उमेदवार गोकर्ण विष्ट निकटतम प्रतिद्धन्द्धी बनेका थिए । अहिले पनि सो पार्टीका उमेदवार वामदेव क्षेत्री आफ्नो झण्डा कायमै राख्ने दावि गर्छन भने एमालले उमेदवार विष्ट यस पाली आफैले जित्ने सुनिश्चित भएको दावि गर्दै आएका छन् ।
उता कांग्रेस उमेदवार त्रैलोक्यप्रताप सेन हिजो कम्युनिष्टहरुले भ्रम छरेर जितेको आरोप लगाउँदै यसपाली कांग्रेसले जित्ने दावि गर्दछन् । यसरी जिल्लाका मुख्य यिनै तिन शक्तिको चुनावी लडाईमा कसको जित कसको हार हुने हो भन्ने अहिले नै आंकलन गर्न नसकीने अवस्था रहेको छ । यस पाली फोटो सहितको मतदाता नामावली लागु भएको र अघिल्लो चुनावमा भन्दा मतदाता झण्डै एक लाख घटेकोले पनि हिजोको जोड घटाउले दलहरुलाई छाँगाबाट खसे झैको परिणाममा दिन सक्ने देखिन्छ ।  प्रमुख तिन दलका ति उमेदवारहरु पछि साना दलहरु मध्ये राष्ट्रिय जनमोर्चा क्षेत्र नम्वर १ का उमेदवार जिवन राना, २ का छविलाल सर्तुङ्गे, ३ का रामेश्वर खत्री र राप्रापा क्षेत्र नम्वर ३ का उम्मेदवार भरतबहादुर चन्द पनि चर्चामा छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग