Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आम हडताल निजी क्षेत्रले तोड्छ : वैद्य

Published on 6:01:00 PM //

बनेपा, कार्तिक २३ - नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आम हडताल फिर्ता नभए तोड्ने चेतावनी दिएका छन् ।
आज बनेपामा उद्योग वाणिज्य सङ्घ काभ्रेले आयोजना गरेको २३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले भने,'हामी बन्दको विपक्षमा छौ । बन्द भए निजी क्षेत्रले त्यसलाई तोड्छ ।'
उनले बन्दको विपक्षमा माओवादी अध्यक्ष वैद्यसँग कुरा गरेको समेत जानकारी दिए । वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको निर्वाचनलाई लक्षित गरेर आगामी २५ गतेदेखि आम हडतालको घोषणा गरेको छ ।
अध्यक्ष वैद्यले दलहरुको घोषणापत्रमा निजी क्षेत्रको भावनाको कदर भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रले न्यूनतम आर्थिक एजेन्डामा पाँचै क्षेत्रको विकासलाई समेट्ने कोसिस गरेको बताए ।
उनले खासगरी कृषि, पर्यटन, जलविद्युत् र नेपालमा खानी अध्ययनको सम्भाव्यतालाई मूल रुपमा उठाइएको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजस्व छल्ने परिस्थिति सरकारले नै निर्माण गरेको आरोप लगाउँदै जोरजबर्जस्तीमा राजस्व तिर्न नसक्ने बताए ।
उनले काभ्रेमा रहेको आइटी पार्क र पोलिटेक्निकल इन्स्टिच्युट सञ्चालनका लागि निजी क्षेत्रलाई हस्तान्तरण गर्न सरकारलाई अनुरोध गरेको तर सरकारले निर्णय गर्न नसकेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहन सुनारले सरकारले अनुगमनका नाममा आतङ्क मच्चाएको आरोप लगाए । -रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग