Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भित्रियो सन ब्राण्ड ईट्टा (अडियो कुराकानी)

Published on: // , ,
झण्डै एक दशक देखि ईट्टा उत्पादनमा बैग्लै पहिचान बनाउँदै आएको रुपन्देहीको एक कम्पनीले बुधवारदेखि गुल्मीमा आफ्नो उत्पादनको आधिकारिक विक्री वितरण सुरु गरेको छ ।
सन ब्रिक ईण्डष्ट्रिज ( प्रा.) लि., केरवानी–५ खैरेनी रुपन्देहीले बुधवारदेखि सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी विभिन्न चार बैग्ला बेग्लै गुण स्तरका ईट्टाहरु गुल्मीमा आधिकारिक वितरण सुरु गरेको जानकारी दिएको छ । सन ब्रिक ईण्डष्ट्रिज सञ्चालक समितिका अध्यक्ष अजयमान श्रेष्ठले तम्घासको साहुटोलस्थित रेसुङ्गा ट्रेड सेन्टर मार्फत विक्री वितरण सुरु गरेको जानकारी दिए ।
सो ईट्टाको अधिकृत विक्रेता सेन्टरकी सञ्चालक विष्णु भुसालले गुणस्तरिय ईटाको माग गुल्मीमा बढ्दै गएकोले सन ब्राईण्ड ईट्टाको अधिकृत विक्रेता हुन चाहेको बताईन् । नेपाली कांग्रेस गुल्मीका युवा नेता दामोदर भुसालकी धर्म पत्नी रहेकी विष्णुले अल्ट्रा सोलर एनेर्जीको कारोवार समेत गर्दै आएकी छन् । नेता भुसालले उक्त कार्यक्रममा बोल्दै जिल्ला भित्र निर्माण हुने भौतिक संरचनाहरु गुणस्तरिय र टिकाउ होउन भन्ने उद्देश्य लिएर गुणस्तरयुक्त ईट्टा जिल्लामा भित्राउने पहल गरिएको बताए । यस अवसरमा सन ब्रिक ईण्टस्ट्रिजका सञ्चालक समिति अध्यक्ष अजयमान श्रेष्ठसंग सहकर्मी प्रेम सुनारले रेडियो कुराकानी गर्नु भएको थियो । सुनौ श्रेष्ठसँगको कुराकानी:
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

गुल्मीमा १५ करोडको तरकारी

गगनशिला खड्का
गुल्मी, ८ माघ । गुल्मी जिल्लामा एक वर्षको अवधिमा रु. १५ करोड २३ लाख ६५ हजारको तरकारी उत्पादन भएको छ ।
गुल्मीको ७०६ हेक्टर क्षेत्रफलमा ६ हजार ९४ मेट्रिक टन तरकारी उत्पादन भएको हो । एक वर्षमा उत्पादित तरकारीमध्ये ४ हजार ९१० मेट्रिक टन मौसमी र १ हजार १८४ मेट्रिक टन बेमौसमी तरकारी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गुल्मीका १३ गाविस तरकारीमा आत्मनिर्भर समेत भएको कार्यालयले जनाएको छ । तरकारीमा आत्मनिर्भर हुने गाविसमा अर्खले, सिमिचौर, हर्दिनेटा, जैसिथोक, गौँडाकोट, पल्लीकोट, हुँगा, बलेटक्सार, ग्वादी, अस्लेवा, ठूलोलुम्पेक, अमरपुर र पूर्कोटदह छन् ।
गुल्मीमा अहिले गोलभेडा, काउली, बन्दा, खुर्सानी, काँक्रो, करेला र भण्डा लगायतका तरकारी उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्राविधिक सनबहादुर रानाले बताए । गुल्मीमा उप्पादित तरकारी बुटवल, पोखरा र भारतका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।

एक पोका नुनको ४० रुपैयाँ

जाजरकोट, माघ ७।  साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाबाट मात्र वितरण हुँदै आएको आयोडिनयुक्त नुन जाजरकोटका विभिन्न बजारमा महँगो शुल्कमा बिक्री वितरण हुँदै आएको छ।

जिल्ला शाखाबाट प्रतिपोका रु नौ रुपैयाँमा बिक्री वितरण हुने गरेको आयोडिनयुक्त नुन  सदरमुकामलगायत अन्य बजारमा रु ३५salt- देखि ४० सम्ममा बिक्री वितरण हँुदै आएको हो।

कर्पोरेसनको जिल्ला शाखाबाट प्रतिव्यक्ति तीन पोकाको दरले नुन वितरण हुँदै आएको छ। तर बजारका व्यापारीलाई शाखाले क्विन्टलका क्विन्टल नुन लुकाएर दिएपछि जनताले चर्को मूल्य तिरेर लिनुपर्ने बाध्यता सिर्जना भएको हो। अहिले जाजरकोट सदरमुकामलगायत रिम्ना, कालीमाटी लगायतका बजारमा रहेका पसलहरूमा ठूलो मात्रामा आयोडिनयुक्त नुन फेला परेको छ।

सरकारले जाजरकोट लगायतका दुर्गम तथा हिमाली जिल्ल्ाामा आयोडिनयुक्त नुनमा अनुदान दिँदै आएको छ। तर नुन वितरणमा भइरहेको अनियमितता र कमिसनका कारण जनता भने मर्कामा परेका छन्।

व्यापारीको मिलोमतोमा कमिसनका कारण कर्पोरेसन शाखाका कर्मचारीले शाखामा नुनको अभाव देखाई बजारका पसलहरूमा महँगो शुल्कमा किन्न्ा बाध्य बनाएको स्थानीइ जनताको गुनासो रहेको छ।

गुल्मीमा यस वर्ष सुन्तलाबाट १३ करोड

प्रेम सुनार
गुल्मी, १९ पुस । गत वर्षको तुलनामा यस वर्ष गुल्मीमा सुन्तलाको उत्पादन ७ प्रतिशतले बृद्धि भई अहिले सम्म कै बढि मुल्य बराबरको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको विवरण अनुसार वर्तमान बजार भाउ प्रतिकिलो न्युतम ५० का दरले हिसाव गर्दा पनि १३ करोड रुपैयाँ भन्दा बढिको सुन्तला गुल्मीमा यस वर्ष उत्पादन भएको छ ।
सो कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण अधिकारीका अनुसार यस वर्ष सुन्तलाको बृद्धि १० प्रतिशत लक्ष्य राखिएको थियो तर सुन्तलाले फुल हाल्ने बेलामा असिना पानीले क्षति पुराउँदा ७ प्रतिशत मैं चित्त बुझाउनु परेको छ । ‘गत वर्षदेखि सुन्तला पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई ३० हजार बेर्ना अनुदानमा बाँडेका हौं’– अधिकारीले भने–‘यस वर्ष ६० हजार भन्दा बढि बेर्ना बाँड्ने भएका छौं, सुन्तलाको प्रशस्त सम्भावना देखेरै हामी लागि परेका छौं, अहिलेको उत्पादन पुरानै बगैंचाहरुलाई ब्यबस्थीत र ब्यबसायीक बनाएर भएको हो ।’ उनले थपे–‘ कम्तीमा पनि ३० वटा बेर्ना लैजानेलाईँ हामीले अनुदानमा दिने गर्दछौं, प्याकिङ्ग चार्ज सहित ९ रुपैयाँ प्रति बेर्नामा ६ रुपैयाँ कृषकले तिनु पर्छ तपाई पत्रकारहरु पनि आउनु प¥यो र अरु कृषकहरुलाई पनि हाम्रो यो मिशनप्रति आकर्षित गर्नु प¥यो । ’ उनका अनुसार सो कार्यालयले सुरु गरेको ब्यबसायिक सुन्तला नर्सरीले उत्पादन दिन थालेपछि अहिलेको आम्दानी भविस्यमा दोब्बर हुने देखिएको छ । पछिल्ला तिन वर्षमा वार्षिक सरदर ११ करोड मुल्य बराबरको सुन्तला उत्पादन हुँदै आएको थियो ।
सो कार्यालयका वागवानी प्रविधिक सहायक दोमलाल भुसालले तयार पारेको विवरण अनुसार जिल्लाको कुल ५ सय २० हेक्टर मध्ये उत्पादनशिल २ सय ७६ हेक्टरमा यस वर्ष २ हजार ६ सय ५६. ८८ टन सुन्तला उत्पादन भएको छ । जुन २६ लाख ५७ हजार ८ सय ८० किलो हुन आउछ । जसलाई हालको बजार भाउ प्रति किलो ६० का दरले नभई न्युतम ५० का दरले हिसाव गर्दा १३ करोड २८ लाख ९४ हजार रुपैयाँको सुन्तला गुल्मीमा यस वर्ष उत्पादन भएको छ । त्यसका अलवा जुनार ३ हेक्टरमा, कागती ९ हेक्टरमा , अमिलो ( निवुवा ), भोेगटे, चाक्सी आदी सुन्तला जन्य फलफुल २ हेक्टरमा उत्पादन भएको छ । यसको भने प्रय: व्यवसायीक नभई घरयासी उपभोग हुने भएकोले माथी उल्लेखित हिसावमा जोडिएको छैन् । यो सहित जोड्ने हो भने गुल्मीमा वार्षिक १५ करोढ भन्दा बढि रकम सुन्तला जन्य फलफुलबाट मात्रै आम्दनी हुन्छ । प्राविधिक सहायक दोमलालका अनुसार कागती गुल्मीमा वार्षिक ६२. ६ टन र अन्य सुन्तला जन्य उत्पादन १५. ५२ टन हुँदै आएको छ , ‘यसलाई पनि ब्यबसायीकरणको आवस्यकता छ’– उनि भन्छन्–‘ सिमीचौर, अर्खले लगायतका कृषकहरुले भने कागतीलाई सदरमुकाममा ल्याएर ब्यबसायीकरण गरी रहेका छन् ।’
कृषि विकास कार्यालयले जिल्लामा तिन वटा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्र नम्वर १ अन्तगरत दिगाम, बिरवास, हर्दिनेट र गौडाकोटमा कुल ५४ हेक्ट सुन्तला
उत्पादन जमिन मध्ये हाल उत्पादनशिल २२ हेक्टरमा २ सय ११.८६ टन उत्पादन हुने गरेको छ । जुन २ लाख ११ हजार ८ सय ६० किलो हुन आउछ । जसबाट प्रति किलो ५० का दरले वार्षिक १ करोड ५ लाख ९३ हजार रुपैयाँको सुन्तला त्यस क्षेत्रमा उत्पादन हुन्छ । त्यस्तै गुल्मी जिल्ला एकिकराण हुनु अघि देखि नै स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँ, पिपलधारा, हाडहाडे, भनभने र यता अर्खले गविस सम्मलाई कृषि विकास कार्यालयले सुन्तला पकेट क्षेत्र नम्वर २ बनाएको छ । त्यस क्षेत्रको कुल १ सय ७४ हेक्टर मध्ये ५९ हेक्टर उत्पादनशिल रहेको र त्यहाँबाट यस वर्ष ५ सय ६८. १७ टन उत्पादन भएको छ । त्यसबाट २ करोड ८४ लाख ३५ हजार रुपैया सो क्षेत्रले यस वर्ष आम्दानी लिएको छ । सो क्षेत्रको नयाँगाउ गाविसमा पहिलेदेखि नै बढि सुन्तला फलाईन्छ । जहाँ गत केहि वर्ष यता न्युनतम वार्षिक १ करोड आम्दानी हुन्छ । त्यस क्षेत्रका कृषकहरुले अहिले मकै फल्ने पाटामा सुन्तलाको नर्सरी बनाउन थालेका छन् । जुन नर्सरीले फल दिन थालेपछि नयाँगाउ, पिपलधारा , हाडहाडे , भनभने र अर्खलेबाट मात्रै यस वर्ष सिंगो जिल्लाबाट आम्दानी भएको रकम बराबरको सुन्तला उत्पादन हुने देखिएको छ ।
पकेट क्षेत्र नम्वर ३ अन्तरगत अर्वेनी, हर्मीचौर, जयखानी र अर्लाङ्गकोट गाविसमा कुल ५० हेक्टर मध्ये २० हेक्टरमा उत्पादन भएको छ । जसमा १ सय ९२. ६ टन सुन्तला यस वर्ष उत्पादन भएको छ । जसबाट कुल यस वर्ष ९६ लाख ३० आम्दानी भएको छ । यि पकेट क्षेत्र बाहेक जुभुङ्ग, पराल्मी, सिर्सेनी , पुर्कोटदह। मर्भुङ्ग, अग्लुङ्ग लगायतका गाविसमा उत्पादन हुने सुन्तलाबाट यस वर्ष कुल त्यो रकम जिल्लालाई आम्दानी भएको हो । प्राविधिक सहायक दोमलालका अनुसार अर्लाङ्गकोटका स्वर्गिय आत्माराम भण्डारील जिवित छँदा बनाएको सुन्तला नर्सरीबाट मात्रै उनका परिवारले वार्षिक सरदर २ लाख आम्दानी लिन्छन् अहिले ।
सोही गाउँका सुशिल भण्डारीले वार्षिक १ लाख आम्दानी लिन्छन् । उनकै छिमेकी कृष्ण भण्डारीले त सोलर स्टोर अर्थात सुन्तला भण्डार स्थापना गरेका छन् । उनले १३ महिना सम्म सुन्तला नबिग्रीने त्यो स्टोरमा राखेर सुन्तलाको चिज हुने महिना चैत्र बैशाखमा बेच्छन र यो सिजनको दोगुना २ लाख करिव आम्दानी लिन्छन् । त्यस्तै दिगामको श्रृंगा निवासी भिमलाल कंडेलले पनि त्यस्तै स्टोर सञ्चालन गरेका छन् । उनले पनि यो सिजनमा नबेचेर अन्यत्र सुन्ताले फुल खेल्ने महिनमा बेच्ने गर्दछन् ।  उनको वार्षिक एक लाख र सोही गाविसको रुक्से गाउँका लालबहादुर ककंडेलले पनि वार्षिक एक लाख सुन्तलाबाट कमाउने गर्दछन् । उता सुन्तला पकेट क्षेत्र नम्वर २ अन्तरगत नयाँगाउँ ४ का नाराण थापा, वडा नम्वर १ का रामबहादुर घर्ति, वडा नम्र ८ का चेतनारयण आर्चाय लगायतका सयौं नयाँगाउँवासीले वार्षिक सरदर १ लाखका दरले आम्दानी लिने गरेका छन् । पिपलधार ५ का ७९ वािर्षया भेषबहादुर जिसीले समेत आटो खाने पाटोलाई सुन्तला नर्सरी बनाएका छन् ।
‘कि त भने कृष्णनगर सम्म पुगेर सुन्तलाले नुन साटेर ल्याउँथ्यौं ’–‘जिसीले भने–‘ अहिले त घरै अगाडीबाट गाडी चल्छ, छोराहरु सवै विदेश हामी बुढाबुढीले खेती गर्न सक्दैनौं, त्यसैले पाटामा सुन्तलाका बेर्ना रोपेका छौं ।’ १३ दिन सम्म हिडेर नुन बोकी खाएको अनुभव संगालेका जिसी भन्छन–‘अहिले त सुन्तला लगायत सवै कुराबाट गाउँमा साह्रै विकास भयो, पैसाको कमी हुन छाड्यो, अहिले त त्यही नजिकैको पसलबाट जान नानी नुन लिएर आईज भन्दा पनि केटाकेटीले धौं मान्छन् । ’ पिपलधारा ७ का विष्णु खनाल, ९का केशव खनाल, लगायतका सयौं घरधुरीले वार्षिक ५० देखि १ लाख सम्म आम्दानी लिने गरेको पिपलधार कृषि सम्पर्क केन्द्र प्रमुख नारायणप्रसाद भुषाल बताउछन् । उनका अनुसार हाडहाडे १ का एमबहादुर कुँवर, वडा नम्वर ३ का नन्दबहादुर रोका, २ का थानबहादुर नगरकोटी लगायतले वार्षिक सरदर १ लाख आम्दानी सुन्तलाबाट लिने गरेका छन् । सेवा केन्द्र प्रमुख भुसाल भन्छन् यस क्षेत्रका बगैचाहरु पुराना भई सके नया ब्यवस्थापनको जरुरी भैसकेको छ ।
उता पुर्कोटदह कृषि सम्पर्क केन्द्रमा सम्पर्क राख्दा त्यस अन्तरगतका पाँच वटा गाविसमा पनि सुन्तलाको नयाँ बगैंचा आवस्यकता भएको सेवा सम्पर्क केन्द्र प्रमुख हुमबहादुर थापा बताउछन् । भन्छन्–‘ यस अन्तर्गतका गाविस पुर्कोटदह, भनभने, म्यालपोखरी, मलागिरी र वाग्लामा सुन्तला बगैंचाहरु पुरानो हुँदै गएपछि कम फल्न थाले यसर्थ नया बगैंचा र ब्यबसायीकरणका लागि कृषहरुलाई चेतना अभिबृद्धिको खाँचो छ ।’ उनका अनुसार पुर्कोटदह १ बाट केहि दिन अघि मात्र छिमेकी वजार प्युठान तर्फ २ ट्याक्टर सुन्तला पठाईयो । त्यस गाविस वडा नम्वर ९ का मनिराम थापा, देवबहादुर थापा लगायतले वार्षिक ५० हजार सम्म सुन्तलाबाट आम्दानी लिन्छन् । त्यस्तै भनभनेमा एकिकृत नेकपा मआवादीका केन्द्रय सदस्य दिनेश पन्थीको परिवार पहिले देखि सुन्तला फलाएर आम्दनी लिने परिवार हो । सेवा केन्द्र प्रमुख थापा भन्छन्–‘ अँस्ती मात्र दिनेश सरले लौन नयाँ वगैचा सुरु गर्नका लागि के के गर्न पर्छ भनेर राय माग्नु भएको थियो ।’
भनभनेका मुरलीधर पन्थी, कुलप्रसाद घर्ति लगायतले वाािर्षक २० देखि ५० हजार आम्दानी लिने गरेको उनले बताए । यता जिज्यु बाजेको पाला देखि अर्खलेको भाँडगाउँ नाम लिन बित्तिकै सुन्तलाको सम्झनाले मुख रसाउने ठाउँ भाडगाउँमा अहिले युवा पुस्ता सुन्तला खेतीलाई ब्यबासीयकरण गरेर आम्दानीको प्रमुख माध्यम बनाउन लगि परेका छन् । भाडगाउँ माध्यामिक विद्यालयका शिक्षक थम्मन केसीले ३० रोपनीमा २ सय ५० वोट सुन्तालाबाट यस वर्ष १ लाखको सुन्तला बेची सकेका छन् भने करिव ४० हजार बराबरको सुन्तला बेच्न बाँकी रहेके बताउ छन् । उनले फल्न बाँकी रहेका ३ सय बेर्नाबट भविस्यमा वार्षिक ५ लाख आम्दानी लिने लक्ष्य लिएको बताए ।
उनका छिमेकी पुर्व गाविस सचिव शेरजंग बस्नेत, पुराना समाज सेवी पदमलाल पाण्डे, मानबहादुर घर्ति लगायतले उर्नैैको हाराहारीमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अझ २९ वर्षिय त्यस गाउँका युवा निरज मरासीनी र ३२ वर्षिय परमोद मरासीनी नयाँ सोच र जोसका साथ ब्यबसायिक कृषिमा लागेका छन् । निरजले ३६ वर्ष पुरानो सुन्तला बगैंचालाई ब्यबस्थीत गरेर सुन्तलाको बेर्ना बेच्ने नर्सरीमा रुपान्तरण गरेका छन् । फल दिने सय वोट सुन्तलाबाट यस वर्ष १ लाख आम्दानी लिएको र १५ हजार वेर्नाबाट सरदर ३ लाख आम्दानी लिएको बताउ छन् । उनले टनेल निर्माण गरी टमाटर खेती समेत सुरु गरेको बताए ् । उनले आगामी वर्ष देखि वार्षिक ५ लाख सम्म आम्दानी लिने लक्ष्य लिएको बताए ।
त्यस्तै परमोद पनि त्यही लक्ष्यका साथ उनि भन्दा केही कम सुन्तलाबाट आम्दानी लिने युवामा पर्दछन् । यि बाहेक सुन्तलाको बगैंचा नहुने भाडगाउका कुनै घरधुरी छैनन् । पछिल्लो चरण युवाहरुमा आएको यस्तो जागरुकताका कारणले पनि जिल्लाको तरकारी खेती, सुन्तला र कफी खेतीको विकासमा फड्को मार्ने क्रम बढेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाराण अधिकारी बताउछन् । उता स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली कृषि उत्पादनले नै जिल्लाको मुहार फेर्ने देखेरै दश वर्षे कषि योजनाको अवधारण ल्याई अगाडी बढिएको बताउ छन् ।
गुल्मीको सुन्तला पकेट क्षेत्र १ वाट रिडी पाल्पा र वुटवाल सम्म विक्री हुने गरेको २ बाट अर्घाखाँची , कपिलवस्तु र प्युठान सम्म , तिनबाट छिमेकी स्याङ्गजाको मिर्मी, सेतीवेनी र पोखरा सम्म, यता अर्लाङ्गकोटको सुन्तला बाग्लुङ्गको खर्वाङ्ग हुँदै ढोरपाटन सम्म पुग्ने गरेको प्राविधिक सहायक दोमलालले बताए । गुल्मीको अधिकांस भुभाग चिसो र मलिलो रहेको छ । कफी उत्पादनले अन्तराष्ट्रिय स्तर सम्म आफ्नो पहिचान बनाउन सफल गुल्मी छिमेकी जिल्लाहरुका लागि सुन्तला उत्पादनको जिल्लाका रुपमा पनि परिचीत हुँदै आएको छ । नेपाल एकिकरण पुर्व पाल्पाली राज परिवार र राजधानीका राणा खानदान सम्म गुल्मीको सुन्तला कोशेली लगि दिने चलन थियो भन्छन् बुढापाकाहरु । यसरी परम्पारा देखि सुन्तला उत्पादन र बिक्रि वितराण भए पनि सिधै कृषकहरुले मुनाफा लिने गरी बजार ब्यबस्थापन भने हुन सकेको छैन् । ठेक्का लिने मान्छेहरुले शहरमा बसेर पैसा कमाउने उता सुन्तला कृषक भने मर्कामा पर्ने गरेको गुनासो सुनिएको छ ।

चार महिनामै लक्ष्यभन्दा चौध करोड बढी राजस्व सङ्कलन

Published on: //
काठमाडौँ, मङ्सिर २२। चालु आर्थिक वर्षको पहिलो चौमासिक (कात्तिक मसान्त) सम्ममा लक्ष्यभन्दा बढी रु १४ करोड राजस्व सङ्कलन भएको छ।
अर्थ मन्त्रालयले पहिलो चौमासिकसम्ममा रु ९४ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९४ अर्ब ३२ करोड सङ्कलन भएको छ। गत आ.व.को सोही अवधिमा रु ७८ अर्ब ३ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो।
अर्थ सचिव शान्तराज सुवेदीको अध्यक्षतामा आज अर्थ मन्त्रालयमा भएको चौमासिक समीक्षा बैठकमा राजस्व महाशाखाले प्रस्तुत गरेको प्रगति विवरणअनुसार भन्सार महसुल रु २० अर्ब २ करोड ६० लाख, मूल्य अभिवृद्धि कर रु ३१ अर्ब ३९ करोड ८६ लाख, अन्तःशुल्क रु १४ अर्ब र आयकर रु १२ अर्ब ७० करोड १४ लाख सङ्कलन भएको छ। त्यसैगरी, गैरकर राजस्वतर्फ कात्तिक महिनासम्ममा रु ११ अर्ब १८ करोड ३७ लाख सङ्कलन भई गत वर्षको तुलनामा ४७.३३ प्रतिशतले बढेको जनाइएको छ।

बागलुङमा यसपटक सुन्तला उत्पादनमा वृद्धि हुने

कविता घर्ती मगर
बाग्लुङ जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा पाँच प्रतिशतले वृद्धि हुने भएको छ । अनुकुल मौसम र रोगको आक्रमण नभएकाले सुन्तला उत्पादन बढ््ने देखिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
जिल्लामा कारीब ५ सय ७४ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला रोपिएको र त्यसमध्ये ३ सय ३२ हेक्टर क्षेत्रफलमा खेतीबाट सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत भरत बहादुर खड््काले बताए । सुन्तलाका लागि मौसम अनुकुल हुनुका साथै यस वर्ष बगैंचा व्यवस्थापन गरिएका कारण जिल्लामा सुन्तला उत्पादनमा दसदेखि पन्ध्र प्रतिशतले बृद्धि हुने खड््काले बताए । कृषिले यसवर्ष २ हजार ५ सय ४२ मेक्ट्रिक टन सुन्तला उत्पादन गर्ने लक्ष्य लिएको छ ।
गतवर्ष २ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष ५–१० प्रतिश बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए । बागलुङको बिँहु, भकुण्डे, रेश, तित्याङ, दमेक, पैँयुथाप, धम्जा, सिसाखानी, नरेठाँटी, हटिया, मालिका रिघा, लेखानी लगायतका गाविसलाई सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । यो समय सुन्तला टिप्ने, बिक्री गर्ने र भण्डारणको समय भएकाले फल टिप्दा विशेष ध्यान दिन समेत जिल्ला कृषि बिकास कार्यालयले आग्रह गरेको छ । पाकेको फल टिप्दा कैँची प्रयोग गर्न र हाँगा नभाँचिने गरी भ¥याङको प्रयोग गरेर टिप्न कार्यालयले किसानलाई आग्रह गरेको छ । सुन्तला पाक्ने समय भएपनि जिल्लामा यसवर्ष कति संख्यामा सुन्तला फल्यो भन्ने पुषको पहिलो साताभित्र एकिन तथ्याङ्क उपलब्ध हुने जनाइएको छ ।

सामसङले एप्पललाई २९ अर्ब तिर्नुपर्ने

Published on: //
एप्पलको आइफोनका विशेषता चोरी गरेको अभियोगमा सामसङले २९ करोड डलर (करिब २९ अर्ब रुपैयाँ) जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ ।
कपिराइट चोरी गरेर सामसङले एप्पलको करिब १ अर्ब डलर बराबरको कारोबारमा नोक्सानी ठहर गर्दै सिलिकन भ्यालीको जुरीले अदालतले यस्तो फैसला सुनाएको हो ।
तर अमेरिकी जिल्ला अदालतका एक न्यायाधीश लक्की कोहले जुरीले गलत गणना गरेको भन्दै पुनः गणना गर्न आदेश दिएका छन् । सामसङले पनि अपिल गर्ने अपेक्षा गरिएको छ ।
यता, एप्पले भने आफ्नो अमूल्य आविष्कार चोरी भएकामा खेद व्यक्त गरेको छ । 'हाम्रो लामो समयको अनुसन्धान र प्रयासपछि यो उत्पादन बाहिर ल्याएका छौं,' एप्पलले भनेको छ, 'यसको मूल्य नै निर्धारण गर्न कठिन छ ।'
जुरीले एप्पल स्मार्टफोनको अत्याधुनिक २६ उपकरणमध्ये १३ वटा चोरी गरेको ठहर गरेको छ । एप्पलको परेको ५५ करोड डलरमध्ये करिब २९ करोडको कपी गरेको जुरीको ठहर हो ।
- एजेन्सी

रिडीको सेयर बाँडफाँड

Published on: // ,
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी तथा पाल्पा जिल्लाका बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।

त्यस क्षेत्रका लागि निष्कासन गरिएको ३ लाख साधारण सेयर प्रत्यक्ष प्रभावित रुरु, दिगाम, सिद्धेश्वर, खेहा र अर्गलीका बासिन्दालाई ४० प्रतिशत र तानसेन नगरपालिकालगायत अरू १ सय २९ गाविसलाई ६० प्रतिशत बाँडिएको कम्पनीले जनाएको छ । सेयर बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी १८ करोड ३० लाख पुगेको छ ।

निकट भविष्यमा सर्वसाधारणहरूको लागि ११ लाख ७० हजार कित्ता सेयर निष्कासन गरिने जनाइएको छ । कम्पनीले २०६६ कात्तिक १० गतेबाट व्यावसायिक उत्पादन गरी रिडीखोला आयोजनाबाट राष्ट्रिय गि्रड प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ । सर्वसाधारणबाट प्राप्त रकम कम्पनीले नयाँ निर्माण गर्ने पाँचथरमा अवस्थित ९.९ मेगावाट क्षमताको इवाखोला आयोजना निर्माण गर्न खर्च गर्ने जनाएको छ ।

बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँ पुग्यो

Published on: //
काठमाडौं, कात्तिक २५ गते । राजधानीमा बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँ पुगेको छ । तीन साताअघि ३ सय ४० रुपैयाँ खुद्रा कारोबार भएको मासु त्यसयता निरन्तर बढ्दै आइतबार प्रतिकिलो ४ सय रुपैयाँमा उक्लिएको छ । माग अनुसार आपूर्ति हुन नसक्ने भएकाले मूल्य थप बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

बजारको मागभन्दा ४० प्रतिशत कम आफूर्ति भएपछि अत्यधिक मूल्य बढेको हो । ‘काठमाण्डौंमा दैनिक साढे २ लाखदेखि ३ लाख किलो मासुको माग छ,’ नेपाल कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी भन्छन्, ‘आपूर्ति भने साढे १ देखि २ लाख किलोमात्र भइरहेको छ, यही कारणले मूल्य अकासिएको हो,’सरकारले अव्यवस्थित रुपमा साउनमा १५ लाखभन्दा बढी कुखुरा मारेकोले बजारमा आपूर्ति घट्दा मूल्य बढेको उनको तर्फ छ ।

अन्डा प्रतिक्रेट १५ रुपैयाँ महँगियो

उत्पादनमा वृद्धि हुन नसकेपछि कुखुराको अन्डा पनि प्रतिक्रेट १५ रुपैयाँले महँगिएको छ । अन्डाको उत्पादन लागत बढे पनि लेयर्स कुखुराको संख्या बढ्न नसक्दा मूल्यवृद्धि भएको नेपाल अन्डा उत्पादक संघले जनाएको छ । यसअघि २ सय ४५ रुपैयाँ प्रतिक्रेट रहेकोमा आइतबारदेखि अन्डा प्रतिक्रेटको मूल्य २ सय ६० भएको छ ।

-कारोबार दैनिक

रुद्रावेणीमा केरा खेती फस्टाउँदै, किसानहरु दंग

खेतभरी केरा खेती गरेका रुद्रावेणीका किसानहरु अहिले खुसीले दङ्ग परेका छन् । धान फलाउने खेतमा केराका विरुवा लगाएर स्याहा–सुसार गरेका किसानहरु दुईबर्ष सम्म खेतवारीले कुनै आम्दानी नभएपनि अहिले खेतभरी लगाएको केरा पसाएपछि खुसीले दङ्ग भएका हुन् । गुल्मी उद्योग वाणिज्य संघले यहाँको रुद्रावेणी र हस्तिचौरमा जिल्लालाई नै केरामय बनाउने उदेश्य सहित किसानहरुलाई आफ्नै लगानीमा केराखेतीमा आकर्षित गरेको छ ।

रुद्रावेणीको २० रोपनी खेतमा ३ हजार केराको विरुवा रोपेर केराखेतीमा लागेका किसानहरुले पहिलो बर्षनै धानको तुलनामा केराको उत्पादन चार गुणा बढी हुने अपेक्षा लिएका छन् । यहाँका किसान हिम कुँवरको नेतृत्वमा १४ जना किसानहरु ब्यवसायीक केरा खेतीमा लागेका छन् । ‘३ हजार विरुवा रोपेकोमा अहिले ५० प्रतिशत भन्दा वढी केरोको वोट पसाएको छ, एउटै केराको हातमा १८ देखि २२ वटा सम्म केरा फलेका छन्’ रुद्रावेणीका अगुवा किसान कुँवरले भने ‘कात्तिकमा सवै केरा पसाउँदा १५ टनको हाराहारीमा केरा उत्पादन हुन्छ, यसवाट हामीलाई धान खेतीमा भन्दा ४ गुणा वढी फाईदा हुन्छ ।’
किसानहरुले जिल्लामा उत्पादन भएको केरा जिल्लामै खपत हुने बताएका छन् । किसानहरुका अनुसार फागुन महिनाबाट फेरी दोस्रो सिजनको केरा पसाउन सुरु हुन्छ । साथै केराघारीमा अहिले उत्पादन भएको केराको विरुवा पनि सुपथ मुल्यमा उपलब्ध गराईने रुद्रावेणीका किसान विजेन्द्र श्रेष्ठले बताए । समूहमा आउने कृषकहरुलाई अझ वढी छुट गर्ने किसानहरुले जनाएका छन् ।

दुई वर्ष अगाडि गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा जापानीज केराको विरुवा उपलब्ध गराएर किसानहरुलाई केरा खेतीमा प्रेरित गरेको थियो । साथै जिल्ला कृषि विकास कार्यालय गुल्मीको प्राविधक सहयोगमाा केरा खेती सुरु भएको हो । आफूहरुको जिल्लालाई केरा खेतीको जिल्लाको रुपमा चिनाउने लक्ष्य अनुसार केराखेती अभियान सुरु गरिएको बाणिज्यसंघका महासचिव कृष्ण पोख्रेलले बताए ।
‘हामी अहिले निकै खुसी भएका छौँ हस्तिचौरको तुलनामा रुद्रावेणीको केराखेती धेरै गुणा राम्रो भएको छ’ उनले भने ‘५ हजार जापानीज केराका वोट मध्ये ३ हजार रुद्रावेणीमा रोपेका हौँ, अहिले थुप्रै विरुवा पनि उत्पादन भएको छ ।’ साथै उनले केरा खेतीको लागी वाणीज्यसंघले सहयोग गरेको भएपनि त्यसवाट आउने फाईदा किसानहरुलेनै लिने बताए । जिल्ला कृषि विकास कार्यालयले पनि रुद्रावेणीको केरा खेती अत्यन्तै राम्रो भएको जनाएको छ ।

रुद्रावेणि संगै हस्तिचौरमा लगाईएको केरा खेती भने खासै फस्टाउन सकेको छैन् । तर अर्को बर्ष देखि हस्तिचौरको केराले पनि जिल्लाको वजार आगट्ने यहाँका अगुवा टिका रेश्मीले बताए । ‘सुरुमा केराका वोटहरु मरे, अहिले विस्तारै पसाउन थालेका छन् कृषि विकास कार्यालयमा पनि केरामा लागेको रोग नियन्त्रणको लागी अनुरोध गरेका छौँ’, रेश्मीले भने । हस्तिचौरको छल्दि टारमा पनि झण्डै ३५ रोपनी जग्गामा १४ जना कृषकहरुले केरा खेती गरेका छन् । -नेपाल समाचार पत्रबाट

आम हडताल निजी क्षेत्रले तोड्छ : वैद्य

Published on: // ,
बनेपा, कार्तिक २३ - नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आम हडताल फिर्ता नभए तोड्ने चेतावनी दिएका छन् ।
आज बनेपामा उद्योग वाणिज्य सङ्घ काभ्रेले आयोजना गरेको २३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले भने,'हामी बन्दको विपक्षमा छौ । बन्द भए निजी क्षेत्रले त्यसलाई तोड्छ ।'
उनले बन्दको विपक्षमा माओवादी अध्यक्ष वैद्यसँग कुरा गरेको समेत जानकारी दिए । वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको निर्वाचनलाई लक्षित गरेर आगामी २५ गतेदेखि आम हडतालको घोषणा गरेको छ ।
अध्यक्ष वैद्यले दलहरुको घोषणापत्रमा निजी क्षेत्रको भावनाको कदर भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रले न्यूनतम आर्थिक एजेन्डामा पाँचै क्षेत्रको विकासलाई समेट्ने कोसिस गरेको बताए ।
उनले खासगरी कृषि, पर्यटन, जलविद्युत् र नेपालमा खानी अध्ययनको सम्भाव्यतालाई मूल रुपमा उठाइएको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजस्व छल्ने परिस्थिति सरकारले नै निर्माण गरेको आरोप लगाउँदै जोरजबर्जस्तीमा राजस्व तिर्न नसक्ने बताए ।
उनले काभ्रेमा रहेको आइटी पार्क र पोलिटेक्निकल इन्स्टिच्युट सञ्चालनका लागि निजी क्षेत्रलाई हस्तान्तरण गर्न सरकारलाई अनुरोध गरेको तर सरकारले निर्णय गर्न नसकेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहन सुनारले सरकारले अनुगमनका नाममा आतङ्क मच्चाएको आरोप लगाए । -रासस

बजारमा तिहारको चहलपहल वढ्दो, भारतीय प्लास्टिकका मालाको व्यापारमा बृद्धि

Published on: // , ,
पि.एम.मगर
गुल्मी, कार्तिक १६ । नेपालीहरुको महानचाड दिपावली नजिकिदै गर्दा गाउँघरमा चहलपहल बढेको छ । महान चाड बिजया दशमीको बिदाईसँगै तिहारको चहलपहल र बजारमा किनमेलका लागि उपभोक्ताको भिड बढेको छ ।
दाजुभाई दिदीबहिनीको सुमधुर सम्बन्धसँग गाँसिएको यो पर्बमा दिदी बाहिनी दाजु भाईको टिका र उपहारसँग जोडिएको छ । अहिले बजारमा भारतका बिभिन्न स्थानबाट आएका कृत्रिम बनि बनावटका माला भित्रिएको व्यापारीहरुले बताएका छन् । पहिले पहिले तिहारमा दिपावलीका लागि माटो र पित्तलको दियोको प्रयोग भएकोमा पछिल्लो समयमा मैन बत्तीको बिकाससँगै माटो र पित्तल बजारमा पाइएपनि पुर्ण प्रयोग भएको छैन । तिहारको लक्ष्मी पुजादेखि भाइ टिकाको दिनसम्म घरघरमा साँझपख दिपावलीमा प्रयोग गरिन्थ्यो । बजार क्षेत्रमा माटो र पित्तलको भाडा प्रयोग भएपनि गाउँघरमा पाइने चिउरी र सालको पातबाट बन्ने दियो पनि लगभग हराइसकेको छ । बजारमा पात नपाइने समस्याले होला तर गाउँघरमा पनि बजारमा आएका मैनबत्तीको प्रयोगले गर्दा बरु पात भैसीलाई दिइन्छ तर त्यही पातबाट बन्ने दियो प्रयोग गरिन्न । बजारमा पाइने भाँडा तथा मैनबत्ती जलाउन नपर्ने हुँदा परम्परागत सांस्कृतिक महत्व लोप हुने अबस्थामा पुगेको स्थानीय वुद्धिजीविहरुको भनाई छ ।
तिहार पर्बमा नयां कपडा सहित तिहारका लागि चाहने सामान खरिद गर्न सर्बसाधारणहरुको बिभिन्न पसलहरुमा घुईचो लागेको छ । सदरमुकाम तमघास लगायत जिल्लाका अधिकाशं मुख्य वजार क्षेत्रहरुमा तिहार पर्बको निकै चहल पहल बढेको हो । अझ सदरमुकाम तमघास क्ष्ँेत्रमा विभिन्न कपडा पसल र तिहारको समान खरिद गर्नेहरुको ब्यापारीक पसलहरुमा भिड लागेको छ । यस्तै अर्घाखांची, वाग्लुङ्ग, प्यूठान, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, स्याङ्गजा लगायत विभिन्न जिल्लाका सहरी केन्द्रहरुमा पनि तिहारका लागि सामान किन्नेहरुको भिड लागेको व्यापारी तथा स्थानीयको भनाई छ । तिहारमा विशेष गरी कृतिम माला तथा टिका वढी विक्री भएको व्यापारीहरुको भनाई छ ।
तिहारमा मखमली, सयपत्री र गुर्द्धौली फुलले बजार ढपक्कै ढाकिने बेला भारतीय प्लाष्टिकको मालाले बजार सजिएको छ । गुल्मीको सदरमुकाम तमघास लगायतका विभिन्न बजार क्षेत्रहरु लगायत  पाल्पाको तानसेन, रामपुर, आर्यभञ्याङ्ग, गोठादी, अर्घाखाँचीको सन्धीखर्क, प्यूठानको खलंगा, वाग्लुङ्ग लगायत ग्रामिण क्षेत्रका व्यापारिक केन्द्रहरुमा तिहारमा दिदीभाईले लगाउने मखमली नभै
रगीबिरङ्गी प्लाष्टिकका फुल पसल अगाडी आर्कषक रुपमा झुण्याइएको छ । मखमली, सयपत्री र गुर्द्धौली लगायतका फुलको व्यबसायिक खेती नगरिने र यसको खेती गरेर पनि बेच्ने चलन नहुँदा भारतीय प्लाष्टिकको मालाले बजार पाएको हुन सक्ने व्यापारीहरुको भनाई छ ।
जिल्लामा सरदर भारतीय यस्ता मालाको पछिल्ला केही बर्ष यता लाखौको बिक्री भएको छ । गाउँ गाउँमा राम्रै गरी सयपत्री र मखमली फुले पनि पछिल्लो समय हेर्दा लोभ लाग्ने खालका प्लाष्टिकका माला बजारमा देखेपछि गाउँका दिदीबहिनी पनि बजारिया फुलप्रति आर्कषित भएका छन् । तिहार पर्बमा बिशेष गरी दाजुभाईलाई लगाइदिने ढाका टोपीको चलन पनि कम हुँदै गएको छ । तिहारका लागि आबश्यक टोपी, रुमाल, माला, सप्तरङ्गी टिका, ओख्खर, नयाँ कपडा र अन्य सामाग्री समेत पाइने हुनाले केही दिन यता बजारमा सर्वसाधारणको आगमन बढेको छ भने व्यापारमा समेत बृद्धि भएको छ ।

शाइन रेसुङ्गाले २० प्रतिशत बोनश शेयर दिने

पि.एम.मगर
गुल्मी, कार्तिक १४ । शाईन रेसुंगा डेभलपमेण्ट बैक लिमिटेडको पाँचौ वार्षिक साधारणसभा आज सदरमुकाम तमघासमा सम्पन्न भएको छ । गुल्मी उद्योग वाणिज्य संघको कार्यालयमा सम्पन्न साधारण सभाले सर्बसम्मतिमा बैंकको नयाँ सञ्चालक समितिको गठन गरेको छ ।
समितिको अध्यक्षमा थानेश्वर पौडेल चयन हुनुभएको छ । संस्थापक सेयर धनीकातर्फबाट सञ्चालकहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, भुवन भण्डारी, दिलिप मास्के चयन हुनुभएको छ भने सर्बसाधारण शेयरधनीका तर्फबाट सञ्चालक मोहन चाँपागाई, डिल्लीराज भुसाल र ताराप्रसाद पाण्डे चयन हुनुभएको छ । साधारण सभामा बैंकले आर्थिक वर्ष २०६९-७० को खुद नाफा ८ करोड ७० लाख ७५ हजार ९ सय ३१ रुपैयाँ ७५ पैसा मध्ये ६ करोड ३९ लाख ७२ हजार ८ सय रुपैयाँ बराबरको २० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
साधारण सभाले बोनस सेयर वितरण गरे पश्चात समय हुने चुक्ता पुँजीको २ सेयर बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर जारी गरी बैंकको कुल चुक्ता पुँजी ५७ करोड, ५७ लाख ५४ हजार ६ सय रुपैयाँ पु¥याउने निर्णय गरेको छ । बैंकको हालको चुक्ता पुँजी ३१ करोड, ९८ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको छ । उक्त चुक्ता पुँजी पुरा भएपछि लुम्बिनी अञ्चल भित्र प्रधान कार्यालय रहेका विकास बैंकहरु मध्ये सबै भन्दा बढी चुक्ता पुँजी भएको विकास बैंकमा साईन रेसुङ्गा डेभलपमेण्ट बैंक हुने छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले गर्नुभएको थियो ।
साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ नेतृत्व । 

गुल्मीमा २१ दिनमै ६० करोड बढी रेमिट्यान्स भित्रियो, दैनिक करोड बढी भित्रिने क्रम जारी

प्रेम सुनार
असौज २३, गुल्मी । दशैँ नजिकिँदै गर्दा यहाँस्थित वित्तिय संस्थाहरुमार्फत गत एक महिनाको अन्तरालमा गुल्मी जिल्लामा ६० करोड भन्दा बढि रेमिट्यान्स भित्रिएको छ ।
असौज महिनाको १ गतेदेखि २१ गते सम्म विभिन्न बैंक एवं रेमिट्यान्स कारोबार गर्ने संस्थाहरुले दिएको विवरण अनुसार २१ दिनको अन्तरालमा ६३ करोड ५२ लाख २० हजार २ सय ६३ रुपैयाँ रेमिट्यान्स गुल्मीमा भित्रिएको छ । गत दशैंको एक महिनाको तुलनामा यसपाली दशैंको एक महिनामा भित्रिएको रेमिट्यान्स बृद्धि झण्डै दश करोडले बढि हो । गत वर्ष दशैंको एक महिने अवधीमा करिव ५१ करोड भित्रिएको थियो ।
जिल्लाको सवैभन्दा ठुलो वित्तिय संस्था साईन रेसुङ्गा विकास बैंकमा मात्रै २१ दिनको अन्तरालमा झण्डै ३० करोड रेमिटयान्स भित्रिएको गुल्मी शाखा प्रमुख लालमणी पन्थीले बताए । प्रबन्धक पन्थीले दिएको जानकारी अनुसार असौज २१ गते सम्म २९ करोड ३५ लाख रेमिट्यान्स भित्रिएको छ । त्यस बैंकमा मात्रै सरदर दैनिक एक करोड रेमिटयान्स भित्रिएको प्राप्त विवरणले देखाएको छ । आईवतार एकै दिनमा एक करोड भित्रिएको र सोमबार, मंगलवार र वुधवार पनि त्यसैको हाराहारीमा रेमिट्यान्स भित्रिएको प्रबन्धक पन्थीले बताए । उनका अनुसार यस दशै तिहारको एक महिने अन्तरालमा साईन रेसुङ्गा बैंकका गुल्मी स्थित विभिन्न शाखा गरी करिव ३५ करोड रेमिटयान्स भित्रिने छ ।
त्यस्तै दोश्रो ठुलो वित्तिय संस्था गुल्मी वकास बैंकबाट गत वर्ष मात्रै मर्ज भएर ग्लोवल आईएमई बैंक बनेको गुल्मी शाखामार्फत १६ लाख रेमिटेयान्स भित्रिएको शाखा प्रबन्धक चिरञ्जीवि शर्माले जानकारी दिए । त्यस्तै तम्घासको पुरानो रेमिट्यान्स कारोवार गर्ने संस्था सेन्च्युरे मनी ट्रान्सफर सेन्टरमा २१ दिनको अवधीमा ९ करोड रेमिट्यान्स भित्रिएको संञ्चलक तेजेन्द्रकुमार श्रेष्ठले बताए ।
त्यस्तै बैंक अफ काठमाण्डौ तम्घास शाखामा १ करोड ६५ लाख ६५ हजार ७ सय ४४ रुपैयाँ भित्रिएको शाखा प्रबन्धक विमल श्रेष्ठले बताए । हिमाल रेमिट्स तम्घासमा २ करोड २६ लाख ५९ हजार २ सय २८ रुपैयाँ भित्रिएको प्रबन्धक एमकला पाण्डेले जानकारी गराई । भृकुटी विकास बैंक २ करोड १६ लाख ३ सय ८१ भित्रिएको शाखा प्रबन्धक भुवान पाण्डेले बताए । एसबिआई बैंक करिव १ करोड भित्रिएको शाखा प्रमुख सुदिप खड्काले बताए । काष्ठमण्डप डेप्लोपमेण्ड बैंक रिडी शाखामा ३ करोड ७५ लाख भित्रिएको शाखा प्रबन्धक सन्तोष रायमाझीले जानकारी दिए । फेवा फाइनन्समा ८० लाख भित्रिएको प्रबन्धक सुरेश बस्नेतले बताए । त्यस्तै राष्ट्रिय वाणिज्य बैँक गुल्मी शाखामा मात्रै चालु महिनामा जम्मा १० लाख मात्रै रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ ।
मासिक झण्डै ३० करोड रेमिट्यान्स भित्राउने साईन रेसुङ्गा बैंकको तम्घास शाखामा मात्रै दैनिक सरदर ४० लाख रेमिट्यान्स भित्रिने गरेको बैंकबाट प्राप्त विवरणले देखाएको छ ।
प्रबन्धक पन्थीले दिएको विवरण अनुसार सो बैंकको तम्घास शाखाबाट मात्रै २१ दिनको अवधीमा ९ करोड १६ लाख रेमिटेयान्स भित्रिएको छ । त्यो शाखामा गत भाद्र महिनामा १० करोड भन्दा बढि रेमिट्यान्स भित्रिएको थियो । त्यस शाखामा गत आईतबार एकै दिनमा झण्डै एक करोड भित्रिएको र त्यो क्रम दशै विदा नलाग्ने बेला सम्म जारी रहने पन्थीले बताए । उनका अनुसार २१ गते सम्म सो बैंकको मजुवा शाखाबाट ३ करोड ५० लाख रुपैयाँ भित्रिएको छ । शो शाखाले सरदर दैनिक १४ लाख रेमिटयान्स भित्राउने गरेको छ । त्यस्तै खैरेनी शाखामा २१ दिनको अवधीमा २ करोड ५६ लाख , उसले सरदर दैनिक १३ लाख रेमिट्यान्स भित्राउने गरेको छ । वामी टक्सार शाखाबाट ३ करोड ५७ लाख , सरदर दैनिक १९ लाख रेमिट्यान्स उसले भित्राउने गरेको छ । शान्तिपुर शाखामा ३ करोड ५१ लाख , सरदर दैनिक उसले १९ लाख भित्राउने गरेको छ । , सिमलटारी शाखामा २ करोड ८० लाख , सरदर दैनिक यसले ७ लाख भित्राउने गरेको छ । वलेटक्सार शाखाबाट ५ करोड २५ लाख , सरदर दैनिक उसले २२ लाख रेमिट्यान्स भित्राउने गरेको छ ।
त्यस्तै २१ महिनाको अवधीमा १६ लाख रेमिट्यान्स् भित्राएको ग्लोवल आईएमई बैंक तम्घास शाखाबाट साढे ९ लाख, वामी टक्सार शाखा र मजुवा शाखाबाट साढे ३ लाख सहित कुल १६ लाख भित्रिएको त्यस बैंकका कर्जा अधिकृत योगेन्द्र रायमाझीले जानकारी गराए । उल्लेखित वित्तिय संस्थाहरुको विवरणले गुल्मीमा सरदर दैनिक २ करोड बढि रेमिट्यान्स भित्रिने गरेको छ । यसबाट ७९ गाविस रहेको यस जिल्लामा प्रति गाविस प्रति दिन करिव पौने तिन लाख रेमिट्यान्स भित्रिने छ । यसरी प्रति गाविस एक महिनामा २० लाख भन्दा बढि रकम भित्रिने गरेको छ । यसको तुलना गर्दा सरकारले एक गाविसका लागि वार्षिक विनियोजन गर्ने रकम बैदेशिक रोजगारले एक महिनामै भित्राउने गरेको छ ।
रेमिट्यान्स रकम जिल्लाका वित्तिय संस्थाका अलावा, अन्य जिल्ला र हस्ते सहित करिव २५ प्रतिशत अरु थप हुने अर्थविज्ञहरुको अनुमान छ । यति ठुलो रकम बैदेशिक रोजगारबाट भित्रिए पनि त्यसको उचित सदुपयोग हुन सकेको छैन । अधिकांस रकम श्रीमति छोरा छोरीलाई शहरमा डेरा गरेर राख्ने, एउटै परिवारमा १० वटा सम्म मोवाईल, त्यसको दैनिक रिर्चाज कार्ड पुराउने, जाँड रक्सी, खसी बोका र लवाई खावाईमै बढि खर्च हुने भएकोले त्यस्तो फजुल खर्चका विरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न सके राज्यले होईन बैदेशिक रोजगारले यो जिल्लाको विकासमा कायापलट हुने बुद्धिजुविहरुको धारणा छ ।  जिल्लामा वेरोजगारहरुलाई स्वदेशमै स्वरोजगार बनाउनका लागि बैदेशिक रोजगारमा जानेहरुले प्रति ब्याक्ति मासिक ५ सय रुपैयाँका दरले कुनै वित्तिय संस्थामा जम्मा गरी दिन सके मात्र पनि राज्यको मुख ताक्न नपर्ने र सवैले रोजगार पाउने देखिन्छ ।

दशैँ नजिकिँदै गर्दा वामीमा रहेका वित्तिय सँस्थाहरुमा बैंकिङ कारोबारमा दोब्बरले वृद्धि

Published on: // ,
कौरव खत्री
गुल्मी, असौज २२ ।  हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा वामीमा रहेका वित्तिय सस्थांहरुमा बैंकिङ कारोबारमा दोब्बरले वृद्धि भएको छ ।
वामीमा रहेका ३ वटा वित्तिय सँस्थाहरुले अन्य समयमा भन्दा दशैँको मुखमा कारोबारमा वृद्धि भएको बताएका छन् । अन्य समयमा सामान्य रुपमा भित्रने गरेको रेमिट्यान्स पनि वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको आगमनसगैं दोब्बरले वृद्धि आएको ग्लोबल आई.एम.ई  बैंक वामी शाखाका प्रबन्धक अम्बु बहादुर रायमाझीले जानकारी दिनुभयो ।
त्यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर वामी शाखाका प्रबन्धक कृष्ण सिग्देलका अनुसार विदेशबाट भित्रने गरेको रेमिट्यान्स मात्र नभएर बैंकमा जम्मा गरेको रकम लिन आउने ग्राहकहरुको भिड लाग्ने गरेको छ जसले गर्दा दैनिक कारोबारमा ह्वात्तै वृद्धि भएको छ ।
बैंकहरुले दशैँमा खुल्ला नोटको अभाव हुन नदिनको लागि बुधबारबाट नोट सटहकीको व्यवस्था गर्ने बताएका छन् तर आफुहरुसँग साना नोटको अभाव रहेको रहेपनि उपलब्ध नोट सन्तुलित रुपमा वितरण गर्न पहल गर्ने बताएका छन् ।

रिडी हाइड्रोको सेयर बिक्री सुरु

Published on: //
काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सेयर बिक्री सुरु गरेको छ। कम्पनीको जारी पुँजीमध्ये ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने व्यवस्था भएकामा पहिलो चरणमा शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका लागि सेयर बिक्री खुला गरिएको हो।
कम्पनीको कूल जारी पुँजी ३० करोडमध्ये १४ करोड ७० लाख बराबरको सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ। प्रभावित परिवारलाई जारी पुँजीको १० प्रतिशत सेयर खुला गर्नुपर्ने व्यवस्था भएअनुसार गुल्मी तथा पाल्पाका लागि खुला गरिएको हो। सेयर बिक्रीका लागि छिटोमा कात्तिक १ र ढिलोमा कात्तिक १८ को मिति तोकिएको कम्पनीले जनाएको छ।
काष्ठमण्डप डेभलपमेण्ट बैंकको रिडी शाखा, पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको बुटवल तथा तम्घास शाखा र साइन रेसुंगा डेभलपमेन्ट बैंकको बुटवल तथा गुल्मीका सम्पूर्ण शाखाबाट सेयर आवेदन गर्न तथा रकम जम्मा गर्न सकिनेछ। कम्पनीले सेयरबाट उठेको रकम इवाखोला आयोजनामा लगानी गर्ने जनाएको छ । -नागरिक न्युज डट कमबाट

क्यासिनो सांग्रीला सधैंका लागि बन्द

काठमाडौं, असोज १३ । सरकारको पछिल्लो नियम र मजदुर ज्याजतीका कारण विदेशी लगानीको क्यासिनो सांग्रीला सधैंका लागि बन्द भएको छ।

क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत करिब ५ सय मजदुर बेरोजगार भएको आजको नागरिक दैनिकमा खबर छ।

राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरू बीचको द्वन्द्वबाट आजित व्यवस्थापनलाई सरकारले जारी गरेको 'क्यासिनो नियमावली २०७०'ले बन्दै गर्न थप बल मिलेको हो। व्यवस्थापनले शनिबार दुईबजेबाट क्यासिनो बन्द गरिएको औपचारिक सूचना टासेर तालाबन्द गरेको हो।'मजदुरको ज्याजती त छँदै थियो, त्यसमाथि सरकारको नयाँ नियमावलीले थप धक्का दियो,' क्यासिनो व्यवस्थापन स्रोतले भन्यो,'बाध्य भएर बन्द गरेका हौ।'

लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रीलाको परिसरमा रहेको उक्त क्यासिनो मेलेसियाली कम्पनी गोल्ड सोर क्यापिटलको सतप्रतिशत करिब ७० करोड रूपैयाँ लगानी थियो। सात वर्षदेखि सञ्चालीत क्यासिनोमा ४ सय ३८ जना कर्मचरी रहेका छन् ।

केन्द्रबाट गुल्मीमा १ अर्व विकास बजेट

Published on: // ,
गुल्मी १०, असोज । सरकारले यसवर्ष गुल्मी जिल्लाको लागि १ सय २ करोड बढी बजेट दिएको छ । आर्थिक वर्ष २०७०÷०७१ को लागि जिल्लामा सञ्चालन गर्ने विकास कार्यक्रमको लागि सरकारले १ अरव २ करोड ७३ लाख ६३ हजार ७ सय ६० रुपैयाँ बजेट विनीयोजन गरेको हो ।

विनीयोजन गरीएको बजेट जिल्लागत बजेटको १ दशमलव २६ प्रतिशत रहेको र प्रतिव्यक्ति ३ हजार ६ सय ६७ रुपैयाँ रहेको राष्ट्रि«य योजना आयोगका सदस्य सचिव यूवराज भुसालले बताए । ‘एभ्रेजमा मुलकुको औषध ३ हजार ७६ औ प्रतिव्यक्ति खर्च जिल्लाको ’– उनले भने –‘गुल्मीको सन्दर्भमा ३ हजार ६ सय ६७ छ, यो प्रतिव्यक्ति औषत भन्दा अलि माथी छ । यो राम्रै हो जिल्लाको सन्दर्भमा । ’ २०६८ को जनगणना अनुसार गुल्मी जिल्लाको जनसंख्या २ लाख ८० हजार १ सय ६० रहेको छ ।

सरकारले आर्थिक वर्ष २०७०÷०७१ को लागि प्रस्तुत गरेको बजेटअनुसार गुल्मी जिल्लाको लागि सबैभन्दा धेरै रकम सडकको लागि विनीयोजन गरीएको छ । केन्द्रबाट जिल्लाका विकासका योजनामा विनीयोजन भएको कूल बजेट मध्ये जिल्लाका ठूला सडक र पुलको लागि ९ करोड ३१ लाख रुपैयाँ विनीयोजन भएको छ । त्यसबाहेक २ जिल्ला जोड्ने सडकको लागि १ करोड ७६ लाख ८७ हजार, जिविस मार्फत स्थानिय यातायात पुर्वाधार अन्तर्गत १ करोड ५० लाख र स्थानिय स्तरका सडकपुल अन्तर्गत १ करोड ८० लाख छुट्टीएको छ । यसबाहेक तम्घास – सिमलटारी– प्यूठान सडकको स्तरोन्नतीको लागि १ करोड विनीयोजन भएको छ । यी लगायतका सडक पूलको लागि कूल १५ करोड ३७ लाख ८७ हजार रुपैयाँ रकम विनीयोजन भएको राष्टिय योजना आयोगले जनाएको छ ।

जिल्लामा सबै गाविसमा सडक पुगीसकेकोले मुख्य सडकको स्तरोन्नती गर्न र पुलहरुका लागि यसपटकको बजेट बढेको हो । जसमध्ये १२ वटा पक्की पुल बन्ने भएका छन् भने एउटा धार्मिक क्षेत्र रुरुमा आवतजावत गर्ने पुल बन्ने भएको छ । पुलको लागि मात्रै ६ करोड ४५ लाख रुपैयाँ रकम विनीयोजन भएको छ । यी पुलहरु सम्पन्न भएपछि जिल्लाका हरेक निर्वाचन क्षेत्रको मूख्य सडकहरुमा वर्षातको समयमा पनि सवारी साधन चल्न सक्ने छन् । ‘बजेट त अरु क्षेत्रमा पनि राम्रै छ तर यसपटक बाटोघाटोमा गुल्मी जिल्लाले धेरै महत्व पाएको छ । ’ – योजना आयोगका सचिव भुसालले भने – ‘बाटोले आवतजावतमा सहज पुर्याउने र उत्पादन भएको बस्तु बाहिर पढाउन तथा ढुवानी गर्नको लागी बाटोघाटोमा जोड दिएको देखिन्छ । ’

यसबाहेक कृषि, ग्रामिण विद्युतिकरण, सिँचाई र खानेपानी पनि प्राथमिकतामा रहेका छन् । कृषि तथा पशुपालनमा खाद्य तथा कृषि सुरक्षा कार्यक्रम अन्र्तत ७ करोड ८ लाख २५ हजार रुपैयाँ छुट्टिएको छ । यसबाहेक विउ उत्पादन, तथा सिँचाई र नदि नियन्त्रणका लागी पनि तीन करोड भन्दा बढी बजेट विनीयोजन भएको छ । खानेपानी तथा सरसफाईका लागि ४ करोड, बन तथा भू संरक्षण २ करोड २१ लाख, पर्यटन १ करोड २९ लाख, नविकरणिय उर्जामा १ करोड ८३ लाख, ग्रामिण विद्युतिकरणमा ४२ लाख, भवनमा ७५ लाख, पुनरनिर्माणमा १ करोड र खेलकुदमा साढे १६ लाख भन्दा बढी बजेट विनीयोजन भएको छ ।

विकाशका काम बाहेक जनचेतना, शिक्षा, स्वास्थ्य कार्यक्रम अन्तर्गत समावेशीकरण र निक्षेपणमा २५ करोड, शिक्षामा २५ करोड ६४ लाख, स्वास्थ्यमा १४ करोड र लैंगिक समानता १ करोड विनीयोजन भएको राष्टिय योजना आयोगले जनाएको छ । -नेपाल समाचार-पत्र दैनिकबाट 
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग