Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा तीन ठूला दलको इतिहास दोहोर्‍याउने दाउ (चुनाबी बिश्लेशण)

Published on 4:34:00 PM //

विशाल भट्टराई
गुल्मी । २०४८ सालको निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विजयी भएको कांग्रेस आफ्नो पूरानो ईतिहास दोहो¥याउने दाउमा छ । २०५१ र २०५६ सालमा जिल्लाका तीन वटै सिट जितेको एमाले पनि आफ्नो ईतिहासलाई फेरी एक पटक दोहो¥याउने मेलोमा छ । एमाओबादी पनि आफूलाई विगतकै स्थानमा उभ्याउने तयारीमा छ ।
२०६४ सालको निर्वाचनमा जिल्लाका २ सिटमा विजयी भएको माओबादी सकेसम्म तीन सिटनै जित्ने नसके पूराना दुई सिट कायम राख्ने होडमा छ । तर दलहरुले सोँचेजस्तो ईतिहास दोहो¥याउन गाह्रो हुने देखिन्छ । क्षेत्र नम्बर ३ मा एमाओबादीका बामदेव क्षेत्री, कांग्रेसका त्रैलोक्य प्रताप सेन र एमालेका गोकर्णराज विष्ट बरावर प्रतिस्प्रधिको रुपमा अगाडि देखिएका छन् । ‘३ नम्बरमा माओबादी, कांग्रेस र एमालेकै प्रतिस्प्रधा हुने देखिन्छ, हुन त चुनाको बेला प्रभावको कुरा पनि हुन्छ’ विश्लेषक दीन पन्थी भन्छन् ‘१ मा कांग्रेस र माओबादीको प्रतिस्प्रधा देखिन्छ, २ मा कांग्रेस र एमालेको प्रतिस्प्रधा हुने देखिन्छ ।’

आफू पार्टी सभापति हुँदा २०४८ सालमा कांग्रेसलाई जिल्लाका तीन सिटमै विजयी गराएका कांग्रेस नेता सेन त्यस यता जिल्लामा कांग्रेसका प्यार नेता हुन् । सेनले कांग्रेस नेताले राजनीतिक ठगी गर्न नजानेकाले क्षेत्र नम्बर ३ मा आफ्नो जित सुनिनिश्चित भएको दावी गरे । एमाओबादीका बामदेब क्षेत्री गुल्मीकै भएपनि जिल्लाको लागि नयाँ अनुहार हुन् । उनी पहिलो पटक क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । युद्धको समयमा गुल्मी सहित छिमेकी जिल्लाहरुमा काम गरेको र अरु पार्टीसँग राजनीतिक एजेण्डा नै नभएकोले क्षेत्रीले आफ्नो जित हुने दावी गर्छन् । तर २०६४ सालको निर्वाचनमा जित्ने माओबादीका चन्द्रबहादुर थापाले टिकट नपाउनाले माओबादीलाई पनि समस्या हुन सक्ने देखिन्छ ।
उर्जामन्त्री हुदाँ चर्चा कमाएका गोकर्णराज विष्टलाई पनि यसपालीको चुनावमा जित हात पार्न सजिलो छैन । विष्टले एमाले लोकतान्त्रीक प्रणालीलाई आत्मासाथ गर्ने पार्टी भएकोले आफूले नै जित्ने दावी गर्छन् । तर एमालेको तर्फबाट क्षेत्र नम्बर ३ बाटै पूर्व सांसद टंक पोख्रेल एमाओबादीमा प्रवेश गरेपछि एमाले समस्यामा छ । ३ नम्बरमा एमाओबादीका क्षेत्री नयाँ अनुहार हुन भने कांग्रेसका सेन र एमालेका विष्ट चुनाव हारेका नेता हुन् । सेनले ०५६ सालको निर्वाचनमा हारेका थिए भने विष्टले ०६४ सालको निर्वाचनमा झण्डै दुईहजार को अन्तरले एमाओबादीका थापासँग हारेका थिए । तर समग्रमा अरु साना दल भन्दा मुख्य तीन दलकै नेताहरुको गतिलो प्रभाव भएकाले यी तीन नेता विच नै चुनावी लडाई हुने स्थानीयको अनुमान छ ।
क्षेत्र नम्बर २ मा विगतमा जस्तै कांग्रेस र एमालेकै प्रतिस्प्रधा हुने विश्लेषकहरुको अनुमान छ । २०६४ सालको निर्वाचनमा झण्डै २ हजारको मत अन्तरले जित्ने एमालेका प्रदिप ज्ञवाली र प्रत्यासी कांग्रेसका चन्द्र भण्डारी चुनावी मैदानमा छन् । क्षेत्र नम्बर २ मा कांग्रेस आन्तरीक द्वन्द्वको पूरानो रोगी हो । जिल्ला सभापति चन्द्र केसी र उम्मेदवार भण्डारीको आन्तरीक बिबादको कारण ६४ सालमा कांग्रेस पराजीत भएको कांग्रेसका नेताहरु स्वयम स्विकार्छन । तर यतिबेला उनिहरु दिबै संयुक्त प्रचारमा जुटेपछि कांग्रेसलाई केहि राम्रो हुने देखिन्छ । जिल्ला उपसभापति भुवन प्रसाद श्रेष्ठले त्यस्तो कुनैपनि विवाद नभएको बताए । ‘ केसी र भण्डारीले एउटै मञ्चमा भाषण गरेर आफूहरु एक भएको बताउनुभएको छ’ श्रेष्ठले भने ‘यसपाली हामी २ नम्बरमा जित्ने गरि अगाडि बढेका छौँ, कतैपनि खराव सन्देश जाँदैन् ।’ एमालेका ज्ञवालीलाई पनि यसपालीको निर्वाचन जित्न मुस्किलै पर्ने अनुमान गरिएको छ ।
एमाले नेता तथा दलित आन्दोलनका अगुवा गणेश विश्वकर्मा एमाओबादीमा प्रवेश गरेपछि एमालेलाई चुनाव जित्न मुस्किल हुने देखिन्छ । ‘एउटा आन्दोलनको अगुवा अर्को पार्टीमा प्रवेश गर्दा स्वभावत पार्टीलाई क्षती त हुने नै भयो’ एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपाली भन्छन ‘चुनावको लागि उहाँले मत भने यता उता गराउन सक्नुहुन्न । भोटमा कुनैपनि असर छैन ।’ प्रदिप ज्ञवालीले २३ हजार भोट ल्याउँदा ७ हजारमा चित्त बुझाएको माओबादी क्षेत्र नम्बर २ मा तेस्रो शक्ति हो । तर एमाले नेता विश्वकर्माको एमाओबादी प्रवेशले एमाओबादीलाई केहि सहज हुने देखिएको छ ।
मगर समुदायको बाहुल्यता रहेको क्षेत्र नम्बर १ मा एमाओबादी र कांग्रेसको प्रतिस्प्रधा हुने अनुमान गरिएको छ । एमाओबादीका शुदर्शन बराल र कांग्रेसका डा. कृष्ण छन्तेलविच चुनावी प्रतिस्प्रधा हुने विश्लेषकहरुको भनाई छ । बराल ६४ सालको निर्वाचनमा जितेका नेता हुन भने छन्तेल नयाँ अनुहार हुन । त्रिविमा प्रध्यापकबाट पेन्सन निस्किएका छन्तेलले पनि बुद्धिजिवी वर्गमा आफ्नो राम्रो छाप बनाएका छन् । जातिय हिसावले पनि यी दुई उम्मेदवारविच प्रतिस्प्रधा हुने देखिनछ । २०६४ सालको निर्वाचनमा एमाओबादीका शुदर्शन बरालले १४ हजार भोट ल्याउँदा ९ हजार भोट ल्याएर तेस्रो भएकी एमालेकी उम्मेदवार मैना भण्डारी अहिले पनि चुनावी प्रतिस्प्रधामा छन् । तर उनलाई एमाओबादीकै उचाईमा पुग्न गाह्रो हुने देखिन्छ । क्षेत्र नम्बर १ बाट पहिले जितेका एमाले नेता रामनाथ ढकाल बाहीरी जिल्लाबाट चुनाव लड्ने भएपछि एमाले समस्यामा परेको हो । ‘छन्तेल शिक्षित तथा शिष्ट ब्यक्तित्व हुनुहुन्छ भने बराल पहिले जितेका नेता हुनुहुन्छ त्यसैले एमाओबादी र कांग्रेसकै विचमा प्रतिस्प्रधा होला’ राजनीति शास्त्रका प्रध्यापक तथा रेसुंगा क्याम्पसका प्रमुख चन्द्रकान्त पन्थी भन्छन् ‘महिला उम्मेदवार भएकाले भण्डारीलाईज्यूलाई केहि सजिलो होला तर जातिय हिसावमा पुरुष उम्मेदवारहरुलाई नै सजिलो छ ।’
यसरी क्षेत्र नम्बर ३ मा त्रिपक्षिय, तथा क्षेत्र नम्बर १ र २ मा द्विपक्षिय चुनावी प्रतिस्प्रधा हुने देखिएको छ । अरु साना दलहरु प्रतिस्प्रधी रुपमा अगाडि आउन नसक्ने गैरसरकारी संस्था महासंघका सचिव रेशम कुँवर बताउँछन् । समग्र जिल्लामा अघिल्लो निर्वाचनको तुलनमा १ लाख भन्दा बढी मतदाता घटेका छन् । देशकै चासोको विषय रहने क्षेत्र नम्बर २ मा आधा भन्दा ठूलो संख्यामा मतदाता घटेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग