Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उहिलेको तम्घास, अहिलेको तम्घास (फोटोहरु सहित)

Published on 5:29:00 PM //

-प्रेम सुनार
हालको ब्यस्त बजार भिमचोक, शहिदचोक, चिदीचौरमा कुनै दिन निरह ताल थियो रे भन्छन् बुढापाकाहरु । पछि सम्म हाल बस पार्क रहेको स्थान र चारखोला तिर डर लाग्दो झाडी देख्ने बुढापाकाहरु त जिवितै छन् । स्याल कराएर सुत्नै दिदैनथ्यो रे । २००९ साल अघि सम्म पुर्णतः सुनसान गाउँ तम्घासको नामकरण कसरी रह्यो भन्नेबारे दुई बेग्ला बेग्लै जनश्रुति छन् । कसैले तम्घासमा ताल थियो रे, जहाँ असाध्धै घाँस पलाएको हुनाले ताल र घाँसबाट तम्घास नामकरण गरिएको भन्छन् भने अलि धेरैको जनश्रुति अर्जुन लेकका तत्कालिन दुराचारी राजाको विहे गरेर ल्याईदै गरेकी बेहुलीको कुमारीत्व हरणबाट तम्घास नामकरण रहेको भन्ने छ । एक समयका चर्चित पण्डित उपल्लो तम्घासका ९५ वर्षिय फर्शुराम पन्थीका अनुसार देउरालीमा अर्जुन डाँडामा रहेका ति दुराचारी राजाले नाकाका रुपमा आफ्ना सेना तैनाथ गर्ने गर्दथे र विवाह गरेर ल्याईएकी बेहुलीलाई रोक्न लगाएर माथी दरबारमा पुराएर ति राजाले कुमारीत्व हरण गरेर मात्रै पठाउने गर्दथे ।

पछिल्लो चरणकी वेहुलीले मानिन् । उनि माथी जान त बाध्य भईन तर बेहुलासंग भनिन् मैले आफ्नो सत डगाउन दिने छैन, म त्यससंग लडेरै आफ्नो ईज्जत बचाएरै आउने छु यदि उसले मेरो ईज्जत लुट्यो भने यहाँ रगत बग्ने छ र मैले देह त्याग गर्नेछु भन्ने वाचा गरेर गईन । हालको तम्घासस्थान मन्दिर जो उपल्लो तम्घासको खलाचौरमा छ । त्यहाँ बेहुलीको बाचा अनुसार दुधको कुण्डली बनाईयो । माथी राजासंग कुमारीत्व बचाउको संघर्ष गर्दा गर्दै सकिनन् ति बेहुलीले अन्ततः उनले देह त्याग गरिन् र केहि बेर पछि त्यो दुधको कुण्डलीमा रगतको पोखरी प¥यो । त्यो देखेर के तमासा भयो यस्तो ? भन्दा भन्दै यहाँका बासीन्दामा तमासा शब्द ओंठमा झुण्डीन थाल्यो । फलतः तमासा तमास अप्रभंस हुँदै तम्घास नामकरण हुन गएको पण्डित पन्थीको भनाई छ ।
कान्छा पण्डितका नामले परिचत उनि रेसुङ्गाका प्रभु यदुका नन्दका एक मात्र जिवित साँछी हुन् । उनले तत्कालानि रेसुङ्गा र तम्घासको बेली विस्तार सुनाउँदै भने–‘यहाँँ त पुरै झाडी थियो हाम्रा पिता पुर्खाहरु एउटै घरधुरले पचास साठी वटा गाई पाल्थे ।’ काठमाण्डौंका राण महाराजको घरमा पण्डित्याई गरेको अनुभव समेत संगालेका उनि विपि कोईराललाई राण विरोधी आन्दोलनका क्रममा उपल्लो तम्घासको आफ्नो घरमा आश्रय दिने पनि जिवित साँछी हुन् । उनका अनुसार तम्घासका पुरानाबासीन्दाहरु मध्ये हालको धागीधुममा तामाखानी थियो । त्यो खानी उत्खननका लागि भार्षे लगायतका स्थानबाट मगरहरु आए । उनिहरु बसोबास गरेको ठाउँलाई खानीगाउँ भन्न थालियो । त्यस्तै उनिहरु संगै यहाँ पन्थीहरु बसोबास गरेका थिए । उनै पन्थीहरु संगै भुजेलखर्कमा बस्ने चुँदरा, उपल्लो तम्घासका सुनार, चारीखोलाका चित्रेहरु , बसपार्क र बसोबास गर्ने जुत्ता सिलाउने मोची , बुढीचौर, खलाचौर लगायतका स्थानमा बस्ने दर्जिहरु आएका थिए । त्यस्तै मरासीनी पनि यहाँका पुराना बासीन्दाहरु हुन् ।
२०३९ सालमा भर्खर गाडी आउँदाको तम्घास
८० को नेटो काटेका र तम्घासमा अग्रेजी विषय पहिलो पटक पढ्न सुरु गरेको दावि गर्ने साहु टोलका ताराप्रसाद पाण्डेका अनुसार हालको रेसुङ्गा माध्यामिक विद्यालय रहेको स्थानमा प्राध्यापकद्धयः सशी पन्थी र दीन पन्थीका बाबुले नुन चामल बोक्न हिड्ने ढाँक्रेहरुलाई बास बस्न मिल्ने पौवा बनाएका थिए । जसलाई धौले पौवा भनिन्थ्यो । त्यही धौले पौवाबाट गुरुकुल शिक्षा सुरु भएको थियो । ‘हामीहरु त्यो धौले पौवामा चिपलेटी खेल्थ्यौं, घोडाहरु पालिएको थिए पाण्डेले भने–‘ त्यहीबाट हामीले गुरुकुल शिक्षा लिएका थियौं । ’ उनका अनुसार हाट वजारका नाममा पुरानो बजार र यता साहु टोलमा तमाखु, भुर्रा, सिध्रा, गुँडहरु बेच्ने साना पसल थिए ।
पछि साहु टोलमा अर्घाखाँची माझकोटबाट भुवानप्रसाद श्रेष्ठका पिता मथुराप्रसाद श्रेष्ठहरु आए । त्यस भन्दा अझ पहिला पुरानो बजारमा आएर राजकुमार श्रेष्ठ, सुरेन्द्र कक्षापति लगायतका बाजे गणेशप्रसाद श्रेष्ठ आएर तम्घासमा पहिलो पटक पसल राखेका थिए । तम्घासका पुराना समाज सेवी नन्दराम भुसालका अनुसार उनको पसलको नाम पछि सम्म रुन्चेको पसलका रुपमा निकै चर्चित रह्यो । भुसाल भन्छन –‘ हालको तम्घास बजारका सस्थापक ब्यवसायीका रुपमा उनै गणेश श्रेष्ठ र वजार विस्तारक तत्कालिन बडाहाकीम चन्द्रमान थकाली थिए । पहिलो पटक तम्घासमा २००९ सालमा पाल्पाबाट प्रशासनिक निकाय बस्न सुरु गरेको भुसालले बताए । त्यस अघि सम्म पाल्पा कै अधिनमा रहेको गुल्मीमा २००९ साल देखि गुल्मी अर्घाखाँची जोडेर एउटा प्रशासनिक निकाय बनाईएको हो ।’उनका अनुसार खास तम्घास बजार त २०१९ सालबाट विस्तार भएको हो । त्योे प्रशासनिक निकायलाई गौडा भनिन्थ्यो र सानो खरले छाएको पौवामा बसेको थियो । पछि सहायक अञ्चलाधिस बस्न थाले’–भुसालले भने ।
गाडी आएको झण्डै पाँच वर्षपछि २०४३ सालको विकसित तम्घास

२०१९ सालमा बडाहाकिम थकालीले भुजेलखर्कका चुँदराहरुको तल तम्घास खाल्डोमा रहेको बारी किनेर वजार विस्तार गराएको भुसालले बताए । ‘उति बेलाकै जमनामा त्यस्तै तिन लाख जतिमा बडाहाकिम चन्द्रमान थकालीले चुँदराको बारी किनेर चार चार हजारका दरले घडेरी वितरण गरिएको थियो’–भुषालले भने –‘हामीले त अलि पछि किनेका हौं । ’ उनका अनुसार नेपालका सडकहरु मध्ये सबै भन्दा ढिलो  पिच भएको तान्सेन तम्घास मोटरबाटो हो जो विस वर्ष सम्म कच्ची नै थियो । त्यस्तै यो सडक गुल्मेली जनता आफैले पन्ध्र वर्ष लगाएर खनेका थिए र २०३९ साल बैशख १ गते तम्घासमा पहिलो पटक ट्याक्टर आएको भुसाल बताउँछन् ।
यो सडक खन्नमा तत्कालिन जिल्ला सभापति र पछि तिन तिन पटक राष्ट्रिय पञ्यतका सदस्य समेत रहेका बैकुठबहादुर चन्दको मुख्य भुमिका र अतुलनिय योगदान रहेको भुसालको ठहर छ । यो सडकलाई त बैकुण्ठ मार्ग नामकरण नै गर्नु पर्ने कुरा चलेको हो तर राजनितीका कारण कुरै सेलाएको बताउँदै उनले चन्दको सम्मान स्वरुप बैकुण्ठ मार्ग हुनु पर्नेमा जोड दिए । २०३९ सालमा पहिलो पटक तम्घासमा गाडी आउँदा हेर्न आउनेको ताँती लागेको थियो । दुई तिन वर्ष सम्म त गाडी चड्नका रहरले विना काम पनि युवा युवतीहरु गाडी चड्न डाईवर सित अनुनय विनय गर्दथे भने पछाडीबाट झुण्डीने केटा केटीहरुले हैरान पार्दथे ।

जति बेला तम्घासका अधिकांस घरहरु खरले छाएका थिए । भिमचोक लगायतको वजार माथी सिडियो क्यावटरलाई दिशा वस्ने गौंडाको रुपमा चेतनारण मरासीनीका पिता र उनका दाई भाईले त्यत्तिकै दिएको जमिन हो भन्छि । उनले सिडियो क्वाटर लगायतको प्रशस्त जमिन सित्तैमा दिएका थिए । २०३९ देखि तम्घासमा गाउँका लाहुरे, जागिरेहरुले घडेरी किन्ने क्रम सुरु भयो । ४० को दशक सम्म हालको ब्यस्त बजार मिलनचोक देखि उता उदिनढुङ्गातिर घडेरीमा आँखा लगाउने कोहि थिएन् । ससाना खरका झुपडी थिए । पहाड जत्रा ढुङ्गाका विचमा बाटो खोलिएको थियो । अलि पैसावालाले यतैतिर घडेरी किन्दै थिए । अलि थोरै पैसा हुने तर बुद्धि भएकाहरुले पछि भए होला नभए नहोला भन्दै दोधारै दोधारमा उदिन ढुङ्गातिर घडेरी किन्न थाले ।
यसै पंक्तिकार शान्ति सेनाबाट फर्किँदा उदिनढुङ्गको ४० हजार हात घडेरी खान छिःयस्तो ठाउँमा पनि के किन्ने भन्यो र राम्रै जग्गामा पैसा हालौ भनेर नवलपरासीको प्रगति नगरमा गएर किनेको थियो । अहिले उदिन ढुङ्गाको त्यही घडेरीको मुल्य प्रति हात डेढ लाख हुँदा ठुलो पछुतो लाग्छ । अझ हातको दश आठ हजार भाउमा महंगो भयो भनेर न किन्नेहरु झन पछुतोमा छन् । अझ देउराली, अर्खाखाँची बस पार्क तिर त कसले आँखा लगाओस । उपल्लो तम्घामा त धेरै जसो ब्यवस्थीत शौचालय समेत नभएका स साना घरका झुपडीहरु थिए । पाहुनाहरु आउँदा मान्छेले देख्ने भएकाले झिसमेसीमा उठेर पाटाका कुनाकानीमा शौचालय बस्न जान्थे । खानी गाउँका घरहरु पनि प्राय उस्तै थिए । पालीसितको खरको छाना भएको खानी गाउँका घरहरुमा उपल्लो तम्घासका सुनारहरु कतै फुपु, कतै मामा
माईजु भन्दै रक्सी खाना जान्थे ।
भैलोमा निकै नाच्ने भएकाले पुर्सुङ्गे भनेर चिनेने वालकृष्ण बरालका बाबु र म अर्थात उहाँकी दिदीको नाती पछ्याउँदै खानी गाउँ जान्थे । खै माईजु पहिला चाखम त रक्सी भनेर उहाँले भने पछि सिल्टीको बटुकोमा रक्सी दिन्थे, जो अहिलेको डेढ बोतल त्यही एउटा बटुकामा हुन्थ्यो । खानीगाउँले मगरहरु दिएर खाएर नसकीने ब्यबहारका थिए । प्राय घर घरमा सुँगुर पालिएको हुन्थ्यो । दशैं तिहारमा कालो सुँघुरको चोपीलो मासु, अझ रक्ती हालेको भुटुवा दुनामा राखेर सुनारहरुालई दलानमा दिन्थे तर बोलीचाली र ब्यवहारमा आफ्नोपन हुन्थ्यो । उपल्लो तम्घास लगायतका ठाउँमा भने ४० को दशक सम्म सुनार लगायतका दलितलाई खुवाएको भाँडाहरु पखाल्न लगाईन्थ्यो र भित्र लैजान परे त्यो भाँडामा थोरै पानी राखेर च्वास्स आगोको कैलो हालिन्थ्यो ।
हालको तम्घास बजार
त्यो दशक सम्म रेडियोको च्यादर ओढ्ने चलन थियो । उपल्ला् तम्घासबाट तल बजार झर्ने बुढापाका सुनारहरु जाडोले रेडियोको च्यादर भित्र लुकाएका हातहरु निकालेर आफ्नै छोरा सरहका उमेरका युवालाई पनि जदो भन्दै हात उठाउँथे । कतिपयले त त्यो ढोग पनि नर्फकाई मुख लुकाएर बाटो लाग्थे । म सानै देखि बुढा मावल उपल्लो तम्घास वसे । भट्ट मकै खाने चलन निकै थिई दिदीलाई ‘दि’भनेर बोलाउने गरेको म अहिले सम्म भुल्न सक्दीन् । तम्घास भाष अलि लस्के भाषा थियो उति बेला । जति बेला जहुँ र गहुँ तम्घासमा निकै हुन्थ्यो । कोदो कम रोप्थे । गहुँको सुख्खा रोटी खाने चलन थियो र खुव खाईयो । तिहारमा पकाएका फिनी रोटी र वटुक खैरेनी वुडियाँले माघे सक्रान्ती सम्म राखी दिनु हुन्थ्यो ।
उपल्ला तम्घासका ब्राम्हणहरुका घरहरु अलि देख्न लायक थिए । सुनार मध्येमा जग्गा जमिनमा धनी बाटे साईला थिए र अहिले पनि छन् । जति सम्पत्ति, सक्दो पुग्दो भए पनि उनि बाटे साईला लगायतका बुढा पाका सुनारहरुमा अहिले सम्म पनि पुरानै लावाई खवाई, पुरानै ढवाक रहेको छ । उनिहरु कहिल्लै ठुल्याई पार्न जानेन् । ४० को दशक अघि सम्म तम्घासका अधिकांस सुनारहरु गाउँमा झोला वोकेर गहना कमाउन जान्थे । दिनभरी जोत्न आएका अन्य दलितहरुलाई आटो ढिडो र सुनारलाई दुध र भात अनि मतवालीकहाँ कुखराका भाले काटेर खुवाउने चलन थियो । कुखरा किन्न जाँदा यो भाले त फुली मुन्द्री बनाउन सुनार बोलाएका छौ उसैलाई राखेका हुँ भन्थे । ४० को दशक अघि सम्म तम्घासका व्राम्हण क्षेत्री महिलाहरुको नाकमा फुली र डोलो मुन्द्र देखिन्थ्यो भने खानी गाउँका मगर महिलाको नाकमा झुम्के बुलाकी, काडे फुली , हातमा काँडे वाल, गलामा चारनी आठनीको हारी, दशैको कोटको राम हेर्न जाँदा श्रीफुल, क्लीप, मडौरी ढुङ्री लगाउथे ।
झण्डै दई दशक सम्म कानमा तम्घासे सुनारले बनाएका कल्ली कांँडे मडवारी महिलाहरुको निकै रोजाईको गहना बन्यो । कसका कानका मडवरीमा कति लामा कांडा छन् ? दाँज्ने गरिन्थ्यो । पछि टप फुली, नथ्थाको चलन बढ्यो । कुनै समय दाँतमा सुन बाध्ने पनि महिलाहरुमा फेशन बढेको थियो । नाकमा दार्जलिङ्गे फुली, लामा लामा काँडा भएको झुम्के बुलाकी र मखमलको घलेकमा पनि तम्घासे मगर महिलाहरु सजिन्थे । छिटको गुन्यु , रातो मखमलको चोलो र पिलासको चोलो किनै चलेको थियो भने किनार सितको धोती, कालो आस्कोट (स्टकोट) सेतो कमिजमा पाका पुरुषहरु सजिन्थे । त्यस्तै शहरिया फेशन खोज्ने युवाहरु ३७ ईन्च सम्मका बेली वटन पाईन्ट ल्याफ्रे ल्याफ्रे पार्दै हिड्थे । त्यो बेला सेतो टेर्लिङ्गको सर्ट , रातो पोलीस्टरको पाईन्ट अमिता बच्चन बन्न लगाउँथे युवाहरु ।
पछि डिस्को डान्सर, प्यार झुक्ता नही हिट भए पछि मिथुन चक्रवतीको गेटअपमा तम्घासका युवा देखिन्थे भने युवतीहरु पदमीनी कोहलापुरे मिनक्षी सोसाद्री र श्रीदेवि बन्ने होडमा थिए । पछि नेपाली चलचित्र कान्छीले मार्केट लियो र शिव श्रेष्ठ अनि युगदेखि युग सम्म हिट भए पछि राजेश हमाल बन्न रुचाए युवाहरु । उता गाउँमा भने युवाहरुरु टाईट जाँगे र जुत्ता मजा चाड पर्व, विवाहमा लगाउने गर्दथे । जसलाई राख्ने कपडा भनिन्थ्यो । गाउँका बुढा पाकाहरु प्राय धरो लगाउँथे । खेत रोपाई ताका त महिलाहरु पेट मिचीमिची हाँस्ने गर्दथे आली लगाउने र खोक चलाउने पुरुषहरुको धरो एकाति खुस्केर ।
अझ रोचक पुराना कुरा कोट्याउनु पर्दा राती दुई तिन वजे उठेर एक देखि अर्को गाउँमा पुग्ने बुढापाकाहरु च्यादर ओढेर पारी पुग्ने र उज्यालामा हेर्दा त के को च्यादर हुन्थ्यो गोसेनीको खद्दरको गुन्युमा पो भेटिन्थे । अहिले जमना कहाँबाट कहाँ पुगी सक्यो ? सिंगापुरका फेशन अहिले तम्घासमा भन्दा बढि गाउँमा पुगेको छ । गत दशैंको सुनासान तम्घास बजार नियाल्दा खास तम्घास देखिएको थियो । जहाँ गाउँ घरे फेशन थियो भने उता गाउँमा शहरिया । तम्घासको बुढीचौर,थम्का , छापटोलामा अझै शहर छिरेको छैन र विकास हुन पनि सकेको छैन ।
धागीथुम, यता भुजेलखर्क वेदुखर्क, कुँडापानी, भुजेलखर्कमा केहि विकास भएको छ । सान्त र हिमश्रृंखलाले मनोरम बसाईका दृष्टीले कुनै समय छिः भुजेलखर्क भन्नेहरुको आँखा त्यो गाउँमा परेको छ । भुजेलखर्कमा समस्या खाने पानीको थियो । जव बृहत पम्पीङ्ग सिष्टम खाने पानी पुग्यो तव त्यो गाउँमा घडेरी किन्नेको ताँती छ । तम्घास भएर पनि आग्लुङ्ग भन्दा पछाडी परेको ठाउँ हो वडा नम्वर ९ । जहाँको सिस्न्यारा, बुट्टाखुरी, नेटा लगायतका टोलका मानिसहरुले खाने पानी, मोटर वाटो लगायतको विकास सुविधा पाउन सकेको छैनन् । बुट्टाखुरीका दर्जनौं दलतिहरु सुकुम्वासी छन् । व्राम्हण क्षेत्रीहरुमा पनि गरिवी ब्याप्त छ ।
सोता गाउँमा पनि घाउघरे चल्ती चलन छ । त्यहाँ पनि एक दर्जन बढी सुकुम्वासीले जग्गा पाको गराउन सकेका छैनन् । तम्घासमा मोटरवाटो आएको अहिले झण्डैै तिस वर्ष भई सक्दा ग्रामिण क्षेत्रका टोल टोलमा बाटो पुग्यो तर तम्घासका वडाहरुमा भने नपुग्नुको कारण के हो ? यसको पनि राजनैतिक संयन्त्रमा समिक्षा र हल हुन जरुरी देखिएको छ ।
समग्रमा हेर्दा गुल्मीको ऐतिहाँसिक पृष्ठभुमी बोकेको चारपालाले नपाएर तम्घासले सदरमुकाम पाउनुमा धार्मिक सत रहेको बताईनछ । ऋषेश्रृङ्गाको तपोभुमि रेसुङ्गाको काँख भएकोले पनि यस्तो अवसर तम्घासले पाएको नन्दराम भुसालको भनाई छ । महेन्द्र उच्च माध्यामिक विद्यालय रहेको जमिनमा मानव वस्ती विस्तार हुनु अति ताल जमेको र त्यहाँ नागहरु थिए भन्छन् प्रार्चय केशरबहादुर थापा । उनले भने–‘त्यति बेलै देखि यहाँ नागको पुजा गरिन्छ र उनलाई समखान पुराउन नसक्दा अथवा विधि विपरित भए विद्यार्थीहरुमा कुनै अप्रिय घटना हुने गरेको समेत छ ।’
यस्तो धार्मिक महत्व बोकेको र सदरमुकामका कारण जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेको तम्घासलाई अव भने मानिसको चहल पहल घट्ने हो कि भन्ने चिन्दा बढेको छ । उता रिडी रुद्रवेणी सडक खण्ड ,यता साल झण्डी अर्घाखाँची पुर्कोटदह हुँदै ढोरपाटन जोड्ने निर्माणधिन मोटरबाटो सम्पन्न भएपछि तम्घासमा मानिसहरुको आवत जावत घट्ने देखिन्छ । अर्को कुरा सभाषद चन्द्र भण्डारीले प्रतिबद्धता जनाएको साल झण्डी तम्घास फास्टट्रयाक बन्यो भने रिडी, वलेटक्सार, गौ.डाकोट र ऐतिहाँसिक चारपाला पछाडी पर्ने हो कि भन्ने चिन्ता पनि स्थानियवासीले गर्न थालेका छन् ।
त्यस्तै सडक चौडा पार्ने सरकारको निति अनुसार दुख गरेर बनाएको घर पनि भत्काई दिने हुन कि भन्ने चिन्ताले ग्रसित छन् सडक छेउछाउँका वासीन्दाहरु । सवैको माग छ वैकल्पीक सडक खोलियोस । यसरी हिजोको तम्घासको रहन सहन, गाउँ वस्तीको अवस्थाको तस्वीर नियाल्दै खानीगाउँका प्रकाश भलामी समयको परिवतर्नसगै विकास भएको बताउँ छन् । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग