Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ख्यालख्यालमै १८ पटक सुत्केरी, ४० नाति-नातिना

Published on 11:04:00 PM //


१२ सन्तान जीवित, ४० नाति-नातिना
कमल थापा,
नेपाली समाजमा दुई सन्तान ईश्वरका वरदान भन्ने उखान परम्पराकालदेखि चलिआएको छ। तर, रुकुम चौखावाङ-९ की ६१ वर्षीया खिर्मीदेवी खत्रीको जीवनमा भने सन्तानले डाँडाकाँडा ढाकून् भन्ने उखान फलिफाप भएको छ। उनले जीवनमा १८ औं सन्तान जन्माएकी छिन्।  १६ वर्षको उमेरमा परम्परागत विवाह गरेकी खिर्मीदेवीले १७ वर्षको उमेरमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी थिइन्। त्यसदेखि लगातार ४८ वर्षको उमेरसम्मा सन्तान मात्रै जन्माइन्। कुनै वर्षेनी र कुनै २ वर्षको अन्तरमा ।

१८ सन्तानको जन्म दिएकी खिर्मीदेवीका ६ छोरा र ६ छोरी गरी अहिले १२ सन्तानमात्र जीवित छन्। ४ सन्तानको कुपोषणले गर्दा वाल्यावस्थामै मृत्यु भयो। २ सन्तान महिना नपुग्दै गर्भमै मृत अवस्थाको जन्माइन्। जीवित १२, मृत्यु भएका ४ र गर्भमै मृत्यु भएका २ गरी उनले १८ औं पटक प्रसवको पीडा ब्यहोरेकी छिन्। एकातिर अशिक्षा र अज्ञानताका कारण र अर्कातिर छोराकै आशमा आफूले धेरै पटक प्रसव पीडा सहनुपरेको उनको भनाई छ। लगातार ५ छोरी जन्मेपछि छोराको जन्म भयो।

त्यसपछि छोराछोरी हुँदै अन्य सन्तानको जम्म दिएको उनको भनाई छ। यसबीच २ सन्तानलाई गर्भमै मृत अवस्थामा जन्माइन्। २ छोरी र २ छोरा विभिन्न उमेरमा बिते। विवाह गरेकी १९ वर्षकी छोरीको समेत मृत्यु भयो। अर्की १ छोरीको ५ वर्षको उमेरमा मृत्यु भयो। त्यस्तै २ छोराका मृत्यु भने वर्ष दिन नपुग्दै भएको उनले बताइन्। जीवित ६ छोरी र ५ छोराको विवाह भइसकेको छ। १ छोराले विवाह गर्न बाँकी छ।

बारम्बार सुत्केरी हुनुपर्ने बाध्यता, पोषिलो खानपिनको अभाव हुँदासमेत खिर्मीदेवीको स्वास्थ्यमा कमजोरी देखिए पनि छोरा नै हुनुपर्ने सामाजिक कुरीतिले गर्दा उनलाई वर्षेनी सुत्केरी हुनुपर्ने विवशता आइरह्यो। 'सुत्केरी हुँदाहुँदा शरीर नै कमजोर भयो तर समाजलाई देखाउनकै लागि छोराका आशमा धेरै जम्माएँ।' छोरा वा छोरी जन्माउने कुरामा पुरुषमा भर पर्ने भए पनि सबै ग्रामीण समाजमा महिलालाई नै दोष दिने भएकाले महिला पीडित हुँदै आएका छन्। 'छोरा नहुँदा स्वर्गको ढोका खुल्दैन भन्ने समाजलाई जवाफ दिनकै लागि वर्षेनी सुत्केरी हुने बाध्यता आइलाग्यो।' परिवार नियोजनको चेतना नहुँदा जन्मान्तरसमेत हुन नसकेको उनको भनाई छ।

'हाम्रो पालामा जन्मान्तरका लागि औषधी खाने चलन थिएन, त्यसमा पनि छोराको आशमा छोरी छोरी मात्र भएपछि त लगातार जन्माउन करै भयो।' श्रीमानको मृत्यु नभएको भए अझै जन्मन सक्ने उनले बताइन्। उनका श्रीमान चुडामणिको ९ वर्षपहिले मृत्यु भइसकेको छ।

आफूले छोराका लागि १८ सन्तान जन्म दिए पनि अरुलाई भने छोरीलाई पनि छोरा सरह मान्न आग्रह गर्छिन्। आफ्नो पीडा जस्तै अरु महिलालाई नहोस् भनेर छोरी बुहारी र गाउँघरका महिलालाई समेत २ सन्तानमात्र जन्माउन सल्लाह दिन्छिन्। 'मेरो जस्तो प्रसव पीडा अरुले भोग्न नपरोस् भनेर जुन सन्तान जन्मे पनि २ सन्तान मात्र जन्माऊन्।' जीवित १२ छोराछोरीका गरी ४० जना नाति-नातिना छन् उनका।

नागरिकन्युज डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग