Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ, मंसिर ४ मा हुने गुल्मीको चुनावी भिडन्त

Published on 2:31:00 AM //

घनश्याम गौतम
गुल्मी, कार्तिक २४ । तीन निर्वाचन क्षेत्र रहेको गुल्मीमा ९ दलका २५ सहित ३५ जनाको उम्मेदवारी परेको छ । ८ स्वतन्त्र उम्मेदवार रहेको यस जिल्लामा एमाओवादी, कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदै छ । दलहरू आ-आपmनो इतिहास कायम राख्ने दाबीसाथ चुनावी मैदानमा छन् । २०४८ मा तीनै क्षेत्र कांग्रेसले जितेको थियो । २०५१ र ५६ मा तीनै क्षेत्र एमालेले जित्यो भने २०६४ को संविधानसभा निर्वाचनमा दुई क्षेत्र एमाओवादी र १ क्ष्ाेत्रमा एमाले विजयी भएको थियो । यस पटकको निर्वाचनमा तीनै दल तीनै क्षेत्र जित्ने दाबीसाथ मतदातासँग पुगेका छन् ।

जनजाति बाहुल्य रहेको क्षेत्र १ मा एमाओवादी, कांग्रेस र जनमोर्चाले जनजातिलाई नै उम्मेदवार बनाएका छन् भने एमालेले महिला उम्मेदवार उठाएको छ । २०६४ मा एमाओवादीका सुदर्शन बरालले १४ हजार १ सय ६४ मत ल्याएर जितेका थिए । यस पटक बरालसँग कांग्रेसका प्रा. कृष्णबहादुर छन्तेल, एमालेकी मैना भण्डारी र जनमोर्चाका जमानसिंह राना चुनावी मैदानमा छन् । कांग्रेस जित्ने दाबी गर्दै घरदैलो र सभा समारोहमा व्यस्त छ । २०६४ को निर्वाचनमा पनि कांग्रेस दोस्रो शक्ति हो । ६ सय ३४ मत अन्तरले तेस्रो बनेको एमालेले पनि तीन जनजाति उम्मेदवारबीचको लडाइँको फाइदा महिला उम्मेदवार भण्डारीले सजिलै लिन सक्ने भन्दै प्रतिस्पर्धामा छ । सांगठनिक संरचनामा बलियो देखिएका कांग्रेस, एमालेले एमाओवादीका सुदर्शन बराललाई चुनौती दिइरहेका छन् भने उनलाई आपmनै पार्टीबाट फुटेको नेकपा-माओवादी थप चुनौती बनेको छ । १ नं. क्षेत्र यस जिल्लामा वैद्य पक्षको बढी प्रभाव छ ।

२०५१ देखि नै लगातार एमालेले जित्दै आएको क्षेत्र २ मा यसपटक पनि एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली चुनावी मैदानमा छन् । उनीसँग २०६४ मा २ हजार १ सय ५२ मतले पराजित कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी प्रतिस्पर्धामा

छन् । विकासको पूर्वाधारमा अगाडि रहेको क्षेत्र २ मा एमाओवादीको संगठन तुलनात्मक रूपमा कमजोर रहेकाले यहाँ एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ । सचेत मतदाताको संख्या बढी रहेको यस क्षेत्रमा प्रतिस्पर्धामा उभिएका कांग्रेस, एमालेका दुवै नेता संविधान निर्माणका लागि आवश्यक रहेको मतदाताको विश्लेषण छ ।

क्षेत्र ३ मा एमाओवादी केन्द्रीय सदस्य बामदेव क्ष्ाेत्री, एमाले केन्द्रीय सदस्य गोकर्ण विष्ट र कांग्रेस पूर्व सभापति त्रैलोक्यप्रताप सेनबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०६४ मा एमाओवादीका चन्द्रबहादुर थापा सागर यहाँबाट विजयी भएका थिए । कांग्रेस सभापति चन्द्र केसीले कांग्रेस २०४८ सालदेखि नै विकासप्रेमी र यस पटक बलियो संगठन भएकाले तीनै क्षेत्रमा विजयी भएर इतिहास पल्टाउने बताए ।

एमाले जिल्ला अध्यक्ष टोमलाल पाण्डेले भने एमालेको विकासप्रतिको नीति, सुदृढ संगठन र केन्द्रीयस्तरमा पहुँच राख्ने उम्मेदवार भएकाले तीन वटै क्षेत्रमा सहजै जित हासिल गर्ने दाबी गरे । एमाओवादी इन्चार्ज सुदर्शन बरालले २०६४ सालको तुलनामा एमाओवादी गाउँस्तरसम्मै संगठन विस्तार गरेकाले यसपटक सबै क्षेत्र जित्न कुनै अप्ठ्यारो नरहेको बताए ।

२०६४ सालको निर्वाचनमा २ लाख ६१ हजार ६ सय ६९ मतदाता रहेको जिल्लामा यसपटक १ लाख ११ हजार ५ जनाले घटेर १ लाख ५० हजार ६ सय ६४ मतदाता छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग