Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कार्यालयमा हैन घाम ताप्ने ठाउँमा भेटिन्छन् जिबिस कर्मचारी, एकचोटीको मासुचिउरा नास्ताको बिल झन्डै ७० हजार रुपैँया

Published on 12:31:00 AM //

-प्रेम सुनार 
चिटिक्क परेका निलाकोट कार्यालयमै आएर फेर्नेहरु पनि रहेछन् ।
फर्कि–फर्की ऐना हेर्नेहरु पनि रहेछन् ।
लौन पत्रकार ज्यु एक चोटी जिविसमा निगरानी राख्नुस्
त्यहाँ त काम भन्दा बढि खित्का छाड्नेहरु रहेछन्   

एक जना सेवाग्राहीले यस्तो कवितात्मक शैलीमा भनेपछि जानै कर लाग्यो र जिविस भित्र पसियो । कर्माचारीहरु ठाँट परेर बाहिर घाममा मज्जाले पार तापीरहेका थिए । कति मजाको जागिर ? तालुमा आलु त फलेकै हो जस्तो लाग्यो । एक दिन भा’पो हुन्छ सधै उस्तै ।
सेवाग्राही मात्र होईन पत्रकारहरु समेत मान्छे फेला नपारेर वाक्क भई रहेका बेला सेवाग्राही न रिसाउने त कुरै भएन । जिल्लाका पत्रकार महोदयहरु तैं चुप मै चुप भए पनि कसले खवरदारी गर्ने ? सतीले सरापेको यो मुलुकमा त्यसमा पनि सिमित नेता र कर्मचारीको पकटमा रहेको गुल्मीमा कुनै कार्यालय विरुद्ध वा दल विरुद्धको समाचार लेख्यो भने उनिहरुले कुनै न कुनै निहुँमा जिल्लाबाटै विस्थापित गर्ने षडयन्त्रको शिकार भएका पुराना केहि पत्रकारहरुको डरले हो कि वा अन्य कारणले हो प्राय यहाँबाट अनियमितता, भ्रष्टचार, विकृति-विसंगतिको समाचार विरलै जाने गर्दछन् । सोमावार यहाँ कि एक महिला पत्रकार गगनशिला खड्काले जिविस गुल्मीको उदाहरण दिँदै एउटा राष्ट्रिय वहसकै विषय बनाईनु पर्ने समाचार के लेखेकी थिईन जिविसमा मंगलबार झण्डै कसो पेन डाउनको अवस्था सृजना भएको रहेछ । बोल्ने मुडमा कोही पनि थिएनन् ।

कार्यालयमा हैन चौरमा घाम ताप्दै भेटिन्छन् कर्मचारी

जिविसका प्रत्यक कोठामा पसेको कुर्ची सबै रित्तै । कोठाभित्र २ वटा घुम्ने कुर्सि, कुर्सिमाथी सुकिलो गम्छा, अगाडी कम्प्यूटर राखिएको छ । एउटा कतै कम्प्युट र खोलिएको अबस्थामा छ भने कतै बन्द । कमसेकम बन्द गरेर बाहिर बसे पनि विद्युत महशुल केहि कम हुन्थ्यो कि भन्ने लाग्यो । कार्यकक्षका नाम कति लिनु ? यो मंगलबारको दृश्य मात्र होईन, सधै झैं दिउँसो साढे ११ बजे पुग्दा योजना फाँट, प्रशासन फाँट, आलेप फाँट र दर्ता चलाली फाँटमा कुनै कर्मचारी थिएनन् ।
लेखा शाखामा ३ जना कर्मचारी मध्ये २ जनामात्रै देखिन्थे । कार्यालयमा सेवा लिन आएका सेवाग्राही भने कर्मचारीहरु नभेटेपछि अलमल्ल परेका भेटिन्थे । सर्बसाधारण मात्रै होईन सरकारी कामको लागि आएका गाविस सचिव समेत कर्मचारी नभेटेपछि यताउता भौतारीएका थिए  । ‘आलेप शाखामा गाविसका आन्तरीक कागजपत्रहरु बुझाउन आएको हुँ तर कोही पनि भेटिएनन्", जोहाङ गाविसका गाविस सचिव शोभाखर पोखरेलले भने, "कता जानुभएछ भनेर खोजिरहेको छु ।" बडागाउँबाट डेलिगेशन आएका पृथ्वी माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पृथबहादुर थापा, प्रधानध्यापक दुर्गाबहादुर सुर्यबंशी लगायत एलडियोलाई भेट्न आ’को फेला नपारेर फर्कियौँ भन्दै थिए ।
गाविस सचिवले समेत कर्मचारी नभेटेर गुनासो गरेपछि जिविसमा आएका सर्बसाधारणले कस्तो समस्या भोगे सहजै अनुमान लगाउन सकिन्छ । जुनिया गाविसका बाटोको कामले आएका मोटरबाटो उपभोक्ता समितिका एक पदाधिकारीले आफू मोटरबाटोको बजेट निकाशाका लागि आएको भएपनि कर्मचारीहरु घाम तापेर बसेकोले आफू कुरेर बसीरहेको बताए । ‘बाटोको कामले आएको हुँ, योजनाका मान्छे तल घाम तापेर बसीरहेका छन् – खत्री थरका उनले भने – एलडियोले तोक लगाएर योजनामा जानुस भनेको १ घण्टा भईसक्यो कोही आउँदैनन ।’ तर उनीहरुले खोजेका ति बसै फाँटका कर्मचारी घाम तापेर बसीरहेका थिए ।

यो पनि पढ्नुहोस्: जिबिस रित्तै, घाम तापेर बसेका कर्मचारीद्वारा खड्कालाई दुर्ब्यवहार

पुरानै रोग

जिल्ला विकास समिति गुल्मीमा यो मात्र नभई प्रायः दैनिक रुपमै यस्तो दृष्य देखिने गरेको सर्बसाधारणको गुनासो छ । सँधैजसो आफ्नो फाँटमा कर्मचारी नबस्दा आफूहरुले हैरानी खेप्ने गरेको सेवा लिन आएका सर्बसाधारण बताउँछन् । आफू ११ पटक सम्म आएपनि मोटरबाटोको रकम भुक्तानीको काम नभएको रुद्रवेनी वामीटक्सार मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी सापकोटाले बताए । ‘गएको दशैमा सडक सफा गरेको पैसा लिन आएको ११ पटक भयो, कहिले को भेटिन्न, कहिले को भेटिन्न हैरान भईयो’ – उनले भने । आफ्नो आमा समूह नविकरणका लागि सिफारीस लिन आएकी उपल्लो तम्घासकी राधिका मरासिनीले कर्मचारी नभेटिएपछि भौतारीरहेको बताईन् ।
जिल्ला विकास समितिका कर्मचारीको यो व्यबहारप्रति सर्बसाधारण मात्रै हैन राजनीतिक दलका कार्यकर्ता समेत हैरानी व्यहोरेको गुनासो गर्न थालेका छन् । ‘म एउटा खानेपानी दर्ताको रसिद काट्न जाँदा फाँटमा जाँदा कर्मचारी नभेटिने र अरु कर्मचारीलाई भन्दा खै हामी हैन थाहा छैन भनेर अल्मल्याए, पछि जस्ले थाहा छैन भन्छ उसैले रसिद काट्यो, – अनेरास्ववियू क्रान्तिकारी गुल्मीका कोषाध्यक्ष राजन घिमीरेले भने – समयमा कार्यालयमा नआउने, आएपनि घाम तापेर बस्ने, जनताका काम समयमा नगर्ने, आनाकानी गर्ने गरेको जिल्ला विकास समितिको दिर्घरोग जस्तै हो ।’

कार्यालय समयमा घाम तापेर बस्ने मात्रै हैन कार्यालयमा समयमै नआउने, कार्यालय समयमा आफ्ना निजी काममा जाने, तोकिएको पोशाक नलगाउने गरेको सरोकारवालाको गुनासो छ । जिल्ला विकास समितिको विषयमा आफूले पनि गुनासो सुनेकोले त्यस्ता समस्या समाधानका लागि बसेर छलफल गर्नुपर्ने नेपाली काँग्रेसका उपसभापति भुवन श्रेष्ठले बताए । ‘जिविस भनेको जनतासंग प्रत्यक्ष जोडिने कार्यालय हो तर यसको बारेमा केही गुनासाहरु आएका छन्, – श्रेष्ठले भने – कर्मचारीले त्यस्तो गर्नु भएन, अव बसेर ति समस्या समाधान गर्नुपर्छ ।’
नेकपा एमालेका अध्यक्ष टोमलाल पाण्डेको धारणा पनि कर्मचारी जनताको सेवाका लागि भएकोले कुनै पनि बाहनामा कमजोरी गर्न र जनतालाई दुःख दिन नपाईने बताए । ‘कर्मचारी भनेको त जनताका सेवाका लागि हो नि, जनताका सेवा नगरेर बाहिर घाम तापेर बस्न पाईँदैन – पाण्डेले भने – जिविसका कर्मचारीले जनताका सेवाका लागि लाग्नु पर्छ, जनतालाई बाहिर राखेर दुःख यता स्थानिय विकास अधिकारी हरी ज्ञवालीले भने आफ्नो कार्यालयमा कुनै कमजोरी नभएको र जिविसविरुद्ध पत्रकारहरु लागेको भन्दै आक्रोश पोखे । ‘तपाईँ पत्रकारहरु जिविसमाथी एकैचोटी किन यसरी खनिनुभएको छ, अरु कार्यालय छैनन ? – उनले भने – मेरो कार्यालयमा जनताका काम भएनन् भने भन्नुस, म संग कुनै सेवाग्राही गुनासो गर्न आएका छैनन् ।’ तर जिल्ला विकास समितिका स्थानिय निकायका कर्मचारीले हैरान  पारेकोले उनी तनावमा रहेकोले ति कर्मचारीहरुको विरुद्ध बोल्न नसक्ने जिविस श्रोतले बताएको छ ।

एलडिओलाई नै टेर्दैनन् कर्मचारी

जिविसकै केही कर्मचारीहरु भने स्थानिय निकायका २÷४ जना कर्मचारीले स्थानिय विकास अधिकारीलाई नटेर्ने मनपरी गर्ने गरेको बताउँछन् । ‘कार्यालय समयमा हाकीमले भनेको मान्नुहुन्न, ड्रेस लाउनुहुन्न, समयमा अपिस आउनुहुन्न भन्ने कहीँ छ तर यहाँ मान्दैनन्, – कर्मचारी भएकोले आफ्नो नाम नराख्ने शर्त राख्नै उनले भने – जे सुकै गरेपनि हाम्रो सरुवा हुन्न जे गरीपनि हुन्छ भनेर मनपरी गरेका यहाँ १-२ जना कर्मचारी छन् ।’

हुन त काम सधैभरी नभएर पनि प्राय सधै घाम त कहिले सितलमा बाहिरै बसेको हुन सक्छ । तर वार्षिक वजेट विनियोजनताका भने जिविसका कर्मचारी रातभर नसुतेर काम गरेका हुन्छन् । राती अवेर सम्म काम गर्ने पुरुष कर्मचारीलाई त ठिक छ तर महिला कर्माचारीलाई भने गाह्रै पर्दो होला भन्ने लाग्छ तै पनि उहाँहरु आएको देखिन्छ । जेहोस रातमा काम गरे पनि नजिकका होटल, रेष्टुरेण्टहरुमा हुस्की वियर, माछा मासु के खाने हो त्यो कुरा त्यहाँ पुग्ने अरुलाई समेत फ्रि हुन्छ । एकै रातमा पाँच सात हजार खाई पिई गरेर अर्को दिन जिविसका औपचारिक कार्यक्रमका नाममा विल बनाउन लगाएको प्रमाण खोज्न ति होटलका विलका आधाकट्टी खोज्न जरुरी छ ।

कस्ता कस्ता छन होटेलमा नास्ताका बिल ?

मिति               २०६९ साल जेठ ९ गते
मासु चिउरा      ६ सय ९४ जनालाई
दर                  १ सय रुपैया प्रती प्लेट
जम्मा               रु ६९ हजार ४ सय रुपैयाँ

मिति                २०६९ बैशाख १५ गते
मासु चिउरा       ४ सय ३७ जनालाई
दर                    १ सय रुपैयाँ
जम्मा                रु ४३ हजार ७ सय रुपैयाँ

मिति                 २०६९ जेठ १६
मासु चिउरा        ४  सय ११ जनालाई
दर                    १ सय रुपैयाँ
जम्मा                 रु ४१ हजार १ सय रुपैयाँ

मिति                  २०७० बैशाख ७
मासु चिउरा         ५ सय ८४ जनालाई
कोक                   १ सय ६ जनालाई (रु. ३५ प्रति बोतल)
फलफुल               १ सय जनालाई  (रु. ३८ को डरले)
जम्मा                  ६५ हजार ९ सय १०

यि त एक उदाहरणका लागि मात्र हुन । अरु कति र कस्ता विल बनेर जनताको विकासका नाममा आएका त्यहाँका कर्मचारीले कुम्लाए होलान यो छानविन गर्न जनता नै उठ्नु पर्ने देखिन्छ ।

आजसम्म किन लुक्यो यो अनियमितताको खबर? 

खास त यस्ता किर्ते विलको सहारामा बाँचेको छ जिविस गुल्मी । उति बेलै समाचार किन लेखिनस त ? यो प्रश्न म माथी पनि उठ्न सक्छ । तर मैले स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीसंग खाजा खर्च र ईन्धनमा गडवाडी भएको पाईयो विवरण पाउँ भनेर पटक पटक गएको हुँ । यहाँ सम्मकी मैले लिखित निवेदन मार्फत विवरण माग गरेको हुँ । विवरण त दिईयो कुल खर्चको, ति विलहरुका बारेमा दिईएन । मैले ज्ञवालीलाई सुझाव पनि दिएको हुँ कमसेकम ति विलहरुका बारेमा राम्ररी बुझ्नुहोस तपाई आफैलाई फसाउन सक्छन भनेर ।
उहाँले आफ्नो कार्यकालमा एकदमै टाईट गर्छु यस पुर्व के भयो मलाई थाह भएन भनेर पन्छीनु भयो । ति विलहरु बनाउन त होटलाई दिईयो । तर त्यो लगेर पास गरियो गरिएन त्यो छानविन हुनु पर्ने देखिन्छ । पास गरिएको भए कुन कार्यक्रमा कति मान्छे आए ? सहभागिको लिस्ट हुनु प¥यो । एकै दिनमा पाँच सात सय मानिस के कार्यक्रममा आए ? त्यो पनि कतै एक हप्ता त कतै पन्ध्र दिनको विचमा चार पाँच सय जना । मैले यो कुरा खौंजौं हामी सबै पत्रकारहरुले सल्लाह गरेर लागि रहेका थियौं ।
पछि जिविसले मासिक रुपमा पत्रकार सम्मेलन राख्यो त्यहाँ पनि स्थानिय विकास अधिकारी समक्ष मासिक खाजा र ईन्धन खर्चको विवरण दिनुहोस भनेर कुरो राखे तर त्यसै महिना देखि नियमित गरिने भनिएको पत्रकार सम्मेलन बन्द भयो । तर म ढिलो चाँडो त्यसको भण्डाफोर गर्ने क्रममै थिएँ र त्यो खाजा खर्चको विवरण दिएको हुँ । यो छानविन गर्न स्थानिय राजनैतिक दलहरुले खोजेनन् पनि उनिहरु पनि मुछिएका छन् भनेर बुझ्न सकिन्छ । तिनै विलहरुले पनि जिविस गुल्मीको मुहार हेर्दा राम्रो भए पनि भित्र कस्तो छ भन्ने बुझ्न सकिन्छ । न्याय प्रेमी गुल्मेलीगुल्मेली जनताहरु एकचोटी उठ्नै पर्ने हुन्छ । ति विलहरु तत्कालिन स्थानिय विकास अधिकारी दिपेन्द्र पौड्यालको सरुवा भई जाने र वर्तमान ज्ञवाली आउने वेलाको विचमा बनाउन लगाईएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग