Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पा बस दुर्घटना : लाशको खल्तीबाट मोबाइलको घण्टी बज्दा...

Published on 1:06:00 AM //

जगदीश भट्टराई/अन्नपूर्ण पोस्ट
पाल्पा : बिहीबार बिहान पौने ६ बजेको झिसमिसे अँध्यारो बीच भालुखोलाको डरलाग्दो पहरो छिचोल्दै दुर्घटना स्थल पुग्दा 'रुन्छ नि मन किन रुँदैन' बोलको रिङ्गटोन भएको मोबाइलको घण्टी बज्यो। उद्धारका लागि पुगेको समूह अचम्ममा पर्‍यो। यत्तिकैमा एक प्रहरी जवानले भने, 'यी यहाँ पनि एउटा लाश रहेछ।'

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख.४९२४ रात्रिबस पाल्पाको चिदीपानी २ गाविसको भालु खोला र धैरैनीको बीचमा राति २ बजेर २० मिनेट जाँदा दुर्घटना भएको थियो। प्रहरी उद्धार टोली घटनास्थलमा थियो।

खोलाको छेउबाट ठूलै स्वरमा घण्टी बजेपछि सबै चनाखो भए। पहरोमा डोरी तानिएको थियो, प्रहरी जवान त्यही डोरीको सहाराले माथि उक्लिए। लाश विभत्स थियो, क्षतविक्षत थियो। कालो पाइन्टको खल्तीमा रहेको मोबाइल बजेको बज्यै थियो।

हाकिमको आदेश लिएर प्रहरी जवानले लाशको खल्तीबाट बज्दै गरेको मोबाइल निकालेर 'हेलो' के भनेका थिए उताबाट 'रामु भाइ हो' भन्ने आवाज आयो। के भन्ने अन्यौल भएर उनले चट्ट फोन काटे र मोबाइल तल उभिएका पाल्पाका प्रहरी निरीक्षक कृष्ण सापकोटालाई थमाए।
उद्धार गर्दै नेपाल प्रहरी र नेपाली सेना उद्धार गर्दै नेपाल प्रहरी र नेपाली सेना 

सापकोटाको हातमा फोन पर्ना साथ फेरि ठूलो स्वरमा घण्टी बज्न थाल्यो, लोकगायक पुरुषोत्तम न्यौपानेको स्वरमा रिङटोन बज्दै थियो, रुन्छ नि मन किन रुँदैन।

सुरुमा उनले पनि फोन उठाउन चाहेनन्। तर एकोहोरो रिङ बजेको बज्यै गरेपछि फोन के उठाएका थिए, उताबाट आवाज आयो, 'म रामको बहिनी बोलेको, त्यहाँ गाडी खस्यो भन्ने सुनेँ। ऊ कस्तो छ?' उनले फोन काटे।

कुनै पनि लाश सग्ला थिएनन्। प्राय थिचिएका, अनुहार चिन्नै गाह्रो पर्ने खालका। अनि सबै पुरुषहरुका मात्रै। उत्तानो परेको अवस्थाको अर्को लाश बोक्न लाग्दा फेरि घण्टी बज्यो। सापकोटा बाध्य भए बोल्न, 'तपाई जिल्ला प्रहरी कार्यालय पाल्पा आउनु होस्, सबै कुरा त्यहाँबाट थाहा हुन्छ।'

घटनास्थलमा रहेका हामी सबै भावविह्वल भयौँ। अनि लाशसँगै उकालो लाग्यौं।

पोखरादेखि स्याङ्जा गल्यांग हुदै बुटवलको सुनौलीका लागि हिँडेको बस राति ८ बजे पोखराबाट छुट्दा आठ जना मात्रै यात्रु लिएर हिँडेको थियो। मध्यरात साढे एक बजे गल्याङ आएर भात खाएका चालकलाई भालुखोलाको उकालोमा निद्रा लागेको कारण बस सडकदेखि तल खसेको हुनुपर्ने प्रारम्भिक अनुमान छ प्रहरीको।

दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सबै पुरूष छन्।


उपचारार्थ भर्ना घाइतेहरु
१. स्याङ्जा जिल्ला चिन्नेबास–७, घर भई हाल पोखरा रामबजारमा बस्ने वर्ष २७ का तुलबहादुर राना,
२. बर्दिया मंगलागढी–९ की ३९ वर्षीया कमला ठकुरी –अवस्था गम्भीर
३. रुकुम मरावाङ्ग–८ बस्ने वर्ष ४३ का नरबहादुर बुढाथोकी
४. वाग्लुङ्ग भकुण्डे–६ बस्ने वर्ष २४ का सूर्यबहादुर खत्री

लुम्बीनी मेडिकल कलेज प्रभास
१. स्याङ्जा पुतली बजार नगरपालिका–२ बस्ने १९ वर्षका
दिपक कुँवर,
२. बर्दिया मंगलागढी–९ बस्ने २७ वर्षकी चन्दा ओली, हाल पोखरा बस्ने
३. रुपन्देही बुनपा–६ बस्ने २४ वर्षका प्रदीप केशरी - अवस्था गम्भीर ।

दुर्घटनामा मृत्युहुनेहरु
१. पाल्पा, मुझुङ्–८ का ३३ वर्षीय रोमन सिं सारु - चालक
२. बाग्लुङ्ग भिमगिठेका २८ वर्षीय मोहन के.सी - गाडीधनी
३. गुल्मी मिहाल पोखरीका २६ वर्षीय गिरीराज भट्टराई
४. गुल्मी सिमिचौरका दिनबहादुर बस्नेत
५. रुकुम मरवाङ् ९ बस्ने वर्ष ३८ का राजबहादुर गुरुङ
६. पर्वत ठूलीपोखरीका बाबुराम आचार्य
७. मोरङ विराटनगरका २१ वर्षीय गोपाल ढकाल
८. बर्दिया मौरागढी –९ बस्ने २१ वर्षीया विराट सिं ठकुरी
९. कास्की भरतपोखरीका २५ वर्षीय बुर्तिबहादुर विक
१०.पर्वत खौलालाकुरी ३ बस्ने वर्ष २२ का राजकुमार सुनार
११.अर्घाखाँची नरपानी ८ बस्ने अन्दाजी ६०–६३ का पदमबहादुर झाक्री
१२.बर्दिया मंग्रागढीका वर्ष २७ का रामु ओली,
१३. दाङ कान्तिपुर कौडिया बस्ने वर्ष ३१ का टेकराज पौडेल
    एक जनाको सनाखत हुन बाँकी ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग