Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिकराल बन्दै छ गुल्मीमा आत्महत्या

Published on: // ,
विष्णु पौडेल
गुल्मी, १० माघ । पछिल्लो समय गुल्मीमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ६१ जनाले आत्महत्या गरेकोमा यो आर्थिक वर्र्षको पहिलो ६ महिनामै आत्महत्या गर्नेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यही अनुपातमा आत्महत्या गर्नेको संख्या वढ्ने हो भने यो वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि हुने जनाइएको छ । यो वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कात्तिक महिनामा ११ जनाले आत्महत्या गरेको तत्थ्यांक प्रहरी कार्यालयमा रहेको छ । पछिल्लो ६ महिनामा आत्महत्या गर्नेमध्ये ३१ जना झुन्डिएर, तीनजना हाम्फालेर र तीनजना विष सेवन गरी मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए ।
प्रहरीका अनुसार आत्महत्या अधिकांश प्रेम सम्बन्धकै कारण हुने गरेको छ । सानै उमेरमा प्रेम गर्नु र जबर्जस्ती घरबाट विवाह गरिदिँदा किशोर अवस्थाका किशोरकिशोरीले बढी आत्महत्या गर्ने गरेको प्रहरी निरीक्षक
श्रीवास्तवले बताए । प्रहरीका अनुसार आत्महत्या गर्ने अर्को कारण वैदेशिक रोजगारी पनि बनेको छ । श्रीमान् विदेश गएपछि श्रीमती परपुरुषसँग सम्बन्ध गाँस्दा, आर्थिक लेनदन, मादकपदार्थ सेवन गरी श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्नु, श्रीमान्को
आदेशविपरीत श्रीमतीले आफूखुसी काम गर्ने जस्ता विषय पनि आत्महत्याको कारण बन्ने गरेको उनले बताए ।
यी कारणहरूसँगै गरिबी र अशिक्षाले पनि आत्महत्या बढाएको छ । कतिपयले जीवनबाट हार खाँदा पनि आत्महत्या गर्ने गरेका छन् भने छोराछोरीको पालनपोषणमा समस्या हुँदा आत्महत्या गर्ने बाबुआमा पनि छन् ।
पछिल्ला केही वर्षयता आत्महत्याले जिल्लामा विकराल रूप लिँदासमेत यसतर्फ कसैको ध्यान जान सकेको छैन । जिल्ला प्रहरी कार्यालय गुल्मीले समय–समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाए पनि अरू कसैले यसतर्फ ध्यान नदिँदा प्रभावकारी बन्न सकेको छैन । महिला अधिकारकर्मी कमला पुनले आत्महत्या पछिल्लो समय ह्वात्तै बढेकाले नियन्त्रण गर्न नसके भयावह अवस्था आउने खतरा भएकाले सबैले समयमै ध्यान दिनुपर्ने बताइन् ।

एलाक डीपीको औपचारिक उद्घाटन आज

Published on: //
विष्णु पौडेल
गुल्मी, पुस २२ । सरकारी सेवालाई चुस्त वनाउँदै थप गुणस्तरीय वनाउने उद्देश्यले गुल्मीमा सञ्चालित एलाक डीपी परियोजनाको औपचारिक उद्घाटन आज हुँदै छ ।
ट्रान्परेन्सी इन्टरनेशनल नेपालद्धारा सुशासन अभियान गुल्मी मार्फत सञ्चालित परियोजनाको ट्रान्परेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुवहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विहान ११ वजे जिल्ला विकास समितिको सभाहलमा हुने उद्घाटन कार्यक्रमको सवै तयारी पुरा भएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो ।उद्घाटन कार्यक्रमको लागी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष केसी आजै गुल्मी आईपुग्नुभएको छ । सेवाप्रदायक सरकारी कार्यालयको सार्वजानिक सेवालाई थप गुणस्तरीय वनाउँदै समयमै सेवा पु¥याउन सहयोग गरिने लक्ष्य सहित गुल्मीमा परियोजना लागु गरिएको एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले वताउनुभयो ।
भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रमहरु मार्फत सहकार्य गर्दै आएको ट्रान्परेन्सीले इन्टरनेशनल नेपालले दोस्रो चरणका ६ जिल्ला अन्तर्गत गुल्मीमा पनि परियोजना सञ्चालन गरेको हो । परियोजनाको दोस्रो चरणमा गुल्मी सहित काठमाण्डौ, धादिङ्ग, सुर्खेत, कैलाली र मोरङ्ग जिल्लामा परियोजना लागु गरिएको छ । सरकारी निकाय तथा सार्वजानिक संस्थानवाट प्राप्त हुने सेवा लिँदा हुने हैरानी, ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा परियोजनाले काम गर्ने कार्यक्रम अधिकृत कुँवरले वताउनुभयो ।
सरकारी कार्यालयवाट सेवा प्राप्त गर्दा हैरानी तथा ढिलासुस्ती खेप्नुपरेमा कानुनी सरसल्लाह र परामर्शका लागीे कार्यलयको सम्पर्क नम्वर ०७९५२०८५४ मा फोन गरी गुनासो गर्न उहाँले आग्रह गर्नुभयो । 

गुल्मीमा १३ दलको समानुपातिकमा निल

बिष्णु पौडेल
गुल्मी । गुल्मीका तीन ओटा निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलले समानुपातिक तर्फ एक मत पनि पाएका छैनन् । गुल्मी १ मा सबैभन्दा धेरै ८, गुल्मी २ मा २ र गुल्मी ३ मा ३ गरी १३ राजनीतिक दलले एक मत पनि नपाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शनिवार राती सकिएको मतगणनाअनुसार गुल्मी–१ मा संघीय सदभावना पार्टी, संघीय समावेशी समाजवादी पार्टी, सोसल रिपब्लिकन पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जन विकास पार्टी, सहकारी पार्टी, नेपाल शान्ति क्षेत्र परिषद् र राष्ट्रिय चुरेभावर पार्टी नील भएका हुन् । यस्तै गुल्मी–२ मा सोसल रिपब्लिकन पार्टी र मधेसी जनअधिकार फोरम मधेस निल छन भने गुल्मी–३ मा ओम सेना नेपाल, तराई पहाड हिमाल समाज पार्टी र राष्ट्रिय जन विकास पार्टीले पनि एक मत पनि ल्याएका छैनन् । त्यस्तै गुल्मी १ मा १०, गुल्मी २ मा ९ र गुल्मी ३ मा पनि ९ दलले १-१ मत मात्रै पाएका छन् ।
समानुपातिकतर्फ सहभागि १ सय २२ दलमध्ये गुल्मीमा सबैभन्दा बढी नेकपा एमालेले ४४ हजार ५ सय ३५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४० हजार ८ सय ६३ मत पाएको छ । एकीकृत नेकपा माओवादीले १४ हजार ५ सय ३३ मत प्राप्त गरेको छ । क्षेत्रगत रुपमा नेकपा एमालेले गुल्मी–१ बाट ९ हजार ७ सय ७०, नेपाली कांग्रेसले १० हजार ३ सय ८६ र एकीकृत नेकपा माओवादीले ३ हजार ९ सय ९९ मत ल्याएको छ ।

चक्काजामले अलपत्र बिरामीको एमालेका कार्यकर्ताद्धारा उद्धार

विष्णु पौडेल
गुल्मी, कात्तिक २७ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको चक्कजामले गर्दा अलपत्र परेका विरामीलाई प्रचारप्रसारमा पुगेका एमालेका कार्यकर्ताले बोकेर अस्पताल पुर्‍याएका छन्।

गुल्मीको सदरमुकाम तम्घासवाट पश्चिममा पर्ने हस्तिचौर गाविस वडा नम्वर ४ उजुङका ७० वर्षीय दण्डपाणी ज्ञवालीलाई एमाले निकट युथफोर्स र अनेरास्वीयुका कार्यकर्ताले वोकेर जिल्ला अस्पताल ल्याएका हुन्।

चुनावी प्रचारप्रसारमा रहेका युवाहरुले विरामीको विचल्ली देखेपछि उजङवाट छल्दीखोलासम्म्ा स्टेचरमा बोकेर ल्याएको र त्यसपछि चुनावी प्रचारमा प्रयोग भएको एमाले क्षेत्र नम्वर ३ का उमेद्वार गोकर्ण विष्टको गाडीमा सदरमुकामस्थित जिल्ला अस्पतालसम्म ल्याएको अनेरास्वीयु क्षेत्रीय सचिवालय सचिव आरएन विसीले वताए।

उनका अनुसार झण्डै एकसातादेखि दमका कारण थलिएका ज्ञवाली बन्दले गर्दा उपचार गराउन आउन सकेका थिएनन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउँदा जिल्ला अस्पताल जान सुझाव दिएपनि आर्थिक अभावका कारण एम्भुलेन्स रिजर्व गर्ने पैसा नभएर घरमै वसेको विसीले वताए।

उनको अहिले जिल्ला अस्ताल तम्घासमा उपचार भैरहेको छ। यसैबीच चक्काजामको प्रभाव गुल्मीमा आंशिक रुपमा परेको छ। जिल्लाभित्रै फाट्फुट्ट सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन चलेका छैनन्। पश्चिम नेपाल बस व्यवसायी समितिका गुल्मी प्रमुख महेश काउछाले यात्रु नभएको वस नचलाएको वताए। उनले स्कटिङ्ग गरी एउटा बस बिहान वुटवल पठाएको जानकारी दिए ।

चक्काजामले रेसुंगामा भक्तजन घटे

विष्णु पौडेल
गुल्मी, कात्तिक २७ । हरिवोधनी एकादशीको अवसरमा गुल्मीका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा भक्तजनको घुईँचो लागेको छ। सदरमुकामसँगै रहेको रेसुंगा तथा कालिगण्डकी नदी रिडीमा नुहाने भक्तजनको भिड लागेको हो।

रेसुंगा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गरेमा अञ्जानमा गरेका सवै पाप नष्ट हुने धार्मिक विश्वास रही आएको छ। रेसुंगा पोखरीमा स्नान गर्नेको विहानैदेखि घुईँचो लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले वताए।

तर गत वर्षको तुलनामा अहिले भक्तजनको उपस्थिती कम रहेकेा छ। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको चक्काजामका कारण प्रर्याप्त सवारीसाधन नचल्दा टाढाटाढावाट भक्तजनहरु आएका छैनन्। यहाँको दर्शन गर्न गुल्मी सहित, अर्खाघाँची, वाग्लुङ्ग, प्युठान लगायतका विभिन्न स्थानवाट भक्तजनहरु आउने गर्थे।

रेसुंगामा प्रत्येक वर्षको साउन महिनाभर विशेष पुजाआजा हुन्छ भने हरीवोधनी एकादशीको अवसरमा विशेष पुजाआजा हुन्छ। यस्तै गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थलमा पर्ने रिडीमा पनि कालीगण्डकी नदीमा स्नान गर्नेको भीड लागेको छ ।  

तिहारको मौका छोप्दै एमाले धमाधम चुनावी प्रचारमा

विष्णु पौडेल
गुल्मी, कात्तिक १७ । संविधानसभा निर्वाचनको आउन १६ दिन वाँकी रहँदा नेकपा एमालेले प्रचारप्रसार तथा घरदैलो अभियानलाई तिव्र पारेको छ । गुल्मीको तिनओटै निर्वाचन क्षेत्रका उमेद्वारहरु प्रचारप्रसारको लागी अहिले घरदैलो अभियानमा लाग्नुभएको छ । क्षेत्र नम्वर १ की उमेद्वार मैना भण्डारी, क्षेत्र नम्वर २ का उमेद्वार प्रदीप ज्ञवाली र क्षेत्र नम्वर ३ का उमेद्वार गोकर्ण विष्ट आ–आफ्नो क्षेत्रका मतदातासँग भेटघाटमा व्यस्त हुनुहुन्छ । तिहारको अवसरमा घरवाहिर रहेकाहरु पनि यो समयमा घर आउने भएकाले यो मौकाको सदुपयोग गर्न एमालेले घरदैलो अयिभान तिव्र पारेको हो । अघिल्लो निर्वाचनमा जिल्लाभरवाट एउटा सिट मात्रै जितेको एमालेले अहिले सवै सिटमा जित्ने रणनीतिका साथ अगाडि वढेको छ ।
यसैविच नेकपा एमाले क्षेत्र नम्वर २ का उमेद्वार प्रदीप ज्ञवालीले शनिबार हर्दिनेटा गाविसमा मतदातासँग भेटघाट गर्नुको साथै चुनावको प्रचारप्रसार गर्नुभएको छ । हर्दिनेटा गाविसको वडा नम्वर १, ३ र ४ का स्थानीयवासिन्दाहरुसँग ज्ञवालीले भेटवार्ता गरी मतदान गर्न आग्रह गरेको अनेरास्वीयु जिल्ला सचिव राजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।
नरपति काफ्लेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा नेकपा एमालेका क्षेत्र नम्वर २ का उमेद्वार प्रदीप ज्ञवालीको प्रमुख आतित्थ्यता तथा जिल्ला कमिटि उपाध्यक्ष मधुकृष्ण पन्तको विशेष आतित्थ्यता रहेको थियो । तेजकान्त अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन थम्मन घिमिरेले गर्नुभएको थियो । साथै सोही अवसरमा जनसांस्कृतिक महासंघका कलाकार शुशील श्रेष्ठ, रोहित सुवेदी, पवन परियार, नन्दु परियार, सुरज राना लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

पुर्कोटमा एमालेको यूवा भेला

Published on: // ,
बिष्णु पौडेल
गुल्मी, कार्तिक २ गते । नेकपा एमाले पुर्कोटदह गाउँ कमिटिको आयोजनामा यूवा भेला सम्पन्न भएको छ । भेलाले हरि विकको संयोजकत्वमा ५३ सदस्यीय यूवा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सचिवमा अनिल कुँवर रहनुभएको छ ।
भेलामा क्षेत्रीय सदस्य टोकम कँुवर, पुर्व गाविस उपाध्यक्ष शिवलाल घर्ति, गाउँ कमिटि अध्यक्ष गोविन्द कुँवर, उपाध्यक्ष गुमानसिंह जिसी, दुर्गा वहादुर थापा लगायतले चुनावमा एमालेको विजयीको आवश्यकतामाथि प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैविच नेकपा एमाले हस्तिचौर वडा नं. १ मा चुनावी प्रचार भेला सम्पन्न भएको छ । जिल्ला कमिटि सदस्य टिका रेश्मीको प्रमुख आतित्थ्यतामा भएको भेलामा तीन नम्वर क्षेत्रीय सचिवालय सदस्य जगत केसी, क्षेत्रीय सदस्य कृष्णवहादुर रायमाझी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा इन्द्रवहादुर कुँवरको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ । कार्यक्रम गाउँ कमिटि अध्यक्ष राममल्ल ठकुरीको अध्यक्षता तथा सचिव नारायण कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । 

दसैं नजिकिँदै गर्दा बजार अनुगमन तिब्र

Published on: // ,
विष्णु पौडेल
गुल्मी । दशैँ नजिकिँदै गएपछि गुल्मीमा बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वमा कालोवजारी हुन सक्ने भन्दै वजार अनुगमनलाई तिव्र पारिएको हो । केही दिन अगाडि सदरमुकाम तम्घास बजारका किराना पसलहरुको अनुगमन गरेको अनुगमन समितीले रिडी बजारको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा रिडी बजारबाट चाउचाउँ बिस्कुट, दालमोठ, बेसार मसला, बियर लगायत बिभिन्न म्याद नाघेका बस्तुहरु नियन्त्रणमा लिएको छ । साथै समितीले उपभोक्ताहरुलाई ठग्ने गरि ढक काटाहरु नमिलाएको भन्दै ढक काटाँ पनि नियन्त्रणमा लिएको बजार अनुगमन टोलीका सयोजक सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।

गुल्मीका ३ ओटै क्षेत्रमा जित्छौँ: विष्ट

Published on: // ,
विष्णु पौडेल
गुल्मी, असोज ४ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व उर्जामन्त्री गोकर्ण विष्टले नेकपा एमालले देशभरवाट जित्ने दावी गर्नुभएको छ । गत संविधान सभामा विभिन्न कारणले गर्दा एमालले जित्न नसकेको वताउँदै उहाँले अहिलेको निर्वाचनमा एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो । नेकपा एमालेका जनवर्गीय संगठनको क्षेत्रीय अधिवेसनलाई शुक्रबार अमरपुरको राङदलमा चौरमा उद्घाटन गर्दै उहाँले गुल्मीका तीनओटै निर्वाचन क्षेत्रवाट एमाले विजयी हुने जिकिर गर्नुभयो । उहाँले संविधानसभा निर्वाचनको विकल्प नरहेको वताउँदै मंसिर चारको निर्वाचन जुनसुकै अवस्थामा पनि हुने वताउनुभयो ।

दुई दिनमा झण्डै १७ लाख कर संकलन

Published on: // ,
विष्णु पौडेल
गुल्मी, असोज ४ । गुल्मीका करदतावाट दुई दिनमा झण्डै १७ लाख कर संकलन गरिएको छ । शुक्रबार सकिएको घुम्ती कर संकलन कार्यक्रमवाट १६ लाख ८४ हजार ८ सय ३६ रुपैँया कर संकलन गरिएको उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेलले वताउनुभयो ।
उद्योग वाणिज्य संघको पहलमा सदरमुकाम तम्घास सहितका क्षेत्रमा व्यवसाय तथा विभिन्न पेशा गर्दै आएका करदातावाट उक्त रकम संकलन गरिएको हो । त्यसमध्ये आयकर १२ लाख ७० हजार १ सय १६ र घरवहाल कर ४ लाख १४ हजार ७ सय २० रहेको कर संकलन टोलीका प्रमुख कर अधिकृत दिनेश शर्माले वताउनुभयो । स्थायी लेखा नम्वर (प्यान) लिई व्यवसाय तथा पेशा गर्दै आएका  १ हजार १ सय ५० साना करदातावाट कर संकलन गरिएको हो । सदरमुकाम तम्घास लगायत आसपासका क्षेत्रमा व्यवसाय तथा पेशा गर्दै आएका करदातावाट उक्त रकम संकलन गरिएको र भोली रिडीमा पनि कर संकलन हुने पोख्रेलले वताउनुभयो । उद्योग वाणिज्य संघले पाँच वर्षदेखि करदाताको घरदैलोमै सेवा पु¥याउने उद्देश्यले कर कार्यालय वुटवलको समन्वयमा जिल्लामै कर संकलन कार्यक्रम सञ्चालन गर्ने गरेको छ । सदरमुकाम तम्घासका अधिकांश घरधनीले घरलाई भाडामा लगाउँदै आएपनि घर वहाल कर भने थोरैले तिर्ने गरेका छन् ।

पालुखा र धुर्कोटका विद्यालयमा विविध कार्यक्रम

Published on: // ,
विष्णु पौडेल
गुल्मी, असोज ४ । पालुखा मावि हस्तिचौर ८ गुल्मीमा वालअधिकार विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चार सदनका १६ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा विजय कुँवर प्रथम, रुपेश खनाल द्धितीय, सन्दीप केसी तृतीय र विष्णुमाया विक सान्तवना भएको स्थानीय लक्ष्मण विश्वकर्माले जानकारी दिनुभएको छ ।
यसैविच ईन्दिरा माध्यामिक विद्यालय धुर्कोटरजस्थल गुल्मीले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सुधारका विषयमा अभिभाक, शिक्षक र विद्यार्थीविच अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सिकाई प्रकृयालाई उपलव्धी मुलक वनाउनका लागी शिक्षक, विद्यार्थी र अभिभावकले खेल्नुपर्ने भुमिका विषयमा छलफल भएको थियो ।
शिक्षक अभिभाक संघका अध्यक्ष रामवहादुर जिसीको अध्यक्षता, सहायक प्रधानाध्यापक कृष्णवहादुर केसीको स्वागत मन्तव्य तथा शिक्षक रेशम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आज देखी रेडियो स्काई चौथो वर्षमा प्रवेश

Published on: // ,
विष्णु पौडेल
गुल्मी, असौज १ । सामुदायिक रेडियो स्काई ९० दशमलव ४ मेगाहर्ज आज देखि चौथो वर्षमा प्रवेश गर्दैछ । चौथो वर्ष प्रवेशको अवसरमा रेडियोले आज विहान ८ वजे शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको स्टेशन म्यानेजर घनश्याम गौतमले जानकारी दिनुभयो ।
२०६७ साल असार २३ गतेदेखि परीक्षण प्रशारण सुरु गरेको रेडियोले असोज १ गतेदेखि नियमित प्रशारण शुरु गरेको थियो । नियमित प्रशारण भएको दिनको सम्झानामा प्रत्येक वर्षको असोज १ गतेलाई रेडियाले स्थापनाको रुपमा मनाउँदै आएको छ । सामाजिक न्यायका लागी सञ्चारअभियानद्धारा सञ्चालित रेडियो गुल्मी तथा अर्घाखाँचीका १ सय ३१ जना संस्थापक सदस्यको सक्रियतामा स्थापना भएको हो ।
एक सय वाटबाट प्रशारण शुरु भएको रेडियोको प्रशारण क्षमतालाई यसैवर्षदेखि वढएर पाँच सय वाट पु¥याएको रेडियोका अध्यक्ष शालिकराम पन्थीले जानकारी दिनुभयो । प्रशारण क्षमता वढाएसँगै ८८ दशमलव ४ मेगाहर्जवाट प्रशारण हुँदै आएको रेडियो २०७० असार १ गतेदेखि ९० दशमलव ४ मेगाहर्जमा प्रशारण भैरहेको छ । स्थापनाको छोटो समयमै लोकप्रिय वन्न सफल रेडियोले जनचाहना अनुसारका अरु कार्यक्रमहरु थप्दै लैजाने स्टेशन म्यानेजर घनश्याम गौतमले वताउनुभयो । गुल्मी, पाल्पा, अर्घाखाँची, वाग्लुङ्ग, रोल्पा, रुकुम, प्युठान, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा लगायतका एक दर्जन वढि जिल्लामा सुन्न सकिन्छ । 

१८ वर्षदेखि श्रीमानको प्रतीक्षामा...

Published on: // ,
विष्णु पौडेल
गुल्मी, १७ भदौ । ‘प्यारी गंगा, घर जस्तो विदेश हुँदो रहेनछ । मैले अहिलेसम्म नगरेको दुःख यहाँ गर्नुपरेको छ । काम पनि साह्रै अप्ठ्यारो छ । पासपोर्ट दलालले नै राख्यो, पैसा पनि उसैले खाइदियो । हाम्रो जीवन भनेका नै भएका दुईओटा छोरी हुन्, तिनलाई राम्रोसँग पढाउनु अनि आमाबुबाको पनि ख्याल गर्नु ।
म सकेसम्म चाँडै आउने कोसिस गर्छु ।’ गुल्मी हर्दिनेटाकी गंगा अर्याललाई उनका श्रीमान् कृष्णले विदेशबाट लेखेको अन्तिम चिठीको अंश हो, यो । रोजगारीका लागि १८ वर्षपहिले मलेसिया छिरेका कृष्णले यो चिठी २०५३ सालको माघ महिनामा पठाएका थिए । धेरै धन कमाएर परिवारलाई सुखी बनाउने सपना साँचेर १९ चैत २०५२ मा मलेसिया पसेका उनको अहिलेसम्म अत्तोपत्तो छैन । ज्वाइँ नाता पर्ने हर्दिनेटाका लक्ष्मण खत्रीसँगको सम्पर्कमा मलेसिया छिरेका उनको करिब डेढ वर्षसम्म चिठीपत्र आदान–प्रदान हुने गरे पनि त्यसपछि मरेको हो ज्युँदो के हो, थाहा छैन । कृष्णलाई लैजाने लक्ष्मण खत्रीको पनि मृत्यु भइसकेको छ । ‘हामी गरिब परिवारका मान्छे, घरमा बसेर पनि जीवन काट्न गाह्रो छ । दुईओटा सन्तान भइहाले ।
यिनीहरूलाई पनि पाल्नुप¥यो र शिक्षा–दीक्षा पनि राम्रै दिनुप¥यो । समाजमा चलिआएको रीतिरिवाज पनि मान्नै प¥यो । अझ त्यसैमाथि पनि बुबाआमा हुनुहुन्छ । यहाँ केही काम पनि पाइन्न । पाइहाले पनि पैसै हुन्न ।’ १८ वर्षअघिको श्रीमान्को यो पत्रको अंश हेर्दै गंगा भक्कानिन्छिन् । सँगै जिउँला मरौंला भनेर २०४६ सालमा बिहे गरेकी गंगाले श्रीमान्सँगै बस्नु त परैको कुरा, बोली सुन्नसमेत पाएकी छैनन् । काखमा तीन महिनाकी कान्छी छोरी छाडेर श्रीमान् कृष्ण बिदेसिएका थिए । एक÷दुई वर्षमा फर्केर राम्रो घरबार बसाल्ने उद्देश्यअनुरूप श्रीमान् विदेश गएको गंगा बताउँछिन् । ‘उहाँले काखमा छाडेर गएकी कान्छी छोरी पनि १८ वर्ष पुगिसकी तर उहाँको अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘जति वर्ष भए पनि म उहाँकै प्रतीक्षामा छु ।’
अन्तिम चिठीमा बैंकमा खाता खोलेर खाता नम्बर र सबै परिवारको फोटा पठाइदिन भनेको उनले बताइन् । ‘अन्तिम चिठीमा खाता नम्बर र छोरीहरूका फोटाहरू पठाउन भन्नुभएको थियो । त्यो पनि पठायौं,’ उनले भनिन्, ‘त्यसपछि पनि धेरै चिठी पठायौं तर उताबाट कुनै जवाफ आएन ।’ मलेसियामा काम गर्न गएका छिमेकीसँग खोजी गरिदिन फोटा पठाएको भए पनि अन्यत्र कतै उजुरी नगरेको उनले बताइन् । आफूसँगै भएका सासू–ससुराको मृत्यु हुँदा पनि श्रीमान् नहुँदा आफैंले दाहासंस्कार गरेकी गंगाले आफ्नो त जसोतसो मन बुझाए पनि छोरीहरूको मन बुझाउन नसकेको पीडा पोखिन् । जेठी छोरीको विवाह गरेर गएपछि अहिले कान्छी छोरी र गंगा मात्रै घरमा छन् ।
बेपत्ता भएको यत्तिका वर्ष भए पनि श्रीमान् घर फर्कने आशा भने गंगामा मरेको छैन । उनी भन्छिन्, ‘एक दिन फर्केर आउनुहुन्छ भन्ने आशमा बसेकी छु ।’ उनी मात्रै होइन, मरभुङ–१, नमताका केशर गिरीका छोरा बाबुराम पनि बेखबर छन् । घरबाट धन कमाउन भन्दै १२ वर्षअगाडि बिदेसिएका बाबुरामको अवस्था केही थाहा नभएको केशर बताउँछन् । घरको आर्थिक अवस्था कमजोर भएपछि रोजगारीको सिलसिलामा मलेसिया गएका उनी न घर आएका छन्, न कसैले उनको बारेमा घरमा खबर नै ल्याएका छन् । यस्तै, जुनिया–८ का मोहनकुमार थापा खाडी मुलुक मलेसिया गएको आठ वर्ष पुग्यो ।
अहिलेसम्म उनको कुनै पनि सन्चो बिसन्चो गाउँमा आएको छैन । श्रीमती कुन्ती र दुई छोराछोरी हरेक दिन मोहनको प्रतीक्षामा छन् । ‘चाडपर्वमा श्रीमान् नहुँदा साह्रै नरमाइलो लाग्छ, ममी हाम्रो बुबा आउनुहुन्न भन्छन्, जेनतेन दुःख–सुखले दुईछाक भोकै राखेकी छैन । बस्ने बास पनि छैन, अर्काको घरमा बस्दै आएकी छु, श्रीमान् नभएपछि गाउँलेले पनि हेप्छन्,’ उनी भन्छिन् । गुल्मीमा रोजगारीको सिलसिलामा विदेश गएर बेपत्ता हुनेको संख्या यकिन नभए पनि सयौंजना विदेशी भूमिमा मृत्यु भइसकेको अनुमान गरिन्छ ।
वैदेशिक रोजगारमा जाने कामदारको क्षेत्रमा काम गर्न भन्दै एक वर्ष पहिले खुलेको संस्था पिपुल फोरमसँग पनि यसबारे कुनै आधिकारिक तथ्यांक छैन । फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्याल भन्छिन्, ‘हामीसँग पनि विदेश गएर हराएका कामदारको बारेमा कुनै तथ्यांक छैन । निवदेन आएमा मात्रै थाहा हुने हो । अहिलेसम्म हर्दिनेटाको एउटा निवदेन मात्रै परेको छ ।’ फोरमका अनुसार गुल्मीबाट भारतबाहेक अन्य मुलुकमा ४८ हजार ३ सय ८६ जना कामदार गएका छन् ।

डेढ महिनामा १२ मुद्धा

Published on: // ,
विष्णु पौडेल
जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो डेढ महिनाको अवधिमा कार्यालयमा परेका मुद्धा सार्वजाकि गरेको छ । आज विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले साउन १ देखि भदौ १५ सम्म कार्यालयमा परेका मुद्धाको विवरण सार्वजानिक गरेको हो ।

यस अवधिमा विभिन्न प्रकृतिका गरी १२ ओटा मुद्धा कार्यालयमा परेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा झुण्डिएर आत्महत्या सम्वन्धि २, भवितव्य ज्यान सम्वन्धि ३, सवारी दुर्घटनावाट ज्यान २, जवरस्ती करणी १, गौवध १, हाम फाली आत्महत्या १ र केही सामान्य अपराध एक गरी १२ ओटा मुद्धा दर्ता भएका छन् । यी मध्ये १० मिल्न मिल्न वाकी रहेका छन् । अन्यको मुद्धाको अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै १९ ओटा ठाडो उजुरी परेको प्रहरीले जनाएको छ । त्यसमध्ये १६ ओटा मिलेका छन भने ३ ओटा अनुसन्धानको प्रकृयामा रहेको डीएसपी लम्सालले वताउनुभयो । 

गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनाव जित्ने एमाओवादीको दावी

Published on: //
विष्णु पौडेल
गुल्मी, २३ साउन । चुनावी अभियानमा जुटेको एकीकृत नेकपा माओवादीले जिल्लाका तीन ओटै क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ ।
जिल्ला संयोजक सुदर्शन वरालले वुधवार विज्ञप्ती निकालेर हजारौँ कार्यकर्ता अरु पार्टी परित्याग गरी आफ्नो पार्टिमा प्रवेश गर्ने लहर चलेकाले जित्ने सुनिश्चित भउको दावी गरेका छन् । ‘अहिलेसम्म गरिएको चुनावी कार्यक्रम हेर्दा अरु पार्टि छोडेर हाम्रोमा आउन लहर वढेको छ,’ उनले राजधानीसँग भने, ‘एमालेको गढ मानिएको क्षेत्र नं. २ मा पनि एमाले छोडेर धेरै जना हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ, यसले हाम्रो जित सुनिश्चित गरेको छ ।’
अहिलेसम्म ५० गाविसमा भएको चुनावी कार्यक्रमवाट एमालेका पुर्व सांसदसहित ४८ जना माओवादीमा प्रवेश गरेको उनले वताए । नेकपा एमाले गुल्मीका जिल्ला कमिटि सदस्य तथा पुर्व सांसद टंकप्रसाद पोख्रेल, एमाले लुम्विनी अञ्चल कमिटि सदस्य गणेश विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ता एमाले र नेकाली कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेको उनले वताए । माओवादीले १५ साउनदेखि जिल्लाका तिनओटै निर्वाचन क्षेत्रमा चुनावी अभियान चलाएको छ । अभियानका क्रममा निर्वाचन क्षेत्र नं. १ का १६ गाविसमा भएको चुनावी कार्यक्रमवाट २ सय ४५ कार्यकर्ता प्रशिक्षित भएका छन भने १२ जना माओवादीमा प्रवेश गरेका छन् ।
त्यस्तै क्षेत्र नं. २ १५ गासिमा भएको कार्यक्रमवाट ४ सय ४३ जना कार्यकर्ता प्रशिक्षण भएको २७ जना माओवादीमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी क्षेत्र नं. ३ मा १९ गाविसमा भएको कार्यक्रमवाट ४ सय ७४ कार्यकर्ता प्रशिक्षित भएको र ९ जना प्रवेश गरेको माओवादीले जनाएको छ । माओवादी चुनावी अभियानमा गाउँगाउँमा रहेपनि नेपाली कांग्रेस, नेकपा एमालेले भने चुनावी अभियानमा लागेका छैनन् ।

पहिरोले आश्रम पुरिँदा वृद्धवृद्धाको बिचल्ली

Published on: // ,
विष्णु पौडेल
गुल्मी, ८ साउन । श्रीमानको मृत्युपछि वृद्धाश्रमको सहारामा रहँदै आएकी गुल्मीको आँपचौरकी कौशिला आचार्यको फेरि बिचल्ली भएको छ । श्रीमानको मृत्युपछि घरमा सबैको हेला सहन नसकेर वृद्धाश्रमसम्म आएकी आचार्यको ७५ वर्षको उमेरमा फेरि बास उठेको छ । अस्लेवा–६ रुद्रवेणीस्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रम गत २७ असारमा माथिवाट खसेको पहिरोले पुरेपछि उनको बिचल्ली भएको हो । ‘अहिले यहाँ बस्न लागेको ४८ वर्ष भयो,’ उनले भनिन्, ‘बिहान बसिरहेको बेला एक्कासि माथिवाट ठूलो पहिरो झ¥यो, म बस्ने पौवा पनि बगायो ।’

आश्रममाथिबाट पहिरो खसेपछि सोही वृद्धाश्रममा बस्दै आएका वासुदेव पाण्डेय पनि बिचल्लीमा परेका छन् । ‘घरमा चार छोरा र तीन छोरी छोडेर धर्म गर्न यहाँ आएको यो पनि पु¥यो’ पाण्डेयले भने । पहिरोले भवन भत्किएपछि आश्रममा बस्दै आएका आचार्य र पाण्डेय जस्तै ५५ जना वृद्धवृद्धा अलपत्र परेका छन् । आश्रम माथिबाट खसेको पहिरोले आठओटा भवनमा क्षति पुगेको छ । एउटा भवन पूर्ण नष्ट भएको छ भने अन्य सातओटा भवनमा पनि क्षति पुगेको आश्रम व्यवस्थापन समितिका उपाध्यक्ष बलराम अधिकारीले बताए । ‘पहिरोले च्याप्दा एउटा भवन पूरै भत्किएको छ,’ उपाध्यक्ष अधिकारीले भने, ‘कतिपय भवनको गारो चर्किएको छ, गारो भत्किएपछि बस्न मिल्दैन ।’ भवनमा क्षति भएपछि वृद्धवृद्धालाई प्रवचन हलमा जेनतेन मिलाएर राखिएको उनले बताए । पहिरोले करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

‘हामीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन ग¥यौँ, ’ डीएसपी गुरुविष्णु काफ्लेले भने, ‘एउटा भवन पूरै भत्किएको रहेछ, अरू भवनको पनि गारो भत्किएको छ, हामीले १८ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति अनुमान गरेका छौँ ।’ कालिगण्डकी नदीको किनारमा रहेको यस आश्रममा कहिलेकाहीं एक जनासम्म वृद्धवृद्धा बस्ने गरेको आश्रमले जनाएको छ । १९८५ सालमा स्वामी तारकेश्वरले कुटीको रूपमा बनाएको आश्रम अहिले वृद्धवृद्धाको आश्रयस्थल बने पनि भवन भत्किँदा समस्या भएको छ ।

क्षतिपूर्तिका लागि प्रशासन तथा जिविसमा जानकारी गराए पनि अहिलेसम्म केही उपलब्धि नभएको आश्रम व्यवस्थापन समितिका उपाध्यक्ष अधिकारीले बताए । ७० रोपनी जमिनमा फैलिएको आश्रममा मन्दिर तथा आश्रमका लागि भवनहरू रहेका छन् । राममन्दिरमा नेपालमै सबैभन्दा धेरै २१ हजार शालिकरामसमेत रहेको आश्रम व्यवस्थापन समितिले बताएको छ । आश्रमलाई विभिन्न संघसंस्था तथा जिविस गुल्मीले सहयोग गर्दै आइरहेको छ ।

विद्यार्थीहरुले बिद्यालयमा बिस्कुट, मिठाई, चाउचाउ नखाने


विष्णु पौडेल
गुल्मी, २८ वैशाख । मिठाईँ तथा चुईकम भनेपछि धेरै जना हुरुक्कै हुन्छन । अझ विद्यालय उमेरका वालवालिकाहरुलाई यी कुराहरु नभई हुँदैन । विस्कुट, चाउचाउ नकिन्दिएसम्म स्कुल जाँदिन भन्दै अभिभावकलाई नै हैरान पु¥याउँछन् । तर, गुल्मीको जैसीथोकमा रहेको पाञ्चायन उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु भने आफै मिलेर यी चिजहरु नखाने प्रतिवद्धता जनाएका छन् । चाउचाउ, विस्कुट, मिठाईमा प्रयोग हुने वाहिरको प्लाष्टिकले वातावरणीय प्रदुषण वढाउनुका साथै फास्टफुडहरुले स्वास्थ्यलाई पनि हानी गर्ने भएकाले विद्यालय हाताभित्र यी वस्तुहरुलाई निधेष गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको अगुवाईमा विद्यालयका सवै विद्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र वनाउनका लागी यी वस्तुहरुको प्रयोगमा पनि रोक लगाईएको जुरेस अध्यक्ष भुपाल रानाले वताए ।  जुनियर रेडक्रस सर्कलहरुको गत वर्ष मजुवामा सम्पन्न भएको गोष्ठीले प्रत्येक विद्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने निर्णयअनुसार उक्त विद्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको जुनियर रेडक्रस सर्कलका सचिव राजन केसीले वताए ।

विद्यालयमा आयोजित एक कार्यक्रमका विच सवै विद्यार्थीहरुले हात उठाएर यस्ता वस्तुहरु विद्यालयभित्र प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । श्रोतव्यक्ति खिमवहादुर महतको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा प्राचार्य टेकवहादुर श्रेष्ठ, जैसीथोक उपस्वास्थ्य प्रमुख वालुराम खनाल, शिक्षक दिपक पोख्रेल, लक्ष्मण पोख्रेल विद्यार्थी हुमकान्त पोख्रेल लगायतले मन्तव्य व्यक्त गर्दै प्लाष्टिक जन्य सामग्री प्रयोग नगर्न सवैलाई आग्रह गरे ।

आधुनिकताले पुराना पेशा लोप हुँदै, जीवन धान्न गाह्रो

Published on: // ,

विष्णु पौडेल
गुल्मी, चैत १० । आधुनिकतासँगै पुराना मौलिक पेसा संकटमा पर्न थालेका छन् जसका कारण पुर्खाको नासोका रूपमा रहेको पेसा नचाहँदा नचाहँदै पनि छोड्नुपर्ने बाध्यता बनेको छ । आधुनिकतासँगै भित्रिएका नयाँ प्रविधिले गर्दा मौलिक पेसाहरू लोप हुने क्रममा रहेका छन् । केही वर्ष पहिलेसम्म गाउँगाउँ सूचना प्रवाहको एक माध्यम बनेको ‘गाइने’ पेसा अहिले लोप हुन थालेको छ । तत्कालीन समयमा सारंगी बजाएर गाइनेहरूले दूरदराजका गाउँमा सूचना पु¥याउँथे भने यसैबाट आफ्नो गुजारा पनि चलाउँथे ।

तर, आधुनिकताले भित्र्याएको सूचना प्रविधिका माध्यमले यो पेसा लोप भएको बताउँछन्, गुल्मी बडागाउँका ६८ वर्षीय धनबहादुर गन्धर्व । ‘पहिला–पहिला राजाका कुरा, पल्टनमा गएका छोराको खबर, भगवान चरित्र सुनाइन्थ्यो,’ उनी सम्झन्छन्, ‘अहिले रेडियो, टिभी, फोन हातहातै भए, हामीले भन्दा तिनीहरूले छिटो खबर पु¥याउँछन् ।’ उनी केही समय अघिसम्म सारंगी नै बजाएर ११ जनाको परिवार पाल्थे ।

यस्तै ‘कटुवाल’ पेसा अँगाल्दै आएका बडागाउँकै चेरे विक पनि सो पेसा संकटमा परेको गुनासो गर्छन् । रेडियो, टेलिभिजन, फोनको बढ्दो प्रयोगले पाँच–सात वर्षपहिले ग्रामीण क्षेत्रमा सूचना पु¥याउने राम्रो माध्यम बनेको कटवाल पेसा अहिले संकटमा परेको छ । आपूmले भन्ने सूचना रेडियोले नै प्रसारण गर्न थालेपछि रोजीरोटी नै खोसिएको बताउँछन्, ६९ वर्षीया विक । ‘पहिले त दिनदिनै बैठक हुन्थे, झारा हुन्थे तिनको जानकारी मैले नै पूरै गाविसभरि खबर पु¥याउथें,’ विकले भने ‘हामीलाई त बोलाउनै छाडे ।’

बुढेसकालमा अरू काम पनि गर्न नसक्ने हुँदा जीवन धान्ने चिन्ताले सताएको उनले बताए । सारंगी र कटुवाल मात्रै होइन, भाँडाकुँडा बनाउने आरन, माटाका भाँडा बनाउने कुमाल, काठका ठेका बनाउने चुँदारा, काठमा पूmलबुट्टा भर्ने, कपडा सिलाउने परियारलगायतका मौलिक पेसाहरू पनि लोप हुने अवस्थामा पुगेका छन् । बजारमा सर्वत्र प्लास्टिकका भाँडाहरू पाइन थालेपछि तामा, पित्तल, सिल्टीबाट विविध भाँडाकँुडा बनाउँदै आएका आरनेहरूको पेसा पनि संकटमा परेको छ । हँसिया, कोदालो, बन्चरो, खुकुरीलगायतका औजारहरू पनि बनाउँदै आएका आरनेहरू अहिले ती औजार बिक्न छोडेपछि चिन्तामा छन् । सहर–बजारमा पाइने ती औजारहरूले उनीहरूको पेसालाई विस्थापित गरेका छन् ।

बालीघरे पेसाको रूपमा रहेका आरन तथा कपडा सिलाउने पेसाकै भरमा जीवन गुजारा गर्दै आएका उनीहरू अहिले बाँच्नका लागि गाह्रो भएको गुनासो गर्छन् । आरन पेसाबाटै पाँच वर्ष पहिलेसम्म १४ जनाको परिवार निर्धक्क पालेका हस्तीचौर–८ का सन्तबहादुर विक अहिले परिवार पाल्न कठिन भएको गुनासो गर्छन् । ‘पहिला हामीले बनाएका भाँडा पनि बजारमा बिक्री हुन्थे, उहीँबाट किन्न आउँथें,’ उनले भने, ‘तर अहिले बजारमा छ्यापछ्याप्तै मेसिनले बनाएका भाँडा पाइन्छन्, हामीले बनाएका किन्नै छाडे ।’

वर्षभरि एकजना विष्ट ९ग्राहक० को भाँडा बनाएबापत उनीहरूले प्रत्येक बालीको पाक्ने समयमा एकमुरी भन्दा धेरै पाउने गर्छन् । मकै, कोदो, धान, गहुँलगायत खाद्यान्न उनीहरूले एक वर्षमा एकमुरीसम्म पाउँछन् । विभिन्न चाडपर्वमा उनीहरूलाई मीठोचोखो छुट्ट्याएर दिइने गरिन्छ । यी पेसाहरू मात्रै नभएर पुराना परम्पराहरू पनि लोप हुँदै गएका छन् । पानी घट्ट, ढिकी, जाँतो, तोरी पेल्ने कोललगायतका पुराना सामग्रीहरू पनि हराउँदै जान थालेका छन् । नयाँ–नयाँ प्रविधिका कारण यिनीहरू यस्तो अवस्थामा पुगेका हुन् । अहिले मेसिनले कुट्ने÷पिस्ने भएपछि ढिँकी–जाँतोको प्रयोग हुन छोडेको छ ।

मतदाता शिक्षामा ‘कटुवाल ’

Published on: // ,

विष्णु पौडेल
गुल्मी, ३ चैत । आमसञ्चारमाध्ययमको आगमनपछि फुर्सदिला बनेका कटुवालहरू पुनः व्यस्त हुने भएका छन् । कुनै समय सूचना प्रवाहको भरपर्दो माध्यम बनेका ‘कटुवाल’लाई मतदाता शिक्षाका लागि खटाइने भएपछि पुनः व्यस्त हुने भएका हुन् । सन्देशबाहकको रूपमा लिइने कटुवालको अस्तित्व संकटमा पर्न थालेका बेला गुल्मीबाट यसरी कटुवाललाई मतदाता शिक्षामा परिचालन गर्न लागिएको हो । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएपछि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको छ । चैत पहिलो साताबाट सुरु हुने मतदाता शिक्षा कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्तासँगै कटुवाल पनि खटाइने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाताहरूलाई शिक्षित बनाउन पत्रपत्रिका, एफएम रेडियोलगायतका सञ्चारमाध्यमबाट विभिन्न सामग्री प्रकाशन-प्रसारण गरिए पनि ग्रामीण क्षेत्रमा सूचना प्रवाहमा कटुवाल नै उपयुक्त हुने भएकाले उनीहरूलाई परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी डिल्लीराज बेल्वासेले बताए । ‘गुल्मीका अधिकांश ग्रामीण क्षेत्रमा सूचना फैलाउने राम्रो माध्यम कटुवाल रहेछन्,’ बेल्वासेले भने, ‘पत्रपत्रिका तथा रेडियोको पहुँच नपुग्ने ठाउँमा कुटवालले राम्रोसँग सूचना पु¥याउन सक्ने लागेर कटुवाललाई परिचान गर्न लागेका हौं ।’ मतदान अधिकारको महŒव सर्वसाधारणलाई बुझाई मतदान अधिकार सुनिश्चितता गर्न कटुवालहरूले भूमिका खेल्नेछन् ।

२०६४ सालमा संविधानसभा निर्वाचन भए पनि संविधान बन्न नसक्दा मतदाताहरू निरास भएका छन् । दोस्रो पटक हुने संविधानसभाको निर्वाचनले पनि संविधान बनाउने सुनिश्चित नभएको भन्दै कतिपय मतदाताहरू निर्वाचनमा सहभागी नहुने बताउँछन् । यस्तो निरासपूर्ण अवस्थामा रहेका मतदातालाई विभिन्न प्रकारका उत्प्रेरणाजन्य क्रियाकलाप सञ्चालन गरी मतअधिकार प्रयोग गर्न आग्रह गरिने बेल्वासेले बताए । उनले यसरी निरास बनेका मतदातालाई टोल–टोलमै पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए । त्यसका लागि निर्वाचन कार्यालयले प्रत्येक गाविसमा एकजना निर्वाचन शिक्षा कार्यकर्ताको व्यवस्था गरेको छ । निर्वाचन शिक्षकको एक्लो प्रयासले मात्रै मतदातालाई शिक्षित बनाउन सम्भव नभएकाले यसमा सबैले सहयोग गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

सारंगी रेटेरै परिवार पाल्दै

Published on: // ,

विष्णु पौडेल
गुल्मी, २५ पुस । आधुनिक सूचना प्रविधिको विकासअघि सूचनाप्रवाहको माध्यम बनेको गन्दर्भ जातिको गाइने पेसा पछिल्लो समय जीवन गुजारा गर्ने बाटो बनेको छ । युवापुस्ताको बेवास्ताका कारण लोप हुने अवस्थामा पुगेको गाइने पेसाबाटै गुल्मीको वडागाउँ गाविसका धनबहादुर गन्दर्भले भने जीवन गुजारा गर्दै आएका छन् । १२ वर्षदेखि सारंगी बजाउन सुरु गरेका उनले सारंगी बजाएरै ११ जनाको परिवार धान्ने गरेका छन् । चार छोरा पाँच छोरी र आफूहरू श्रीमान् श्रीमतीले यही सारंगी बजाएर नै बिहान बेलुकाको गुजारा चलाउने गरेको धनबहादुर बताउँछन् ।

अहिले छोराछोरीको बिहे भएर आफ्नै बाटो गर्न थाले पनि नौजना छोराछोरीलाई सारंगी बजाएर हुर्काएको उनले बताए । ‘अहिले त छोरा ठूला भए बिहे गरिदिएँ, छोरीहरूको पनि बिहे गरिदिएँ,’ राजधानीसँगको भेटमा उनले भने, ‘यिनीहरूलाई यही सारंगी रेटेरै आएको अन्नपातले हुर्काएको हुँ, अहिले आ–आफ्नो बाटोमा लागेका छन् ।’ सारंगी रेटेर दुःखसँग हुर्काएका छोराछोरी कसैले पनि उनलाई बुढेसकालमा साथ दिएका छैनन् । अहिले बूढाबूढी र एउटी छोरी मात्रै घरमा छन् । ‘कति दुःख कष्टले छोराछोरी हुर्काएँ, गहभरि आँसु झार्दै धनबहादुरले भने, ‘बुढेसकालमा पनि यसरी प्राण धान्न सारंगी बजाउँदै हिँड्नुपरेको छ ।’

छोरीहरू बिहे गरेर अर्कैको घर गएका छन्, छोराहरू पनि बुहारीको पछि लागेर कोही मधेस, कोही दिल्ली, कोही कता कोही कता छन् । घरमा हामी बूढाबूढी र कान्छी छोरी मात्रै भएको उनले बताए । आर्थिक अवस्था निकै कमजोर भएको बताउने धनबहादुरको आफ्नो भन्ने घामपानी ओत्ने एउटा झुपडीबाहेक ४ माना मकैको बीउ लाग्ने बारी छ । ‘बारीको नाममा ४ माना मकैको बीउ लाग्छ,’ उनले भने, ‘मकै एकमुरी, कोदो १५ पाथी हुन्छ, यसले जम्मा २ महिना खान पुग्छ ।’ अरू १० महिनाको खाना उनले सारंगी बजाएरै जुटाउने गरेका छन् । दिनभरि डुलेर एक दुई सय पैसा र ५÷६ पाथी अन्न जम्मा हुने उलने सुनाए ।

‘दुःख, पीर वेदनालाई सारंगी रेटेर सुनाउँछु,’ उनी भन्छन्, ‘यही सुनेर कसैले ५ रुपैयाँ दिन्छन्, कसैले गाली गरेर फर्काउँछन् । कसैले एकदुई माना अन्न दिन्छन् ।’ भदौ महिनादेखि जेठसम्म सारंगी बजाउँदै गाउँ–गाउँ डुल्ने धनबहादुर एक महिनापछि घर फर्कन्छन् । सारंगी बजाउँदै गुल्मीका विभिन्न गाविस तथा वागलुङको ढोरपाटन, पाण्डवखानी, सिसाखानी, रिघा, पर्वतका विभिन्न गाविस तथा अर्घाखाँची र प्युठानसम्म पुगेको बताए । बाबुको प्रभाववाट सारंगी बजाउन सिकेका धनबहादुरले बाबुले बजाउँदै आएको सारंगी बजाउँछन् ।

‘बाउले बजाउँदा बजाउँदै सारंगी बजाउन सिकियो,’ उनले भने, ‘बाउले ६१ वर्षसम्म बजाएको त्यही सारंगी मैले १२ वर्षदेखि बजाउँदै आएको छु, यो देख्दा बाउको झल्को मेटिन्छ ।’ पछिल्लो समय विकास भएका सूचना प्रविधिले पेसा संकटमा पर्न थालेको उनी गुनासो गर्छन् । ‘पहिला–पहिला राजाका कुरा, पल्टनमा गएका छोराको खबर, भगवानका चरित्र सुनाइन्थ्यो,’ उनले भने, ‘अहिले एफएम रेडियो फोन हातहातै भए हाम्ले भन्दा तिनीहरूले छिटो खबर पु¥याउँछन् ।’  वडागाउँ–५, पेंगा निवासी धनबहादुरले एक्लै बाउबाजेको पेसा धान्दै आएका छन् । गाउँमा २० भन्दा बढी गन्धर्व घरपरिवार भए पनि कसैले धनबहादुरको पेसामा साथ दिएका छैनन् । गन्धर्व समुदायका युवाहरू प्रायः वैदेशिक रोजगारको सिलसिलामा बिदेसिएका छन् ।









 


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग